|

दैलेख : जिल्लाको भगवतीमाई गाउँपलिका-३ मेहेलतोलीका खगेन्द्र रेग्मी उमेरले २४ वर्षका भए। कृषि जेटिएको पढाइ पूरा गरेका उनले २०६९ सालतिर जिल्लामै एउटा गैरसरकारी संस्थामा जागिरको आवेदन दिए। लिखित उनको पहिलो नम्बरमै नाम निस्क्यो तर अन्‍तर्वार्तामा फालिए।

घर फर्कंदै गर्दा उनको मानसिकता फेरियो। उनले मनमनै सोचे, 'अब जागिरका लागि आवेदन कहिल्यै दिन्नँ, आफैं केही गर्छु।' खगेन्द्रले गाउँ नजिकै केही जग्गा भाडामा लिएर कृषि व्‍यवसायको योजना बनाए।

विस्तारै उनले गाउँमा बाख्रापालन र स्थानीय कुखुरापालन थाले भने सदरमुकाममा तरकारी पसल खोले। सामान्य कृषकको सोचबाट व्यवसाय व्यवसाय थालेका उनी अहिले सफल उद्यमीका रूपमा दरिएका छन्।

४७ सयबाट कृषि यात्रा

कृषि व्यवसाय गर्ने योजना बनाएका उनले सुरुमा ४ हजार ७ सय लगानीले व्‍यवसाय थालेको सुनाए। सुरुसुरुमा उनले अरूबाट तरकारी किनेर बेचे। तरकारी व्यवसायमा राम्रो प्रतिफल देखेपछि उनले विस्तारै सदरमुकामनजिकै जग्गा भाडामा लिएर तरकारीको उत्पादन पनि सुरु गरे।

पहिलो वर्ष २५ हजार खुर्सानी र टमाटर तथा १० हजार बन्दा काउलीका बेर्ना रोपेर तरकारीको उत्पादन सुरु गरे पनि खासै आम्दानी लिन नसकेको उनले सुनाए। असिना र पानीले आफ्नो व्यवसायमा नोक्सानी व्‍यहोर्नुपरेकाले नाफा नभएर लगानी मात्र उठेको उनको अनुभव छ।

‘यति हुँदा पनि हार मानिनँ’ उनी भन्छन् ‘फेरि पछिल्ला सिजनहरूमा तरकारी उत्पादन गरियो, पछि त आम्दानी पनि राम्रै छ।’ हार मान्नेहरू सफल हुँदैनन् भन्ने उनको विश्वास छ।

कुखुरापालनमा आशा

तरकारी खेती र व्यवसायबाट राम्रै आम्दानी हात पारेका खगेन्द्रलाई विस्तारै कुखुरा पनि पाल्‍ने रहर जाग्‍यो। उनी भन्छन्, ‘तरकारीबाट राम्रै आम्दानी भएको थियो, फेरि लोकल कुखुराको पालनमा सम्भावना देखेपछि त्यो पनि सुरु गरेँ।’ गाउँमै लोकल कुखुरा र बाख्रापालन सुरु गरेका उनीसँग हाल १ हजार २ सय कुखुरा र प्रशस्तै खसीबाख्रा छन्।

हाल उनले ४६ लाखमा शिशिर ग्रीष्म एकीकृत कृषि फर्म दर्ता गरेका छन्। यसै फर्ममार्फत तरकारी, फलफूल, माछापालन, बोईलर कुखुरा, लोकल कुखुरा र बाख्रा पालन गर्दै आएका छन्।

अर्गानिक कृषिमा जोड नदिए सबै चुक्नुपर्छ

खगेन्द्रले अहिले सदरमुकाम दैलेख बजारमा सब्जी मण्डी गरेर बसेका छन्। उनले गाउँमा उत्पादन भएको तरकारीसँगै जिल्लाभरबाट किसानहरुले ल्याएको तरकारी होलसेलमा खरिद गरेर बिक्री गर्ने गर्दछन्।

‘व्यापार मात्र सम्झेर यो मण्डी स्थापना गरिएको होइन’ उनले भने, ‘यहाँबाट हामी जतिसक्यो अर्गानिक तरकारीको बिक्री वितरण बजारीकरण गर्न चाहन्छौं।’ सरकारले अर्गानिक कृषिमा जोड दिएको भए पनि सरकार एकातिर लक्ष्य अर्कातिर रुमलिरहेको उनको अनुभव छ।

सरकारले वास्तविक किसानहरूको पहिचान गरी उचित लगानी गर्नुपर्नेमा उनको जोड छ। ‘मेरो शब्दमा केही झोले किसानहरू छन्, यो देशभर नै छ।’ खगेन्द्रले ठट्यौली तरिकाले भने, ‘त्यस्ता किसानहरूको पहिचान पनि हुनु जरुरी छ, जसले अनुदान लिन्छन्, खेतीपातीमा सिन्का भाँच्दैनन्।’

अर्गानिक कृषिमा जोड नदिए भोलिका दिनमा सरकार र कृषकहरू चुक्नुपर्ने उनको बुझाइ छ। ‘भारतबाट भित्रिएको तरकारी सबैमा पूर्णरूपमा विषादी प्रयोग गरिएको हुन्छ, हामीले त्यसलाई नरोके हाम्रो अवस्था के होला?’ उनले प्रश्‍न गरे।

