|
गण्डकी प्रदेशका मुख्यमन्त्रीको कार्यालय र मुख्‍यमन्त्री पत्नी कुमारीमुनी गुरुङ

पोखरा : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले सेतो नम्बर प्लेटको सरकारी गाडीलाई रातो नम्बर प्लेटको बनाएका छन्।

मुख्यमन्त्री गुरुङलाई सुरक्षा थ्रेट भएको भन्दै सरकारी गाडीलाई निजी नम्बर प्लेटको बनाइएको हो। रातो नम्बर प्लेट हालिएको सरकारी गाडीगाडी मुख्यमन्त्रीकी श्रीमती कुमारीमुनीले प्रयोग गर्दै आएकी छन्। 

यसरी बनाइयो सेतोलाई रातो 

पहिले नेपाल सरकार प्रधानमन्त्री कार्यालयले प्रदेश सरकारलाई दिएको बा १ झ १३६३ नम्बरको स्कोरपियो गाडी प्रदेश सरकारले आफ्नोमा नामसारी गर्‍यो।

मुख्यमन्त्री कार्यालय मातहत रहने गरी नामसारी गरिएको उक्त गाडीको सरकारी नम्बर ग १ झ ४०७ कायम छ। तर, २०७५ फागुन २६ गते यातायात ब्यवस्था विभाग गण्डकीबाट तत्कालीन कार्यालय प्रमुख अच्युतराज रेग्मीको स्वीकृतिमा ग १ झ ४०७ नम्बरको गाडीलाई रातो नम्बर प्लेटको बनाइयो। रातो नम्बर प्लेटको बनाएपछि उक्त गाडीको नम्बर ग ३ च १६२ नम्बर कायम भएको छ।

यातायात ब्यवस्था विभागको स्रोतले भन्छ,‘हामी भन्दा माथिल्लो निकाय नै प्रदेश सरकार हो। यो कार्यालय नै प्रदेश सरकार मातहतको हो। प्रदेशकै मुख्यमन्त्रीका लागि गाडी रातो बनाउन पर्‍यो भनेपछि यहाँबाट रातो कायम गरेर पठाइएको हो।’

यातायात ब्यवस्था विभागले अस्थायी स्वीकृत दिएको जनाएको छ। मुख्यमन्त्री कार्यालयबाट मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङकै आग्रहमा यातायात ब्यवस्था विभागमा रातो बनाउन पत्राचार भएको थियो।

राजनीतिक तथा प्रशासनिक हिसाबले मुख्यमन्त्री निकट स्रोतले भन्छ, ‘हाम्रो मुख्यमन्त्रीलाई त्यस्तो थ्रेट देखिँदैन। उहाँको म्याडमलाई पोखरा–लम्जुङ आऊजाऊ गरिराख्‍न समस्या भएपछि त्यसो गरिएको देखिन्छ। मुख्यमन्त्रीले त्यो गाडी प्रयोग गरेको पनि थाहा छैन।’

मुख्यमन्त्रीकी श्रीमती कुमारीमुनी लम्जुङ क्व्होलासोथार गाउँपालिकाकी उपप्रमुख हुन्। 

गाडी दुरुपयोगको पछिल्लो उदाहरण  

केही दिनअघि बेलायतमा भएको तमुधीको कार्यक्रममा सहभागी हुन पुगेकी कुमारीमुनी आइतबार (भदौ २९) काठमाडौं आइपुगेकी थिइन्। उनी काठमाडौं आएपछि यहाँबाट ग ३ च १६२ नम्बर राखेर निजी बनाइएको गाडी उनलाई लिन आइतवार पोखराबाट गएको थियो।

कुमारीमुनीलाई लिएर उक्त गाडी सोमबार पोखरा फर्कँदैछ। मुख्यमन्त्री कार्यालयले भने उक्त गाडी बिग्रेकोले बनाउन काठमाडौँ गएको जानकारी दिएको छ। उक्त गाडीले नै उनलाई सधैँ लम्जुङ-पोखरा, पोखरा-लम्जुङ ल्याउने लैजाने गरेको छ।

कच्ची सडकमा सहजै जान सक्ने छनोट गरी उक्त गाडीको दुरुपयोग गरिएको हो। कुमारीमुनीको गाउँपालिका जान लम्जुङ सदरमुकामदेखि तीन घण्टा कच्ची सडकमा गाडीको यात्रा गर्नुपर्छ। उक्त गाडी मुख्यमन्त्रीले रातो बनाउनु भन्दा अघि प्रदेशका प्रमुख सचिवले प्रयोग गर्दै आएका थिए।

प्रमुख सचिवको लागि नयाँ गाडी आएपछि उक्त गाडी प्रयोगविहीन भएको थियो। मुख्यमन्त्री कार्यालयका अनुसार मुख्यमन्त्रीले मासिक पाउने २५० लिटर इन्धनबाटै चलाउने गरिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.