ट्राफिकले पनि  पेसालाई सम्मान गर्नुपर्छ

|

काठमाडौं : महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुखको जिम्मेवारी प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भीमप्रसाद ढकालको काँधमा आएको छ। आफ्नो कार्यकालमा गर्ने कामलाई सातवटा प्राथमिकता अगाडि सारेर उनी बिहानैदेखि सडकमा सिठ्ठी र सेट बोकेर निस्किन्छन्। के यसरी मात्रै समस्‍या समाधान होला त?

ट्राफिक प्रशासनलाई दक्ष, अनुशासित, मिहिनेती, सुझबुझ ढंगले काम गर्ने चुस्त र दुरुस्त  ट्राफिक प्रहरी बनाउने उनको अभियान छ। ट्राफिक प्रशासनभित्रका बेथिति, अबका उनका चुनौती अनि उपत्यका र मुलुकभित्र रहेको ट्राफिक व्यवस्थापनका उनका कदमबारे थाहाखबरकर्मी राजु पौडेलले गरेको कुराकानी :

ट्राफिक महाशाखाको प्रमुखमा नियुक्त भएपछि  यस क्षेत्रका समस्या कस्तो पाउनुभयो?

ट्राफिकभित्र पनि विभिन्न समस्या छन्। यसमा विशेष गरेर उपत्यका ट्राफिककै कुरा गर्दा यहाँ जनसंख्या बढी छ र सोहीअनुसार सवारीसाधनको चाप पनि छ। सवारीसाधन दिनानुदिन बढ्ने क्रममा छन्। मान्छेको मोविलिटी छ।

हरेक नागरिकले आफ्नो यात्रा सहज होस् भन्ने चाहन्छ। आमनागरिकले पनि यहाँको आफ्नो आवतजावत, घुमफिर, काममा सहजता होस् भन्ने अपेक्षा गरेका छन्। त्यो जनअपेक्षा पूरा गर्ने दायित्व ट्राफिकसँग छ। आमजनतालाई सहजताका लागि हामी दिनरात खटिइरहेको अवस्था छ। 

क्रियाशील भइरहँदा पनि यहाँभित्रका समस्या भए पनि हामी आफ्नो काममा लागिरहेका छौं। यहाँको प्रमुख समस्या बाटो हो। जुन सवारीसाधनको तुलनामा सडक कम छ। उपत्यकाभित्र  २ हजार १४ किलोमिटर बाटो छ। सवारीसाधन १३ लाख गुड्ने गर्छन्।

एक किलोमिटरमा ६ सय गाडी गुडिरहन्छन्। विकास निर्माणका कार्य सडकमा नै गर्ने चलन छ । जसले गर्दा ट्राफिक व्यवस्थापनमा अर्को चुनौती थपिएको छ। बाटो साँघुरो र भत्केको धेरै छ। बिहे सडकमा मलामी सडकमा जुलुस सडकमा , सबै हामी सडक मैं गर्छौं । अब समय अनुसार चल्ने परम्परा बढाउनु पर्छ ।

ठूला तथा साना सवारीसाधन गुडाउने कसरी भन्ने विषयमा पनि अध्ययन गर्न जरूरी छ। काठमाडौं उपत्यकाको जनघनत्व र सवारी साधनको तुलनामा ट्राफिक जनशक्ति सीमित छ।  एकजना ट्राफिक प्रहरीले ९ सय सवारीसाधनलाई हेर्नुपर्ने हुन्छ।

कोटेश्वर चावहिल जस्ता ठाउँहरूमा डाइभर्सन खोल्न जरूरी पनि देखिन्छ। आधुनिक युगमा  ट्राफिकलाई प्रविधिमैत्री बनाउन जरूरी छ। कतिपय मानिसमा  ट्राफिकको आँखा छल्ने  प्रवृत्तिले पनि चुनौती थपिँदै गएका छन्। सबै निकायहरूसँग प्रहरीको साझेदारी हुने गर्छ। तर, एकैसाथ साझेदार गर्न कठिन हुँदै गर्दा पनि ट्राफिक प्रहरीले अहोरात्र सबैखाले उपाय अपनाएर सहज बनाउने अभियानमै छौँ।

दुई दशकयता प्रहरी प्रशासनभित्र कस्तो परिवर्तन पाउनुभएको छ?

