सिंहदरबारमा सुनाए बघिनी र डमरुको कथा

|

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारविरुद्ध सरकारले अब कडा कदम चाल्ने बताएका छन्। सिंहदरबारस्थित पुतली बगैँचामा संघीय संसदको नयाँ भवनकाे शिलान्यास कार्य्रकममा बोल्दै प्रधानमन्त्री ओलीले अब नबहकिएर विकास र समृद्धिमा लाग्‍नुपर्नेमा जाोड दिए।

'अब हामी बहकिनु हुन्‍न। राजनीतिक आन्दोलन सकिएको छ, अब विकास र समृद्धिमा अगाडि बढ्नुपर्छ', ओलीले भने, 'अब भ्रष्टाचारको विरोधमा जानुपर्ने हुन्छ। भ्रष्टाचारमा संलग्न कसैलाई पनि छोडिने छ‌ैन। सरकार भ्रष्टाचारप्रति शून्य सहनशीलता लिएर अघि बढ्छ। अब कडा कदम चाल्ने हो, भ्रष्टाचारी कसैले बच्छु भनेर नसोचे हुन्छ।'

पछिल्लो समय गणतन्त्रमाथि खतरा भएको हल्ला चलाइएको बताउँदै प्रधानमन्त्री ओलीले त्यस्तो भएमा सरकार चुप लागेर नबस्‍ने चेतावनी दिए। 'केही मान्छेहरू देशलाई प्रतिगमनमा  फर्काउन सकिन्छ कि भनेर लागेका छन्। जबसम्म डमरूमाथि खतरा हुन्‍न भन्ने लाग्छ तबसम्म बघिनी चुप बस्छ', उनले भने, 'त्यस्तै लोकतन्त्र र गणतन्त्रमाथि खतरा आयो भने सरकार चुप लागेर बस्दैन। त्यसका लागि तीव्र विकासलाई अगाडि बढाउँछौं।' उनले गणतन्त्रमाथि जोखिम भएमा सरकारले नियन्त्रणकारी भूमिका खेल्ने पनि बताए। 'यदि त्यस्तो भयो भने हामीले नियन्त्रणकारी भूमिका पनि खेल्नुपर्ने हुनसक्छ', उनले थपे, 'अब देशमा हिंसाको कुनै ठाउँ नै छैन। यो बिलकुल वितण्डाको बाटो मात्रै हो।'

देशले सबै राजनीतिक उपलब्धि गरिसकेकाले अब हिंसाको कुनै अर्थ नभएको उनले बताए। 'हिंसामा गएर के प्राप्ति गर्ने हो? संघीयता, आवधिक निर्वाचन, लोकतन्त्र, गणतन्त्र सबै प्राप्त भइसकेका छन्', ओलीले भने, 'हिंसा, लुटपाट र जनतालाई दु:ख दिने काम के ल्याउनका लागि हो? यो जनतालाई दुःख दिने काम सह्‍य हुँदैन।'

प्रधानमन्त्रीले हत्या हिंसा छाडेर देश विकासमा अघि बढ्नुपर्ने उनले बताए। 'कतिपयलाई चमडीको मायाले प्रतिबन्ध लगाउँदा किन यो गरेको भन्छन्, तर त्यो मानिँदैन', उनले भने, 'अब देश विकास र सुशासनको बाटोमा जान जरुरी छ। म यसका लागि सबैलाई आह्वान गर्छु। हिंसा र वितण्डा गर्छौ भन्‍ने हो भने सरकारले नियन्त्रण गर्नुपर्ने हुन्छ।'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.