|

सिरहा : पसलको भेन्टिलेसन फोडेर नगदसहित मोबाइल, मोबाइल सेट तथा अन्य सामग्री गरी करिब १६ लाख रुपैयाँ बराबरको चोरीमा संलग्न रहेको आरोपमा प्रहरीले हप्ता दिन लगत्तै तीन जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।

जिल्ला प्रहरी कार्यालय सिरहाले भदौ २२ गते गोलबजार नगरपालिका ४ का भरतप्रसाद साहको घरमा संचालित राजु इन्टरप्राइजेजबाट भेन्टिलेशन फोडेर चोरी गरेको आरोपमा सिरहाको अर्नमा गाउँपालिका ३ लालपुरका १७ वर्षीय रामेश्वर साफी, ब्रहमपुरी टोलका ३६ वर्षीय विन्दु कुमार महतो र ३२ वर्षीय अरुणकुमार महतोलाई पक्राउ गरी शनिबार पत्रकार सम्मेलनमार्फत् सार्वजनिक गरिएको हो।

सिरहास्थित जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीको उपस्थितिमा शनिबार अपरान्ह आयोजित पत्रकार सम्मेलनमा पक्राउ परेका तीन जनासहित बरामद गरिएको मोवाइल, नगद र रिचार्जकार्ड समेत सार्वजनिक गरिएको छ। प्रहरीले पक्राउ परेकाहरुको साथबाट बरामद गरिएका विभिन्न

कम्पनीका २८ थान मोवाईलहरु, नगद एक लाख ४९ हजार छ सय ५० रुपैयाँ, ६८ हजार आठ सय ५० रुपैयाँ बराबरको रिचार्ज कार्ड, एक थान साइकल, चोरीको क्रममा प्रयोग भएका औजारहरु  समेत सार्वजनिक गरेको छ।

चोरीको आरोपमा पक्राउ परेकाहरुले पसलको भेन्टिलेशन फोडेर नगद अन्दाजी दुई लाख ९५ हजार, तीन लाख ५० हजाररुपैयाँ बराबरको रिचार्ज कार्ड, आठ लाख ९८ हजार आठ सय रुपैयाँ बराबरका ४४ थान विभिन्न कम्पनीका मोवाईल, मेमोरी करिब ५५ हजार रुपैयाँ गरी १५ लाख ९८ हजार, आठसय रुपैयाँ बराबरको चोरी गरेका थिए।

चोरीको आरोपमा पक्राउ परेकाहरुले चोरेको नगदमध्ये आपसमा बाँडेर केही खर्च गरेको, मोवाइल बेचेको वा अन्यत्र लुकाएर राखेको आशंका गरेको भए पनि केही खुल्न नसकेको प्हरीले जनाएको छ। पहरी उपरीक्षक चतुर्वेदीका अनुसार पक्राउ परेकाहरुमाथि थप अनुसन्धान भइरहेको छ।

सिरहा प्रहरीको तथ्यांकअनुसार आर्थिक वर्ष २०७२/०७३ देखि २०७४/०७५ सम्म एक सय चार वडा चोरीको मुद्धा चलेका छन्। आ.व.२०७२/०७३ मा १९, २०७३/०७४ मा ३७ र २०७४/०७५ मा ४८ वटा चोरीको मुद्दा चलेको प्रहरीको तथ्याङ्कमा उल्लेख छ। आ.व. २०७४/०७५ मा एक र २०७५/०७६ मा गरी पाँचवटा चोरी उद्योगको मुद्दा चलाइएको सिरहा प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.