|

म्याग्दी : पश्चिम म्याग्दीको धार्मिक तथा एतिहासिकस्थल ताकम कोतमा समुदायकै पहलमा कोत मन्दिर निर्माण भएको छ। धौलागिरी गाउँपालिका–७ ताकमको शिरमा अवस्थित कोतमा पूजापाठ गरी धार्मिक विधि अनुसार जगन्नाथ, अन्नपूर्ण, शिव, राम, लक्ष्मणसहित विभिन्न २२ भगवनाको मूर्ति प्रतिस्‍थापन गरिएको मन्दिर व्‍यवस्थापन समितिका अध्यक्ष एवं वडा अध्यक्ष कलानिधि सुबेदीले बताए।

पुरातात्विक महत्वका प्राचीन शैली र ऐतिहासिक महत्वलाई कायम राख्न ताकम कोतमा स्थानीयको पहलमा ७० लाखको लागतमा मन्दिर निर्माण भएको उनको भनाइ छ।

मन्दिरमा नवदुर्गा, जेष्ठी पूर्णीमा, मंसिर पुर्णीमा चैत्राष्टमीमा पुजाआजा र भाकल गरी बली दिने गरिन्छ। कोत घरमा तोप, खुँडा, खुकुरी, ढाल, तरबार लगाएतका ऐतिहासिक महत्वका हतियार, पुराना साम्रागी रहेका छन्।

कोतमा सुरुङ्गा छेलोको खत, ओखल, गस्ती स्थल, पर्खाल, ईटा, बंकर, मन्दिर मुर्ती लगाएत तत्कालिन समयमा दरवारको सुरक्षामा आवश्यक पर्ने गढी, किल्ला, तामाको आवाज आउने गल्छी, दमाह आकारको ढुंगालगायत रहेका छन्।

बाजागाजा र क्षमापुजा गरेर धार्मिक बिधिअनुसार सत्तलबाट मन्दिरमा मूर्ति सारिएको हो। मुर्ति सारिएपछि मन्दिरको मुख्य प्रवेशद्धारतर्फ जाने बाटोमा पर्ने सत्तल भत्काउन लागिएको निर्माण समितिका अध्यक्ष तेजेन्द्र थापाले बताए। सत्तल तर्फबाट मन्दिर छिर्ने सिढी बनाउन लागिएको हो।

‘मुख्य मन्दिर, कोतघर, पूजास्थल र सत्तल निर्माण सकिएको छ,’ थापाले भने, ‘पदमार्ग, घेराबार बाँकी छ। दसैंसम्म पुननिर्माणको काम सक्ने लक्ष्य छ।’ मन्दिर पुननिर्माणका लागि स्वदेश तथा विदेशमा चन्दा संकलन अभियान सञ्चालन गरिएको छ।

ताकम कोतको इतिहास

१६ औं शताब्दीमा तत्कालीन थापा राजाले निर्माण गरेको मन्दिर वि.स १९९० र २०७२ को भूकम्पका कारण जीर्ण बनेको थियो। ताकमकोतको एकीकृत विकास गर्ने उद्देश्यले गत वर्ष गुरुयोजना तयार पारिएको थियो।

वि.स १२४६ देखि १५४५ सम्म ताकमकोत बगाले थापाको राज्यको रुपमा थियो। त्यसपछि वि.स १८८२ सम्म त्यहाँ मल्लहरुले शासन गरेको इतिहास छ। वि.स १८४३ को असोज १४ गते काजी अमरसिंह थापा, योगनारायण मल्ल, दामोदर पाण्डे, जीव शाहको नेतृत्वमा आएको गोर्खाली फौजले कब्जा गरी थुम ताकमलाई नेपाल राज्यमा मिलाएको थियो।

पुरातात्विक महत्वका हातहतियार

कोत घरको रुपमा समेत प्रयोग भएको उक्त मन्दिरमा ऐतिहाँसिक महत्वका तोप, तरबार, खुँडा, खुकुरी, ढाल लगायतका हातहतियार छन्। सुरुङ्ग, छेलोको खत, ओखल, गस्ती स्थल, पर्खाल, इँटा, बंकर, ओदान, मन्दिर, मूर्ति, फलामको छाता, माटाको शंख, खानी, तामाका खड्कुला, कोइलाटा, गढी, किल्ला, तामाको आवाज आउने गल्छी, दमाहा स्वरुपको ढुंगा लगायत सामग्री छन्।ताकम कोत म्याग्दीको प्रमुख शक्तिपीठ मानिन्छ।

नौमुरे ताउलो प्रमुख आकर्षण

नौमुरी चामलको भात पकाउन सकिने क्षमताको तामाका नौमुरे ताउलो यहाँको मुख्य आकर्षण हो। तत्कालीन समयमा यहाँका जनताले राजाले विशेष अवसरमा भोज खुवाउनका लागि निर्माण गरिएको नौ मुरी चामलको भात  पाक्ने ताउलो अहिलेसम्म पनि सुरक्षित रहेको पूजारी हेमराज पौडेलले बताए।

यहाँ पुजाआजा र भाकल गरेमा मनोकांक्षा पूरा हुने विश्वासका साथ नवदुर्गा, जेष्ठी पूर्णिमा, मंसिर पूर्णिमा, चैत्राष्टमी पर्वका अवसरमा पुजाआजा र भाकल गरि बलि चढाउन भक्तजनको घुइँचो लाग्ने गर्छ। दैनिक पूजाआजा हुने ताकमकोतमा वडादशैंको समयमा विशेष मेला लाग्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.