|
Photo : Barcelona FC

मेसी २९ वर्षका भए। क्लब फुटबलमा उनले जित्‍न बाँकी केही छैन। उनका नाममा थुप्रै व्यक्तिगत कीर्तिमान छन्। उनले यस वर्ष ति कीर्तिमानहरुको सूचीमा ११ कीर्तिमान थप्‍न सक्नेछन्। यी हुन् मेसीले यस वर्ष बनाउन सक्ने १० रेकर्ड :

बार्सिलोनाबाट ५ सय गोल 

मेसी बार्सिलोनाका सर्वाधिक गोलकर्ता हुन्। उनले अहिलेसम्म बार्सिलोनाबाट सबैखाले प्रतियोगितामा गरेर कुल ४ सय ७६ गोल गरिसके। यस वर्ष उनले यो संख्यालाई ५ सय पुर्‍याउन सक्नेछन्।

१ सय च्याम्पियन्स लिग गोल 

मेसीले च्याम्पियन्स लिगमा यस सिजन समूह चरणमा मात्रै १० गोल गरेका छन्। उनले अहिलेसम्म च्याम्पियन्स लिगमा ९३ गोल गरेका छन्। बाँकी खेलमा ७ गोल गर्नसके यो संख्या १ सय पुग्‍नेछ। 

बार्सिलोनाका लागि ६ सय खेल 

सन् २०१६ समाप्ति हुँदा मेसीले बार्सिलोनाबाट ५ सय ५१ खेल खेलेका थिए। बार्सिलोनाबाट सर्वाधिक ५ सय ९३ खेल खेल्ने कीर्तिमान पूर्व डिफेन्डर कार्लोस पुयोलको नाममा छ। यस वर्ष मेसीले यो कीर्तिमान भंग गर्दै ६ सय खेल खेल्ने कीर्तिमान बनाउन सक्छन्। 

पाँचौ च्याम्पियन्स लिग उपाधि 

मेसीले बार्सिलोनाबाट ४ पटक च्याम्पियन्स लिग जितिसकेका छन्। उनले २००६,२००७,२०११ र २०१५ मा उपाधि जितेका थिए। यस वर्ष उपाधि जित्न सके मेसीको महानता अझै बढ्नेछ। 

युरोपको एकै टिमका लागि सर्वाधिक गोल 

पोर्चुगलका इयुसिबियोले बेन्फिकाका लागि ४ सय ७३ गोल गरेका थिए। मेसीले उनको कीर्तिमान भंग गर्दै बार्सिलोनाका लागि ४ सय ७६ गोल गरेका छन्। एकै टिमका लागि मेसीभन्दा धेरै गोल गर्ने कीर्तिमान विसिलर (ह्याम्बर्गका लागि ५ सय ७ गोल), जिम्मी म्याकगोरे (सेल्टिकका लागि ५ सय २२ गोल)  र गर्ड मुलर (बार्यन म्युनिखका लागि ५ सय २५ गोल) छ। यस वर्ष ५० गोल गर्नसके मेसीले गर्ड मुलरको कीर्तिमान भंग गर्दै बार्सिलोनाका लागि ५ सय २६ गोलको नयाँ युरोपेली कीर्तिमान बनाउन सक्छन्। 

लास पाल्मास विरुद्ध गोल 

लास पाल्मास बाहेक ला–लिगामा खेल्ने हरेक टोली विरुद्ध मेसीले गोल गरेका छन्। लास पाल्मास विरुद्ध गोल गर्ने अवसर उनलाई जनवरी १४ मा मिल्नेछ। 

विदेशी टोली विरुद्ध १ सय गोल 

मेसीले स्पेनबाहेक अन्य देशका टोली विरुद्ध अहिलेसम्म ९७ गोल गरिसकेका छन्। यस वर्ष उनले यो गोल संख्या १ सय पुर्‍याउन सक्छन्। बार्सिलोनाले च्याम्पियन्स लिगमा फ्रेन्‍च टोली पेरिस सेन्ट जर्माइन विरुद्ध फेब्रुअरी १८ र मार्च ८ मा प्रतिस्पर्धा गर्दा मेसीसामू यो कीर्तिमान बनाउने मौका जुर्नेछ। 

ला–लिगामा सर्वाधिक सुरुवाती गोल 

स्पेनिस ला–लिगामा सर्वाधिक धेरै सुरुआती गोल गर्ने कीर्तिमान हुगो सान्चेजका नाममा छ। उनले ७६ पटक सुरुआती गोल गरेका थिए। मेसीले ला–लिगामा ७१ पटक सुरुआती गोल गरिसकेका छन्। यस सिजन उनले ४ खेलमा सुरुआती गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए।

बार्सिलोनाबाट ४ सय जीत 

मेसीले बार्सिलोनाबाट ३ सय ९० खेल जितेका छन्। यस सिजन थप १० खेल जित्नसके उनी बार्सिलोनाको जर्सीमा ४ सय खेल जित्न सफल हुनेछन्। 

५ सय पटक बार्सिलोनाका सुरुवाती खेलाडी

मेसी वैकल्पिक खेलाडीका रुपमा मैदान छिरेका घटना निकै कम छन्। ५ सय ५१ खेल खेल्दासम्म उनी ४ सय ८४ खेलमा सुरुआती लाइनअपमा थिए। अब केवल १६ खेलमा सुरुआती लाइनअपमा पर्नुपर्छ, मेसी बार्सिलोनाबाट ५ सय खेलमा सुरुआती लाइनअपमा पर्ने खेलाडी बन्‍नेछन्। 

साभार : बार्सिलोना एफसी

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.