भूमिहीनलाई बर्खामा पानी र हिउँदमा जाडोको पीर

|

कञ्चनपुर : कञ्चनपुरको वनहरा नदी तटीय क्षेत्रमा रहेको भूमिहीन बस्तीका बासिन्दा वर्षातका बेला झुपडी चुहिँदा अनिदोमै रात बिताउन बाध्य भएका छन्। झुपडी चुहिने भएपछि वर्षातको पानीबाट जिउ जोगाउनका लागि भूमिहीन परिवारलाई नजिकैको पुल मुनि ओत लाग्नुपर्दछ।

झुपडीमा राखिएका प्लाष्टिकका त्रिपालले वर्षातको पानीभित्र छिर्नबाट नरोक्ने भएकाले उनीहरु पुलमुनि ओत लाग्न बाध्य भएका हुन्। हिउँदमा कठयांग्रिदो चिसोबाट बुढापाका र बालबालीकालाई जोगाउनका लागि भूमिहीन परिवार आगो बालेर रात काट्ने गरेका छन्।

 वनहरा नदीले पूर्वतर्फबाट र वर्षातको पानीले दक्षिणि क्षेत्र बाट जग्गा कटानको कार्य तिव्र बनाए पछि भूमिहीन परिवार बस्दै आएको बस्ती जोखिममा परेको छ।

पुलमुनि ओत

 श्रीकृष्ण सामुदायिक वन छेउमा एक दशक बढी समय देखि बस्दै आएका परिवार भू क्षयका कारण जोखिममा परेपछि सुरक्षित बासस्थानको खोजीमा लागेका छन्।

 वर्षातका बेला नदीमा पानीको सतह बढन थालेपछि भूमिहीन परिवार बस्ती छाडेर सडकमा बस्ने गरेका छन्। पानी बाट बच्नका लागि नजिकैको पुल मुनि ओत लाग्ने गरेका छन्।

पुस्तौंदेखि भूमिहीन रहेका परिवारले सुरक्षित बासस्थानका लागि माग गर्दै आए पनि सुनुवाइ हुन नसक्दा जोखिम संगै तटीय क्षेत्रमा बनाइएका झुपडीमा बस्न बाध्य भएका छन्।

'हावाहुरीले झुपडीमा राखेका त्रिपाल उडाउँदा खुला आकाशमा बस्दै आएका थियौं' भूमिहीन बस्तीका कलावती दमाईंले भनिन्, ‘वर्षात हुन थालेपछि जति पानी बाहिर पर्छ। त्यति पानी भित्र पर्ने भएकाले अनिदोमै रात काटनुपरेको छ। नदीले जग्गा कटान गर्न थालेपछि बस्तीनै जोखिममा परेको छ।’

नदी बस्तीतर्फ सोझिएपछि पूरै झोपडी बग्ने डरले पालै पालो नदीको पानी हेरेर बस्नुपरेको छ मानध्वज लुहारले भने, ‘थोरै पानीले पनि धेरै जग्गा कटान गरी सकेको छ। कुनै बेला पनि दुर्घटना हुन सक्ने भएकाले नदीको पानीको सतह बढ्न थालेपछि बस्ती छाडनु पर्ने अबस्था छ।’

शुक्लाफाँटा नगरपालिकासँग सुरक्षित बासस्थानको व्यवस्था मिलाई दिन भन्दै आए पनि कसैले सुन्दैनन्। सामुदायिक वनको सुरक्षित क्षेत्रमा बस्न दिँदैनन्।

नदीको जोखिम 

यसै देशको नागरिक भए पनि विरानो भएर बस्नु परेको भूमिहीन परिवारको गुनासो छ। भूमिहीन परिवारले दुई छाकको खानका लागि दिनभरी मजदुरी गरेर जीविका धान्दै आएका छन्। बाच्नका लागि त निकै संघर्ष गर्नुपरेको छ। जग्गा खरिद गर्न यस जुनिमा त सक्दैनौं माघी रावतले भनिन्,‘नदीकै कारण ज्यान जोगाउन नसकिने भएको छ।’

‘गर्मीमा लामखुट्टे बाट जोगिन रातभर झोपडीमा अनिदो बसेर धुवाँ गरेर बस्नु पर्ने, वर्षात भएपछि पानीबाट बालबालिका र जेष्ठनागरिकलाई जोगाउन संघर्ष गर्नु पर्ने र नदीले बस्तीको जग्गा कटान गर्न थालेपछि बस्ती छाडेर भाग्नुपर्ने अवस्था आईलागेको छ’ राधिका सुनारले भनिन्। भूमिहीन बस्तीमा अधिकांश परिवार दलित समुदायका रहेका छन्।

घर भएकैलाई जनता आवास

संविधानमै एक पटकका लागि भूमिहीन रहेका दलित परिवारलाई जग्गा र घर दिने कुरा राखिएको सुनेका छौं मानध्वजले भने, ‘नागरिकता लगेर नगरपालिका, भूमि सुधार, जिल्ला प्रशासन र मालपोत कार्यालयसम्म पुग्दासमेत जग्गा र घर पाइएको छैन। जनता आवास कार्यक्रममा पनि जग्गा घर भएका नै परेका छन्।

 मुक्त हलिया पुनः स्थापनमा पनि हामीलाई परिएको छैन। पुर्खौंदेखि हाम्रा पुर्वजहरु र हामीले हलो जोतेर पहाडमा जीविका चलाउँदै आएका हौं। हलिया मुक्तिको घोषणा पछि बास गाँसको खोजी गर्दै यहाँसम्म पुगेका छौं।’

बस्दै आएको ठाउँमा नदीले कटान गर्न थालेपछि अर्को कुन ठाउँमा गएर बस्ने भूमिहीन परिवारलाई पिरलो छ। हिउँदको चिसोमा ओढने विछयाउने कपडाको अभावमा झोपडीभित्र आगो बालेर जीउ जोगाउनुपरेको उनीहरुको भनाइ छ। सामुदायिक वनले दाउरा ल्याउन नदिने भएकाले नदीबाट दाउराको जोहो बस्तीका बासिन्दाले मिलाउने गरेका छन्।

 बस्तीका भारतमा कमाउन गएका युवाहरु समेत फर्केर आएका छैनन्। बस्ने ठेगान नहुदा र जीविका चलाउने साधन नहुदा युवाहरु भारतमै बस्दै आएका हुन। बस्तीमा १२ परिवारको बसोवास रहेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.