|

ओखलढुंगा : वर्षा र हिलाम्मे सडकका कारण यतिबेला ओखलढुंगा–रामपुर सडकमा हिँड्न समस्या भएको छ। सदरमुकामको रामाइलो डाँडादेखि रामपुरसम्मको १६ किमी सडक कालो पत्रे र रामपुर लप्सेफेदी ७.६२३ किमी ग्राभेल गर्ने भनिएको सडक ठेकेदारको लापरबाहीका कारण हिँड्न नसकिने अवस्थामा पुगेको हो।

सडकको ओखलढुंगा–सोब्रु खण्डमा ठेकेदारले जथाभावी खनेर छाडेको माटो बगेपछि सडक हिलाम्मे बनेको हो। सदरमुकामबाट पश्चिम जाने मूलसडक मात्रै नभई ओखलढुंगा सामुदायिक अस्पतालसमेत त्यही सडक भएर पुग्नुपर्ने भएपछि पैदल र मोटरसाइकल यात्रीलाईसमेत सास्ती भएको छ। कालोपत्रे गर्न खनेर छोडिएको माटो र गेगर वर्षाका कारण बगेर सडकमा थुप्रिएपछि यस्तो समस्या आएको हो।

सामान्य अवस्थामा ओखलढुंगा बजारदेखि सामुदायिक अस्पताल पुग्न पैदल यात्रामा २० मिनेटमा पुग्न सकिन्छ। यो सडकखण्ड पैदल र मोटरसाईकल सम्‍भव छैन। ठेकेदारले जथाभावी खनेर छाडेपछि आउने लेदोका कारण पैदल यात्रा गरेर अस्पताल पुग्नसमेत कठिन बनेको छ साथै अस्पतालमा बिरामी लिएर आएका एम्बुलेन्सलाई समेत घण्टौं हिलोमा फस्ने गरेको सिद्धिचरण नगरपालिका १२ का स्थानीय भोला कार्कीले बताए।

स्थानीयको ध्यानाकर्षण

बाटो फराकिलो बनाइए पनि लेदो र ढुंगाले सडक हिलाम्य बनेको छ। स्थानीयले अस्पताल जाने सडक सहज बनाउन नगरपालिकामा ध्यानाकर्षणसमेत गराएका छन्। २० मिनेटमा पुगिने ठाउँमा सर्वसाधारण एक हजार रुपैयाँसम्म तिरेर गाडी रिजर्ब गर्न बाध्य छन्।

तर राष्ट्रिय पुननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई अनुदान व्‍यस्थापन तथा स्थानीय पुर्वाधार ओखलढुंगाले भने वर्षाका कारण सडकलाई थप सुधार गर्न नसकेको स्वीकार गरेको छ।

समयमा पानी कटाउन नसकिएकाले सडक हिलाम्मे भएको जिल्ला आयोजना कार्यन्वयन इकाइ अनुदान व्‍यस्थापन तथा स्थानीय पूर्वाधार ओखलढुंगाका इन्जिनियर सरोज केसीले बताए। सडकलाई निरन्तर सुचारु गराउन स्काभेटर प्रयोग गरी सडक सफा गर्दै आएको भए पनि पर्याप्त नभएको उनको भनाइ छ।

ओखलढुंगा–रामपुर लप्सेखोला सडकखण्ड नेपाल सरकारको लागतमा भुकम्पपछिको योजना अन्तरगत गौरी पार्वती निमार्ण सेवाले ०७५ साल असार २७ गते सम्झौता गरेको थियो।

करिब २४ किलोमिटर सडकखण्ड मध्ये रामपुरसम्मको १६ किलोमिटर सडक कालोपत्रे र रामपुदेखी लप्सेखोलासम्मको ७.६२३ किलोमिटर ग्राभेल गर्ने गरी भ्याट बाहेक २६ करोड ५४ लाख ५१ हजार ४ सय २१ रुपौयामा १८ महिनाभित्र सक्नेगरी कम्पनीले ठेक्का लिईएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.