५२ सालमा प्रहरीले गर्ने काम र अहिले निश्चित रूपमा फरक पर्ने नै भइहाल्यो।  यो अवधिका धेरै परिवर्तन प्रहरीभित्र आइसकेको छ। बाटोको अवस्था सुधार भइसकेका छन्। सवारी चाप बढ्दै गएका छन्।

जनशक्ति  अहिले उल्लेखनीय रूपमा थपिएको छ। प्रहरी स्वयं पनि क्षमतावान् थियो र छ। नागरिक सचेतना पनि राम्रो छ। नागरिक सरोकारवाला निकायहरूमा  ट्राफिक प्रशासनलाई राम्रो बनाउनुपर्छ भन्ने सोच छ।

यसरी हेर्दा हामी सुधारोन्मुख छौं। पहिलेभन्दा सहज पनि हुँदै छ। यद्यपि सवारीसाधनको चापले गर्दा दुर्घटनाका काम बढ्दै गएका छन्। नियम उल्लघंन पनि अहिले बढी नै देखिन्छ।  सम्पूर्ण नागरिकलाई विभिन्न कार्यक्रम गर्दै एकाकार गर्ने, चेतनामूलक कार्यक्रम गरेर, अहिले सामुदायिक प्रहरी, साझेदारी व्यापक अभियान पनि छ। तुलनात्मक हिसाबले हामी धेरै माथि छौं।

ट्राफिक महाशाखा प्रमुखको हैसियतले तपाईंका चुनौतीहरु के के देख्‍नुभएको छ?

अहिले मेरो यो ठाउँमा उभिएर हेर्दा आगामी दिनलाई हेर्नुपर्ने हुन्छ। भोलिका दिनमा पर्याप्त सडक निर्माणमा विस्तार गर्नुपर्ने देखिन्छ। भएका सडकहरूलाई फराकिलो बनाउनुपर्ने हुन्छ। सडक मर्मत र सम्भार गर्न पनि जरूरी छ। अब म्यानुयल ट्राफिक सिस्टमबाट हुँदैन।

प्रविधिमैत्री ट्राफिक व्यवस्थालाई पूर्णरूपले सञ्‍चालन गर्नुपर्ने छ। यो प्रविधि हामीले भित्र्याउनु पर्नेछ। साधन स्रोत र जनशक्तिलाई पनि समयसँगै बढाउँदै लानुपर्ने छ। ग्लोबलाइजेसनको अवस्थामा नागरिक एड्भान्स भइसके।

त्यहाँ भएका प्रविधिको विकासले  नागरिकलाई दिएको सुरक्षाहरू हामीले पनि अवलम्बन गर्न जरूरी छ। यसमा केही चुनौती छन्। तर, अगाडि बढ्ने प्रक्रियामा हामी छौं। 

सधैँ व्यस्त रहने र सवारी चाप व्यवस्थापनमा खटिएका ट्राफिकहरूलाई चरम तनाव, थकान र दिक्दारी हुन्छ। उनीहरूको नियमित स्वास्थ्य परीक्षण र काउन्सिलिङका लागि केही सोच्नुभएको छ?

यो स्वाभाविक कुरा हो। ट्राफिकको स्वास्थ्यको ख्याल गरिएन भने निश्चय नै हामीले हाम्रा लक्ष्य पूरा गर्न सक्दैनौं। प्रहरी प्रधान कार्यालयअन्तर्गतका विभिन्न निकायहरूले  ट्राफिकहरूको व्यावसायिकता, इमानदारी र अनुशासनलाई सुधार गर्न विभिन्न काम हरेक दिन जानकारी लिइरहेको  हुन्छ।

आजभन्दा भोलि ट्राफिकलाई कसरी चुस्त र दुरूस्त बनाउन हामीले कुनै कसुर बाँकी राखेका हुँदैनौं। ट्राफिकसम्बन्धी विभिन्न तालिम दिने गुनासा सुन्ने र समाधान दिने काम भइरहेको छ।  ट्राफिकहरूलाई प्रोत्साहित गर्नका निम्ति हालसालै वर्तमान सरकार, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालज्यूको सक्रियतामा सरकारले विशेष भत्ता पदअनुसार क्रमश: माथिल्लो दर्जासम्म भत्ताको व्यवस्था पनि भइरहेको छ। 

दशैँ, तिहार र छठ नजिकिँदै छ। यात्रुहरूको लागि विशेष योजना के छन्?

