|

कञ्चनपुर : कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ८ पिलरीफाँटा गाँउमा गएराति छिरेको हात्तीको बथानले तीन दर्जन बढी परिवारको सात बिघा खेतमा लगाइएको अन्नबालीमा व्यापक नोक्सानी गरेको छ। ४० बढीको संख्यामा रहेको हात्तीको बथानले किसानले लगाएको धान, मकै, तील र केरालगायतको बालीमा व्यापक नोक्सानी गरेको हो।

राति १ बजेको समयमा स्थानीय किसानका खेतमा छिरेको हात्तीको बथानले खुट्टाले कुल्चेर र खाएर नोक्सानी गरेको वडा अध्यक्ष बहादुर सिंह महराले बताए।

'पटका पड्काउदा, आगो बालेर तर्साउँदा, ढोल बजाउदा र हो हल्ला गरेर भगाउदासमेत हात्तीको बथान भागेन' उनले भने, ‘पूरै बाली खाएर अघाएपछि मात्रै आइतबार बिहान चार बजे आफैँ नजिकैको सामुदायिक वनमा छिरेका छन्।’ बस्तीमा हात्ती छिरेपछि प्रहरीलाई पनि खबर गरे पनि प्रहरीले हात्ती भगाउन साथ नदिइ मुकदर्श बनेर फर्केर आएको वडा अध्यक्ष महराले आरोप लगाए।   

नजिकैको सामुदायिक वनमा हात्तीको बथान रहेकाले अन्न-बालीसँगै जीउधनको शुरक्षाको चिन्ता लागेको हरि भुलले बताए। 'आइतबार बिहान मुश्किलले हात्तीको बथान वनभित्र लागेको छ' उनले भने, ‘रात पर्ना साथ हात्तीको बथान बस्तीमा छिर्ने डर छ।’

 हात्तीकै डरले बुढापाका, बालबालिका र महिलालाई शुरक्षित स्थानमा राख्नका लागि व्यवस्था मिलाइदिन वडा अध्यक्षसँग मागसमेत गरिएको स्थानीय वीरबहादुर चौधरीले बताए। 'हात्तीको बथान घर नजिकैको खेतमा पुगेपछि बालबालिकासहित भागेर ज्यान जोगायौँ' उनले भने, ‘हात्ती आएको थाहा नपाएको भए घर नै हात्तीले भत्काई बिजोग बनाउथ्यो।’

भमरभोज र पिल्लरीमा गरी चार परिवारको बस्तुभाउ बाध्न प्रयोग हुने गोठसमेत हात्तीको झुण्डले भत्काइ दिएको छ। गैरघातक तरिकाले हात्ती नियन्त्रण गर्नका लागि वडा नं ८ को वन वातावरण विपद् व्यवस्थापन तथा वन्यजन्तु विशेष शुरक्षा युनिट परिचालन भएको छ।

युनिटका स्वयंसेवकहरूले स्थानीय बासिन्दासँग मिलेर हात्ती नियन्त्रणका लागि योजना बनाइ भगाउने कार्यमा संलग्न भएका छन्। ठूलो संख्यामा हात्तीको बथान त्यस क्षेत्रमा दिउँसैसमेत देखिन थालेपछि यस क्षेत्रको जनजीवन त्रसित भएको छ।

पिलरीलगायत चुरे क्षेत्र हात्तीको पुरानो हिँडने जैविक मार्गका रूपमा रहेको छ। प्रतिवर्ष हात्तीको बथान यस क्षेत्रमा पुग्ने गरेको छ। भारतको दुधुवा नेशनल पार्क हुँदै हात्तीको बथान पुरानो जैविक मार्गमा आउने गरेको भए पनि मार्गका विभिन्न ठाउँमा जग्गा अतिक्रमण गरी बस्ती बसेपछि हात्तीको बथानले ती क्षेत्रमा नोक्सान पुर्‍याउँदै आएको जानकारको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.