कर्णाली प्रदेशको राजधानी सुर्खेतमा दैलेखको अर्गानिक तरकारी पुग्नुपर्नेमा खगेन्द्रको जोड रहेको छ। ‘कर्णालीको राजधानीमा भित्रिने अधिकांश तरकारी भारतको छ, हामी किन भारतमा निर्भर हुने?’ प्रश्न गर्दै उनी भन्छन्, ‘दैलेखका किसानहरूले सुर्खेतलाई मात्र बजार केन्द्रित गरेर जति तरकारी उत्पादन गरेपछि बजार पाइँदैन कि भन्ने चिन्ता गर्न पर्दैन।’

७ जनालाई गाउँमै रोजगारी

आफ्नो कृषि फर्ममार्फत खगेन्द्रले अहिले मासिक १२ हजारका दरले ७ जनालाई रोजगारी प्रदान गरेका छन्। बर्सेनि रोजगारीका लागि कैयौँको संख्यामा विदेश पलायन भइरहेका युवाहरुलाई गाउँमै केही गर्ने सल्लाह दिन्छन् उनी। ‘कैयौँ साथीहरु रोजगारी खोज्न विदेश जानुपरेको छ' उनी भन्छन्, 'अब हामी युवाको मानसिकता रोजगारी खोज्ने नभएर दिने हुनुपर्दछ।’

५० जनालाई रोजगारी दिने लक्ष्य

आगामी दिनमा व्यवसाय बढाउँदै लगेर करिब ५० जनालाई रोजगारी दिने खगेन्द्र सुनाउँछन्। ‘व्यवसाय बढाउँदै जाँदा स्वभावैले जनशक्ति पनि आवश्यक हुन्छ’ उनले थपे, ‘जिल्लाका अरू स्थानमा पनि युवा साथीहरूलाई व्यवसाय सुरु गराउन सकिन्छ।’ मनले नजिकबाट आवश्यकता ठानेर गरिएको काममा कहिल्यै असफल नभइने उनको विश्वास छ।

वार्षिक ६० लाख बढीको कारोबार

सुरुवातमा ४ हजार ७ सयबाट व्यवसाय थालेका उनी अहिले लाखौँको व्यवसाय सञ्चालन गरिरहेका छन्। हाल आफूले व्यवसायमार्फत वार्षिक ६० लाखभन्दा बढीको कारोबार गरिरहेको उनले बताए।  

सुरुवातका संघर्ष सम्झिँदै उनी भन्छन् ‘बसिरहे सञ्‍च, काम गरे हुन्च' भन्ने नेपाली उखान साँच्चै हो रहेछ' उनले थपे, 'गरे हाम्रै माटोमा सुन फल्छ भन्ने सुन्दा अर्कै लाग्थ्यो, अहिले आफैँ त्यसको प्रमाण बनेको छु खुशी लाग्छ।’

झोले किसानको रजाइँ

सरकार र विभिन्न संघ संस्था र निकायहरूले दिने सहयोग तथा अनुदान वास्तविका किसानले नपाएर नक्कली किसानहरूले रजाइँ गरिरहेको खगेन्द्रको बुझाइ छ। उनले व्यवसायको सुरुवातका दिनमा विभिन्न निकायहरुको समन्वय पनि गरे। तर, कुनै पनि निकायहरुबाट सहयोग नपाएको बताए। मुलुकभर नै वास्तविक किसानको पहिचान हुन नसकेको र झोले किसानहरुले सरकारको अनुदान तथा अरू सहयोगमा रजाइँ गर्ने गरेको उनको आरोप छ।

सरकारले कृषिमा कैयौँ लगानी गरिरहे पनि त्यो  लगानी बास्तविका किसानका हातमा पुगेर सदुपयोग हुन नसकेको खगेन्द्रको बुझाइ छ।  उनी भन्छन्, ‘आगामी दिनमा सरकारले वास्तविक किसानको पहिचान गरेर लगानी गरे मात्रै लक्ष्य पूरा हुन्छ, नत्र लगानी सबै बालुवामा पानी खनाए जस्तो हुनेमा दुईमत छैन।’

लोकल कुखुराले बजार पाएन

लोकल कुखुरापालन व्यवसाय सुरु गर्दा खगेन्द्रलाई नबिक्ने समस्या पनि आउला कि भन्ने कहिल्यै लागेको थिएन। तर अहिले लोकल कुखुराले भनेजसरी बजार नपाएको उनी बताउँछन्। १२ सय लोकल कुखुरा भए पनि स्थानीयस्तरमा सामान्य फाट्टफुट्टबाहेक उनको अन्यत्र निर्यात हुन नसकेकोमा उनी चिन्तित छन्।

जिल्लाका अधिकांश क्षेत्रमा लोकल कुखुराको माग भए पनि ब्रोइलर कुखुराको सहज पहुँच र सस्तो दरका कारण आफ्नो कुखुराले बजार नपाएको उनको अनुमान छ। आगामी दिनमा सुर्खेत शहरमा पुर्‍याएर कुखुरा बेच्‍ने उनको योजना छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.