योजना केही दिनमै सार्वजनिक हुँदै छ। उपत्यकाभित्र चाडबाडको बेला अस्तव्यस्त हुन्छ। बसपार्क र चोकहरूमा मान्छेको भिड सँगसँगै लुटपाटको पनि घटना बढ्ने गर्छन्। यसका लागि सादा पोसाकमा प्रहरी परिचालन हुनेछन्।

मुख्य रूपमा मुख्यमुख्य चोकमा यात्रु सहायता कक्ष स्थापना हुँदै छन्। उपत्यका ट्राफिकका  ४२ वटा युनिट छन्। यसलाई थपेर १ सय २५ स्थान ट्राफिक युनिट खोल्ने काम हुन लागेको छ। 

लामोदूरीका सवारीसाधनमा दुईजना चालक व्यवस्था कडाइका साथ लागू हुन्छ। देशभरीका यथासम्भव कम्युटरबाट निगरानी हुन्छ। बसपार्क क्षेत्र र मुख्यचोकमा रहेका टिकट काउण्टरका कर्मचारीहरू, सवारी चालक, चालक सहयोगीहरूलाई  सजिलै चिनिने पोसाक र परिचयपत्रको व्यवस्था हुनुपर्ने नियम लागू गरेका छौँ।

प्रविधिमैत्रीका कुरा गर्नुहुन्छ? ट्राफिक लाइट प्रहरीले चलाउन नजानेर बिग्रिएर बसेको अवस्था छ। प्रहरीले लाइट नै चलाउन जानेन भन्ने आरोपमा सत्यता कति छ?

प्रविधिको एउटा विशेषता भनेको हामी प्रविधि जडानमा जति उत्साहित हुन्छौं। त्यति नै उत्साहित सधैँ बचाएर राख्‍न पनि हुनुपर्छ। विगतमा जडान भएका लाइटले धेरै सकारात्मक काम गरेको छ।

प्रविधि बिग्रेपछि बनाउनुपर्छ। हामीले प्रयास गरिरहेका छौँ।  तर, जति लाइट छन्। ती अपर्याप्त  छन्। हामीले लाइटको माग मन्त्रालयमा पुर्‍याइसकेका छौं। निकट भविष्यमा ट्राफिक लाइटको व्यवस्थापन हुन्छ। प्रविधिको प्रयोगमा हामी नजान्ने अवस्था आएमा सिक्न तयार छौँ। तर लाइटको व्यवस्था कहाँ छ?

'पिक एण्ड ड्रप'को प्रभावकारिता कस्तो देख्‍नुभयो?

प्रहरीमा लाएका नीति छोडिने भन्ने हुँदैनन्। नीतिहरू प्रभावकारी रूपमा कार्यान्वयन हुन्छन्। मैले भन्दै आएको छु। ट्राफिक नियम कडाइका साथ लागू हुन्छ। तर, यसमा विनम्रता पनि सँगसँगै आउँछ। यहाँ पिक एण्ड ड्रपको मात्र कुरा होइन, लेन अनुशासन, मापसे विषय, गाडीको कण्डिसन, अन्य ट्राफिक उल्लघंनका विषय पनि पालना गर्न र गराउन ट्राफिक परिचालित छन्।

यहाँ सर्वसाधारणले पनि यस विषयमा ट्राफिकलाई सहयोग गर्नुपर्छ। जनताको सहयोगबिना हामीले हाम्रो काम चुस्त बनाउन सक्दैनौं। दैनिक १६ देखि १७ सय मानिस कारबाहीमा पर्ने गरेका छन्। हाम्रो उद्देश्य भनेको कसैलाई कारबाही गरौं भन्ने होइन। सबैजना चेतनशील र अनुशासित भएर नियमसम्मत हिँड्नुभयो भने पक्कै सहज  हुन्छ।

दृष्टिविहीन हिँड्ने बाटोमा पार्किङको लाइन छ। माइतीघर बिजुलीबजार बानेश्वर क्षेत्रमा वा कान्तिपथमा जता पनि हिँड्ने बाटोमा दृष्टिविहीन सडकबाट हिँड्ने बाध्यतामा छन्। तपाईंहरूको नजर किन नपुगेको हो ?

