|

काठमाडौं : उपन्यास कसरी लेख्‍ने? लेखनको सरलता र भाषाको सुन्दरता उपन्यासमा कसरी राख्‍ने? मन छुने कसरी बनाउने?

'बेटर नेपाल' नामक संस्थाले गत शनिबार गरेको उपन्यास लेखन कार्यशालाका सहभागी यस्तै प्रश्नहरु बोकेर उपस्थित थिए। काठमाडौंको शंखमुलस्थित चैतन्य इन्स्टिच्युट अफ मेनेजमेन्टमा आयोजित कार्यशालामा उपन्यास लेख्‍न चाहनेलाई आफ्ना अनुभव सुनाउँदै थिए उपन्यासकार सुविन भट्टराई। 

तीन उपन्यास (समर लभ, साया, मनसुन) र एक कथा संग्रह (कथाकी पात्र) बाट युवापुस्ताको मन जितेका सुविनको लेखन अनुभव सुन्न ४० जना युवायुवती आतुर थिए। उपन्यास लेख्न चाहने उनीहरुलाई सुविनले आफ्ना अनुभव मिश्रित टिप्सहरु दिए। उपन्यास लेखनबारे सुविनका टिप्सको अडियो यो सामग्रीको अन्तिममा छ।

१) कसका लागि लेख्‍ने

कस्ता पात्रहरु छन् भन्नेले नै कसका लागि लेखिँदैछ भन्ने निर्क्यौल हुन्छ। सम्पूर्ण समाजका लागि एउटै उपन्यास लेख्न सम्भव हुँदैन। महिला, युवा, धर्म, समूह, वर्ग कसका लागि लेख्ने हो छुट्याउनुपर्छ। त्यसका लागि अध्ययन गर्नुपर्छ। सम्बन्धित विषयका लागि स्थलगत अध्ययन गर्नुपर्छ। त्यसका बारेमा विभिन्न तरिकाबाट अध्ययन गर्नुपर्छ। जस्तैः मैले 'समर लभ' लेख्नु पहिला नर्बे घुमेको थिइनँ। त्यहाँको परिवेशबारे लेखेँ। त्यसका लागि नर्बेमा भएका साथीहरुलाई रातरातभर त्यहाँको अवस्था स्काइप मार्फत देखाउन भनेँ।

२) आफ्नै मगज हल्लाउनुपर्छ

सुरुमा आफैलाई लेखिरहेको विषयले प्रभावित पार्नुपर्छ। आफैलाई प्रभावित पारेन भने पाठकको मन छुँदैन।

३) लेखनका लागि अत्यावश्यक अध्ययन

तपाईँ अरुका किताब पढ्नुहुन्न भने लेख्नै सक्नुहुन्न। म पनि पढ्छु। अंग्रेजी भाषाका किताब पढ्दा स-साना विषयमा पनि सुन्दर रुपमा लेख्न सकिने रहेछ भन्ने सिकिन्छ। जुन भाषामा किताब लेख्ने हो, त्यो भाषाका पुस्तक पढ्नैपर्छ।

४) पुस्तक मात्रै अध्ययन?

हैन, मान्छेको पनि अध्ययन गर्नुपर्छ। जसले तपाईँलाई पात्र निर्माण गर्न सहयोग गर्छ। त्यसका लागि असल र खराब दुबै थरीका मान्छेको संगत गर्नुपर्छ। थोरै खराबको र धेरै असल मान्छेको संगत गर्नुपर्छ। अध्ययन लेख्नु पहिलादेखि पाण्डुलिपि छापाखानामा नपठाउन्जेलसम्म हुन्छ।

५) उपन्यासको अस्थिपञ्जर

तपाईँ उपन्यास लेख्न लाग्नुभएको छ भने त्यसको अस्थिपञ्जर बनाउनुस्। उपन्यास एक कथा हो। यसका लागि लेख्नु पहिला मूल कथाको संरचना निर्माण गर्नुस्। लेखनका क्रममा पात्रहरुलाई धेरै लगाम लगाउनुहुन्न तर मूल कथाबाट बहकिनु हुँदैन। प्रत्येक घटना र पात्रलाई मूल कथासँग बाँधिराख्‍न अस्थिपञ्जरले सहयोग गर्छ। यो मूल कथा हो जुन सधैँ एउटै हुन्छ। अस्थिपञ्जरबाट म उपन्यासमा कति पृष्ठ र शब्द खर्चिन्छु भन्ने कुरा पहिल्यै तयार पार्छु।

