|

काठमाडौं : एरोरुटस कम्पनीले काठमाडौं महानगरपालिकाको ट्राफिक आइल्याण्डमा फूल फूलाउने सम्झौता गरेको तीन महिना पुगेको छ। तर, सम्झौता अवधिमा  ट्राफिक आइल्याण्डमा फूल फूलाउने कुनै सुरसार छैन।  

राष्ट्रिय सभागृह र न्युरोड गेटअगाडिको ट्राफिक आइल्यान्डमा बाह्रैमास फूल फूलाउने गरी काठमाडौं महानगरपालिका, नबिल बैंक र एरोरुटस प्रालिबीच जेठ ३१ गते सम्झौता भएको थियो।

एरोरुटस कम्पनीसँग २९ लाखमा ट्राफिक आइल्यान्डमा फूल फुलाउने गरी सहमति भएको हो। दुई वर्षसम्म एरोरुटस कम्पनीले फूल फूलाउने जिम्मा लिने र संरक्षण गर्ने गरी सहमति भएको थियो।  काठमाडौं महानगरपालिकाले एरोरुटस प्रालिसँग ९० दिनभित्रमा फूल फुलाउने सहमति थियो।

प्राविधिक समस्याले सकेनौँ

कम्पनीले आइल्याण्डमा फूल फुलाएर राख्नको लागि तयार गरेर राखेको भए पनि प्राविधिक कारणले आइल्याण्डमा ल्याएर फूल राख्न नसकेको एरोरुटस प्रालिका अध्यक्ष विप्लव सिंहले बताए। उनका अनुसार सडकको केही भाग खन्नुपर्ने र सडक विभागसँग अनुमति लिनुपर्ने भएकोले सडकको केही भाग खन्न ढिलो भएले काममा ढिलाइ भएको उनले बताए। 

काठमाडौं महानगरपालिकासँग अनुमति लिएपछि सडक विभागले पनि दिने उनको विश्वास छ। काठमाडौं महानगरपालिका अन्तर्गतको वातावरण व्यवस्था विभागसँग पनि अनुमति लिइसकेको उनले बताए। कुनै समस्या नपरेको भए भदौको पहिलो हप्तामा फूल राखिसेक्ने गरी आफूहरूको तयारी रहेको उनले सुनाए।

'सम्झौता हुँदा सजिलोसँग काम गर्न पाइन्छ भन्ने लागेको थियो,' उनले भने, तर, सरकारी काम गर्नुपर्ने भएकोले सबै क्षेत्रसँग अनुमति लिँदै काम गर्नुपर्ने भएकोले ढिलो भएको हो।'  मंगलबार सडक विभागसँग अनुमति लिएर निर्माण प्रक्रिया अगाडि बढ्ने उनले बताए।

सडक विभागको अनुमति मात्र लिन बाँकी रहेको उनको भनाइ थियो। आइल्याण्डको केही खण्ड मात्र निर्माण गर्न बाँकी भएको उनको दाबी थियो। फूल फूलाएर नर्सरीमा राखिसकेको उनले बताए।

छिट्टै काम नभए पत्र काट्छौं 

काठमाडौं महनगरपालिकाभित्र भएको दुईवटा ट्राफिक आइल्याण्डमा दशैंअगाडि बाह्रैमास फूल्ने फूल राखिने भएको छ। फूल फूलाएर तयार पारेर नर्सरीमा राखिसकेको छ। ट्राफिक आइल्याण्डमा आठदेखि नौथरीका फूल फुलाइनेछ। सदा आइल्याण्डमा सयपत्री, साल्बिया, जेनिया फूल पनि राखिने भएको छ। मौसम अनुसारका फूललाई पहिलो प्राथमिकतमा राखिने एरोरुटस प्रालिले जनाएको छ।

कम्पनीलाई महानगरले बारम्बार मौखिक जानकारी गराइरहेको छिटो निर्माण गर्नुहोस् भनेर भनिसकेको महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलले बताए। केही समयदेखि निर्माण प्रक्रिया अगाडि बढाएन भने पत्र काटेर नै  निर्माण गर्नुहोस् भनेर जानकारी गराउने डंगोलको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.