 नजर नपुगेको हुन सक्छ। फरक क्षमता भएका व्यक्तिहरू हिँड्ने बाटोमा कसैले पार्किङ गरेर हिँड्न अफ्ठ्यारो भएको खण्डमा सिधा ट्राफिकलाई फोन गर्न अनुरोध पनि गर्दछु। यदि फोन गर्न मिल्दैन भने ट्राफिक महाशाखाको फेसबुक पेज पनि छ। त्यसमा सवारीसाधनको फोटो खिचेर पठाउनुस्।

 यो देश सबै  क्षमता भएको व्यक्तिहरूको हो। त्यसैले, फरक क्षमता भएका व्यक्ति सहज रूपमा आफ्नो यात्रा गर्न पाउन पर्छ। अर्को कुरा ज्‍येष्ठ नागरिक, महिला र बालबालिकालाई विशेष ट्राफिक सेवा  भन्ने अभियान थालनी गर्दैछौं। 

सवारी चालकहरूसँग नम्बर प्लेट हेरेर गर्ने व्यवहारमा तपाईंको कार्यकालमा भिन्नता देख्‍न सकिन्छ?

हरेक ट्राफिकहरू व्यवहार, आचरण र कारबाहीमा शतप्रतिशत दिन तयार छन्। यहाँ सबै सवारी चालकलाई दुर्व्यवहार नै भएको छ भन्ने पनि होइन। तर, कतिपय ठाउँमा त्यस्ता घटना भएका पनि होलान्।

तर,  ट्राफिकको नजरमा सबै नागरिक समान हुन्। यहाँ गल्ती गर्ने कसैलाई उन्मुक्ति दिने, गल्ती नगर्नेलाई समात्ने भन्ने हुँदैन। यहाँ स्वयं ट्राफिकले गल्ती गरे पनि कारबाही हुन्छ। नियमसम्मत तरिकाले सबै चल्नुपर्छ।

'जिब्रोको गरिमा मीठो बोलीमा' सुन्दा मीठो तर व्यवहारमा साह्रै तीतो छ भन्ने कतिपय सवारी चालकको गुनासोलाई के भन्नुहुन्छ?

यो विषयमा ट्राफिकका पनि गल्ती होलान्। यहाँ सवारी चालकहरूले पनि नियम मिचिदिने र ट्राफिकले देखेपछि झगडा गर्ने प्रवृत्ति हाबी छ। कहीँ कतै ट्राफिक नभए पनि सिसी क्यामेराले गल्तीहरू देखिन्छ। यस कुरामा विवाद हुन्छ। तर, त्यसमा सबैले संयम र यथार्थ स्वीकारेर  ग्रहण गर्नुपर्छ।

नियमविरुद्ध हिँड्न खोज्नेहरूलाई छोड्न हामी घाम पानी, धुलो खाएर सडकमा बसेका होइनौँ। सवारी चालकले पनि नियम पालन  गर्नुपर्छ  र ट्राफिकले पनि  पेसालाई सम्मान गर्नुपर्छ। 

प्रहरी निरीक्षक आधारभूत तालिम, अपराध अनुसन्धान तालिम, विशिष्ट व्यक्तिको सुरक्षा तालिम, प्रहरी नागरिक सैन्य कोर्स लगायतका कोर्स गर्नुभएको छ। उपत्यका र उपत्यका बाहिरका सवारी र पैदलयात्रुको सुरक्षामा तपाईंको अध्ययनले कस्तो भूमिका खेल्न सक्ला?

मैले होस् या सिंगो प्रहरी प्रशासनले होस् जानेको ज्ञान नै आमजनताको सुरक्षाको लागि हो। हामीले जानेको र सिकेको ज्ञान बुझाउँदै नजानेको विषयमा सिक्दै अगाडि बढ्ने हो। हामी नियम मात्र देखाएर मात्र पनि हुँदैन। जनतालाई शिक्षा पनि दिनुपर्छ। हरेक कुरालाई समानान्तर रूपमा अगाडि लिएर जानुपर्छ।

 शिक्षा, नियमपालना र इञ्‍जिनियरिङ। सडकलाई चुस्त दुरुस्त राख्न सम्बन्धित निकायसँग समन्वय गर्छ। कमी कमजोरी सुधार्ने र हरेक सवारी चालकले ट्राफिकसँग मित्रताको व्यवहार गर्ने प्रचलनको थालनी गर्न म लागिपर्ने छु। मेरो अनुरोध के मात्र हो भने ट्राफिक प्रहरी सडकमा उभिएको तपाईंका लागि हो।

सडकको अवस्था बढ्दो चापलाई ख्याल गरेर घरपिरवार सम्झेर सडकमा निस्कनुहोस्। ट्राफिकले देखेर गर्ने सजाय जरिवानाभन्दा ट्राफिकका आँखा छलेर तपाईंले गर्ने गल्तीबाट  चुकाउनुपर्ने मूल्य हजारौं गुणा बढी हुनसक्छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.