जिल्ला सेक्रेटरीसहित तीन कार्यकर्ता पक्राउ

|
फाइल फोटो

भद्रपुर, (झापा) : झापा जिल्लामा श्रृंखलाबद्ध बम विस्फोटका घटना हुन थालेपछि प्रहरीले नेपाल नेत्र चन्द विक्रम (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कार्यकर्तालाई पक्राउ अभियान सुरु गरेको छ। 

बिर्तामोड नगरपालिका-२ चारपानेस्थित सहारा नेपाल सहकारी संस्था र गौरादह नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सागर मिश्र चढ्ने गाडीमा बम विस्फोटको घटनाको प्रहरीले अनुसन्धान थालेको हो ।

यो घटनापछि एक नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगर र जिल्ला प्रहरी कार्यालय झापाले संयुक्त अभियान चलाएर विप्लव कार्यकर्ता खोजी-खोजी पक्राउ गर्न थालेका छन् । संयुक्त प्रहरी टोलीले सोमबार हतियारसहित विप्लवका तीन कार्यकर्ता पक्राउ गरेको प्रहरी कार्यालय झापाले जनाएको छ।

पक्राउ पर्नेमा विप्लवका समूहका झापा जिल्ला सेक्रेटरी प्रवीण मिश्र (मनीष) र जिल्ला ‘जनसरकार’ प्रमुख टीका पोखरेलसहित तीनजना रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए । प्रहरीका अनुसार बिर्तामोड नगरपालिका-४ स्थित नेपाल विद्युत् प्राधिकरणको कार्यालय नजिकैको चिया पसलबाट जिल्ला सेक्रेटरी मनीष र जनसरकार प्रमुख पोखरेललाई सोमबार बिहान पक्राउ गरिएको हो। 

दुवै जनालाई १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगर र प्रहरी कार्यालय झापाबाट खटिएका सादा पोसाकका प्रहरी टोलीले पक्राउ गरेका हुन्। त्यस्तै संयुक्त प्रहरी टोलीले सोमबार साँझ बिर्तामोडबाट दुई थान हतियारसहित अर्का विप्लवका कार्यकर्ता पक्राउ गरेको छ। 

बिर्तामोड-४ स्थित भद्रपुर रोडमा रहेको भण्डारी थरका एक व्यक्तिको घरबाट २ थान कटुवा पेस्तोलसहित विप्लवका कार्यकर्ता पक्राउ परेका हुन् । हतियारसहित पक्राउ परेका कार्यकर्ताको नाम प्रहरीले खुलाउन चाहेको छैन । 

प्रहरीले करिब २ घण्टा लामो समय लगाएर कटुवा पेस्तोल, त्यसमा लाग्ने केही थान गोली र दस्ताबेजका कागजात बरामद गरेको प्रत्यक्षदर्शीले बताएका छन् । प्रहरीले विप्लवका कार्यकर्ता पक्राउ गर्ने अभियानमा लागेको बताउँदै प्रहरी नायव उपरीक्षक श्रेष्ठले भने, ‘अहिले प्रहरीको अप्रेसन चलिरहेकोले थप केही कुरा भन्न मिल्दैन ।’ 

विप्लवका कार्यकर्ताले झापा जिल्लामा श्रृंखलाबद्ध रूपमा बम विस्फोट गराउँदै आइरहेका छन्। उनीहरूले सहारा सहकारी, गौरदाह नगरपालिकाको गाडी, बिर्तामोड नगरपालिकाको संयुक्त वडा कार्यालयमा विस्फोट गराएका छन्। भद्रपुर नगरपालिका कार्यालय परिसरभित्र प्रेसर कुकर बम राखेर उनीहरूले आतङ्क मच्चाएका थिए ।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.