|

कपिलवस्तु : सभामुख कृष्णबहादुर महराले नेपालका सबै पार्टी आन्तरिक समस्यामा फस्दा जनतामा निराशा छाएको बताएका छन्।

जनताले दिएको म्यान्डेटलाई राजनीतिक दलले आत्मसात नगर्दा परिस्थिति प्रतिकूल बन्न पुगेको उनको भनाइ छ। कपिलवस्तु बहुमुखी क्याम्पसको ३९औँ स्थापना दिवस एवं शालिक अनावरण कार्यक्रममा मंगलबार संबोधन गर्दै सभामुख महराले जनतामा देखिएका निराशालाई उचित संवोधनका लागि उच्चस्तरीय संयन्त्र बनाउनुपर्ने धारणा राखे।

यस्तै, सभामुख महराले हरेक गतिविधि सञ्चालनमा संविधानको मर्मअनुसार अगाडि बढ्नुपर्ने आवश्यकता रहेको बताए। संघ, प्रदेश र स्थानीय तहमा उत्पन्न हुनसक्ने विमतिलाई सोहीअनुरूप हल गर्नुपर्नेमा उनको जोड थियो।

‘नीतिगत रूपमा केन्द्रीय सरकार जवाफदेही हुने, योजनागत पक्षमा बढी प्रदेश सरकार केन्द्रित हुने र कार्यक्रम कार्यान्वयनमा स्थानीय तह केन्द्रित हुने भन्ने ‘स्पिरिट’मा संविधान निर्माण भएको हो, कुनै देशको नक्कल गर्नुभन्दा आफ्नै मौलिकता र विशेषतामा संघीयता ल्याएका हौँ, संविधानको मर्म पनि त्यही हो,’ सभामुखले भने।

उनले संविधानमा ३ तहको अधिकारका विषयलाई नीतिगत रूपमा सम्बोधन गरिए पनि अझै ठोस रूपमा आउन बाँकी रहेकाले विधेयकलाई गम्भीरतापूर्वक छलफल गरी निष्कर्षमा पुग्नुपर्नेमा जोड दिए। हल्ला गरेर, पत्रपत्रिकामा छापेर विकास नहुने सभामुखको भनाइ छ।

कार्यक्रममा बोल्दै संघीय सांसद बृजेश कुमार गुप्ताले संबिधानको अभिभावकको भूमिकामा सभामुखले पहल गर्नुपर्ने बताए। पूर्वमन्त्रीसमेत रहेका गुप्ताले प्रदेशको राजधानी कपिलवस्तुलाई बनाउँदा कसैको विमती नआउने हुँदा यहि नै उचित निर्णय हुनेमा जोड दिए।

भारतका लागि नेपाली पूर्वराजदूत दीपकुमार उपाध्यायले मानवीय विकास सूचाकांकमा कपिलवस्तु पछि परिरहेको अवस्थामा यस्को निराकरणका लागि सबैको साथ एकजुट हुनुपर्ने धारणा राखे। क्याम्पसको आर्थिक पक्षको सबलताको लागि स्रोतको खोजी गर्नुपर्ने र शैक्षिक उन्न्यनका लागि सबै तहको सरकारले भुमिका बढाउनुपर्नेमा पुर्वमन्त्री समेत रहेका उपाध्यायले जोड दिए।

प्रदेश ५ का सामाजिक विकास समिति सभापति एवं सांसद दीर्घनारायण पाण्डेयले प्रदेश सरकारबाट शिक्षा क्षेत्रमा बिकासका लागि सहयोग गर्ने प्रतिबद्धाता जनाए। सांसद धर्मबहादुर लाल श्रीवास्तवले संघीयता कार्यान्वयन गर्न ट्राफिक जाम खुलाउनुपर्ने बताए। वर्तमान संविधानप्रति असन्तुष्ट देखिएका उनले संविधान संशोधन गर्नु पर्ने बताए। कपिलवस्तुका पर्यटकिय क्षेत्रहरुको विकास र सम्वर्द्धन गर्न सके आर्थिक रूपमा सवल हुने उनको तर्क छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.