६) चाखलाग्दो सुरुवात

उपन्यास वा कथा जेसुकै होस्, सुरुवात चाख लाग्दो हुनुपर्छ। जस्तै  'र ऊ मरी…!' यसले पाठकमा 'यसपछि के होला?' भनेर उत्सुकता जाग्छ। त्यस्तै चाखलाग्दो संवादबाट पनि सुरुवात गर्न सकिन्छ। कुनै चिज गहन छ भने न्यारेसन (कथ्य) मा भन्नु हुँदैन, त्यसलाई पात्रका सम्वादमार्फत भन्नुपर्छ। घटना, पात्रका संवाद र भन्न खोजेको सन्देश मिलाएर दिनुपर्छ। गन्थन र भाषणबाट सुरु गर्नु हुँदैन। यस्तो गर्नु लेखकको रोग हो।

७) पात्र छनोट

पात्रहरुको प्रवेश गराउँदा सिधै घटना भन्न हुन्न। परिवेश, पात्रले कस्तो लुगा लगाएको छ, हिँडडुल, चरित्रचित्रण, बडी ल्याङ्ग्वेज जस्ता कुरामा ध्यान दिनुपर्छ। यसले लेखनलाई जिवन्त बनाउँछ। कथामा कस्तो चिज चाहिन्छ त्यसका लागि मात्र पात्र हाल्नुपर्छ।

८) छोटा मिठा वाक्य लेख्ने

लेख्दाखेरी लामा चौडा कुरा लेख्नुहुन्न। छोटा वाक्य लेख्नुपर्छ। भन्न खोजेका कुरा 'टू द पोइन्ट' लेख्नुपर्छ। साहित्य फूटबल खेलेजस्तै खेलाउँदै जानुपर्छ भन्ने छ, जसका लागि भाषामा खेल्नुपर्छ। भाषा र प्रस्तुतिमा कुरा आउनुपर्छ। पात्रसँगै उपन्यासको घटनाक्रम अगाडि बढाउनुपर्छ।

९) नयाँ विषय र आफ्नै शैली

अमर न्यौपानेले भन्ने गर्नुहुन्छ- पहिलोपटक साइकल बनाउने वैज्ञानिक हुन्छ, त्यसपछि बनाउने मिस्त्री। यो लेखनमा पनि लागू हुन्छ। नयाँ विषय र नयाँ शैलीमा लेख्नुपर्छ। अरुका शैली पछ्याउनुहुन्न। तपाईँ कुनै लेखकबाट प्रभावित हुन सक्नुहुन्छ तर शैली पछ्याउनुहुन्न। आफ्नै शैली निर्माण गर्नुपर्छ। कसैको शैली पछ्याउँछ पुर्‍याउँछ।

१०) घुमघाम

लेखकले घुमघाम गर्नुपर्छ। घुम्ने भनेको कुनै रेस्टुरेन्टमा जाने, रिसोर्टमा जाने भनेको होइन। जुन ठाउँ गयो, त्यो ठाउँका मान्छेहरुसँग भेट्नुपर्छ। कुराकानी गर्नुपर्छ। त्यसले सेटिङ, पात्र, विषय र परिवेश थाहा हुन्छ।

११) कल्पना शक्ति

फिक्सन लेखकमा कल्पना गर्नसक्ने दिमाग हुनुपर्छ। एउटै दृश्यलाई सम्भाव्यताका विभिन्न कोणबाट हेर्नुपर्छ। कुनै घटना देखेपछि त्यसैमा आधारित भएर काल्पनिक कथा बुन्न सक्नुपर्छ।

१२) विम्बको प्रयोग

'समर लभ' मा मैले धनगढीको गर्मीलले 'मम जस्तै स्टिम्ड' पारेको भनेको छु। यो नयाँ विम्बको प्रयोग हो। हामी साइबर युगमा छौँ। अब रातलाई विम्बमा भन्दा 'चुक घोप्ट्याएजस्तो अध्याँरो' विम्ब हजारौंपटक प्रयोग भइसके। 'पासवर्ड जस्तै गोप्य' को प्रयोग गरेको छु मैले। विम्बले लेखनलाई पठनीय बनाउँछ।

१३) कविताजस्तो भाषा

लेखनको भाषा कविताजस्तो हुनुपर्छ। प्रत्येक लाइन अन्डरलाइन गर्न लायक होस्। पढ्दाखेरि वाह ! भन्न मन लाग्ने लाइन हाल्नुपर्छ। यसले गर्दा २-३ पाठ पढ्दा 'बोर फिल' गरेको पाठकले १ लाइन पढ्दा क्षमा गरिदिन्छन्। केही राम्रा लाइन बाटोमा फुर्छन्, साथीसँग कुरा गर्दा फुर्छन्। फुर्ने बित्तिक्कै लेखिहाल्नुस्। म बाइक कुदाइरहेको बेला फुरे पनि रोकेर टिप्ने गर्छुं।

१४) सरल लेखन

साहित्य सबैले बुझ्ने हुनुपर्छ। रिक्सा चालकले पनि पढेर आँसु तुरुक्क आँसु झारोस् न तब पो साहित्य। बुद्धको शून्यवाद, नित्सेको फिलोसपी, मार्क्सको दर्शन ल्याएको लेखन मात्र गहन हुँदैन। सरल साहित्यको चमत्कार त्यही हो।

१५) द्वन्द्व

कथामा द्वन्द्व हुनुपर्छ। केका लागि भइरहेको छ? कुनै कथा आयो र कथामा समस्याहरु छन् भने त्यो नै द्वन्द्व हो। द्वन्द्वले नै कथालाई 'अप एन्ड डाउन' बनाइराख्छ। पात्रहरुलाई माथि चढाउने र तल झार्ने काम द्वन्द्व मार्फत राम्रोसँग गराउन सक्नुपर्छ।

१६) लेखकका आँखा

आम मान्छेले नदेखेको कुरा लेखकले देख्नुपर्छ। कुशल लेखकले एउटै विषयलाई क्यामेरामेनले जस्तै विभिन्न एंगलबाट हेर्न सक्नुपर्छ। लेखक भएपछि कार्पेटमा अड्किएको धुलो पनि देख्न सक्नुपर्छ। अब्जर्भेसन पावर लेखकमा भिन्न खालको हुनुपर्छ।

१७) आख्यान वर्णनात्मक हुनुपर्छ

वर्णानात्मक लेखनले कथालाई जिवन्त बनाउँछ। पाठकमा यो बास्तविक घटना हो भन्ने पार्छ। मैले समर लभको रिस्पोन्समा फिलिम हेरेजस्तो लाग्यो भन्ने पाएको छु। कथा भिजुअलाइज होस्। कतिपय नेपाली उपन्यास कथा छन् जुन यो कतिबेला भइरहेको छ? कोठाभित्र हो कि कोठा बाहिर भन्ने पनि थाहा हुँदैन। पात्रहरुको उमेर कुन हो? त्यो होइन। लेखनमा केही हदसम्म समाज पनि देखिनुपर्छ। ती पात्रको व्याख्या मार्फत भन्नुपर्छ। वर्णन मार्फत भन्नुपर्छ।

१८) पञ्‍च्लाइन

लेखाइमा सक्दो पञ्च्लाइन हाल्नुपर्छ। कतिपय अवस्थामा विम्ब राम्रो भयो भने पञ्च्लाइन राम्रो हुन्छ। चट्ट अन्डरलाइन गर्न मिल्ने। चोरेर फेसबुक ट्विटरमा हालिहालुँ जस्तो लागोस् र पढेर अरुलाई वाह हेर न कस्तो लेखेछ भन्न मन लागोस् त्यस्तो लाइनहरु तपाईँहरुले उपन्यासमा हाल्नुपर्छ। यसले पाठकलाई पाना पल्टाउन सहयोग पुर्‍याउँछ। 

१९) पुनर्लेखन

उपन्यास तथा कुनै पनि कृति लेखनमा पुनर्लेखनको खाँचो अति हुन्छ। यसले किताबलाई अति राम्रो बनाउँछ। जति लेख्दै गयो त्यति राम्रो बनाउँछ किताबलाई। बारम्बारको पुनर्लेखन भनेको मूर्तिकारले मूर्ति बनाएजस्तो हो। उसले पटक पटक छिना चलाएर राम्रो मूर्ति बनाउँछ त्यस्तै काम गर्छ पुनर्लेखनले। पुनर्लेखनका बेला राम्रा चिज पनि फालिन्छन्। त्यसैले, पुनर्लेखनका बेला सचेत भएर गर्नुपर्छ।

२०) सशक्त अन्त्य

आख्यान सशक्त अन्त्यले बनाउँछ। अन्त्य आफैमा पञ्च हुनुपर्छ लाग्छ मलाई। भरसक पूर्वानुमान लगाउन सक्ने नहोस्। हुनसक्छ पूर्वानुमान लगाउन सकिने तर विश्वासिलो र पाठकको मनमा बसिराख्ने खालको हुनुपर्छ। कथाको थीम अनुसारको अन्त्य दिनुपर्छ। नयाँ चिज दिनुपर्छ अन्त्यमा। सबैले लेखिरहेको जस्तो अन्त्य गर्नु हुँदैन। अलिकति फरक अन्त्य गर्नुपर्छ।

सुन्नुस् सुविनका टिप्सहरुः

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

कमेन्ट

  • मलाइ यी टिप्स हरु मन पर्यो ।अब म पनि यसै गरि कोसिस गर्छु।