मन्त्रालयको काममा बेवास्ता, छैन कुनै कार्ययोजना

|

काठमाडौं :  हेपाटाइटिस 'बी' नियन्त्रण गर्न सफल भएपछि विश्व स्वास्थ्य संगठनको बधाई कार्यक्रममा भाग लिन स्वास्थ्यमन्त्री उपेन्द्र यादव मन्त्रालयका उच्च अधिकारीसहित डेढ साताअघि नयाँदिल्ली पुगे। 

उनी दिल्ली यात्रामा रहँदा डेंगु देशभर फैलिँदै थियो। अहिलेसम्म डेंगु नियन्त्रणको कुनै योजना बनाउन नसकेका उनी स्वदेशमा हुँदा पनि मन्त्रालयमा कमै बस्छन्।

देशका ६५ जिल्लामा डेंगुको आतंक रहेका बेला मन्त्री यादवको घुमघाम अझै जारी छ। संसदमा डेंगु नियन्त्रण तर्फ गइसकेकाले चिन्ता गर्नुनपर्ने बताएका उनी बुधबार १६ जना सांसदको घेराबन्दीमा परे। उनीहरूले प्रतिनिधसभाको बैठकमा यादवको काम घुम्ने मात्रै भएको बताउँदै विदेशतिरै घुमिरहन सुझाव दिए। 

मन्त्री यादव सांसदहरूको आलोचनाको प्रवाह नगरी त्यही राति अमेरिका उडे। विश्व स्वास्थ्य संगठनको कार्यक्रमा भाग लिन भन्दै उनी दुई हप्ताका लागि अमेरिका पुगेका हुन्।

नेपालमा रहँदा पनि उनको उपस्थिति मन्त्रालयमा कमै हुने गर्छ। धेरै समय उनी तराई-मधेसतिरै डुलिरहन्छन्। स्वास्थ्यको काममा उनले खासै ध्यान नदिने मन्त्रालयका कर्मचारी नै बताउँछन्।

 कि विदेशतिर कि मधेसतिर

यादवले मन्त्रालयको ठूला नियुक्ति आफूले नै गर्छन्। तर मन्त्रालयको बाँकी जिम्मेवारी राज्यमन्त्री डा. सुरेन्द्र यादवलाई दिँदै आएका मन्त्रालयले स्रोतले बतायो। स्रोत भन्छ, ‘उहाँलाई मन्त्रालयको काममा खासै चासो छैन। झट्ट हेर्दा उहाँले मन्त्रालयको धेरै जिम्मेवारी राज्यमन्त्रीलाई दिनुभएको जस्तो देखिन्छ।'

उसो त यादवले मन्त्रालयको कार्यभार सम्हालेको एक वर्षभन्दा बढी भइसकेको छ। आफ्ना विश्वासप्राप्त यादवलाई राज्यमन्त्रीमा ल्याएपछि उनको ध्यान विदेश मोहमा गएको हो।

अहिले मन्त्री यादव महिनाको एकदेखि तीन पटकसम्म  कार्यक्रमका लागि भन्दै विदेश जाने श्रृंखला रोकिएको छैन। यस अवधिमा उनले झण्डै दुई दर्जनपटक विभिन्न देशको परिक्रमा गर्न भ्याइसकेका छन्। 

अमेरिका पुगेका स्वास्थ्यमन्त्री यादव

स्वास्थ्य क्षेत्रको अवस्था कमजोर हुँदा पनि मन्त्री यादवको घुमघामको गति रोकिने गुन्जायस छैन। मन्त्रीको यही कार्यशैलीले स्वास्थ्य क्षेत्रमा ठूलै क्षति हुने स्वास्थ्यकै कर्मचारीहरू बताउँछन्। 

गत वर्ष जेठमा मन्त्रालय सम्हालेका मन्त्री यादव दुई महिनापछि साउन ९ गते थाइल्याण्डको महिडोल विश्वविद्यालयको कार्यक्रममा सहभागी हुन पुगेका थिए। त्यसयता उनको विदेश भ्रमणको मोह झन् झन् बढ्दै गएको छ। उनको विदेश यात्रा महिनाको तीन पटकसम्म हुने गरेको छ। 

कर्मचारीको ठाउँमा छोरो

यादवले गत वर्ष नै संयुक्त राष्ट्र संघकै कार्यक्रमा जाने तयारी गरेका थिए। तर अन्तिम समयमा उक्त कार्यक्रम रोकिएको थियो। अमेरिकामा भएको क्षयरोगसम्बन्धी उक्त कार्यक्रममा छोरालाईसमेत लिएर जान खोज्दा दुवैको भिसा लागेको थिएन। त्यहीँकारणा मन्त्री यादव रोकिएका थिए।

तर अहिले भने उनी स्वकीय सचिवसमेत रहेका छोरा अमरेन्द्र यादवसहित अमेरिका उडेका हुन्। करिब दुई हप्तासम्म मन्त्री यादव अमेरिकामै घुम्ने छन्। स्वास्थ्य मन्त्रालय स्रोतले पनि मन्त्री यादव २ साता अमेरिकामै रहने जनाएको छ। 

स्वास्थ्य मन्त्रालयका विदेशमा हुने कार्यक्रमलाई महत्वपूर्ण मानिन्छ। अझ संयुक्त राष्ट्रसंघ तथा विश्व स्वास्थ्य संगठनको कार्यक्रममा सहभागितालाई महत्वपूर्ण रूपमा हेर्ने गरिन्छ।

ती कार्यक्रममा हरेक वर्ष मन्त्रालयका नीति निमार्ण तथा अन्तर्राष्ट्रिय समन्वय माहाशाखा र मन्त्रालयका उच्च अधिकारीसहित गएर आफ्नो देशका स्वास्थ्य प्रगति तथा चुनौतीहरू प्रस्तुत गर्ने गरिन्छ।

तर यसपटक भने मन्त्री यादवले मन्त्रालयका अधिकारी लैजानुपर्ने ठाउँमा छोरो लगेका हुन्। मन्त्रीसँग स्वास्थ्य सचिव डा. पुष्पा चौधरी पनि गएकी छन्। मन्त्रालयका अधिकारीले भने, ‘राष्ट्रसंघको कार्यक्रममा सकभर मन्त्रालयकै नीति निमार्ण तहका कर्मचारी लगेको भए स्वास्थ्य क्षेत्रको लागि राम्रो हुन्थ्यो।'

मन्त्री यादवले कार्यक्रमको महत्त्व नबुझी मन्त्री नै विदेश जान मरिहत्ते गरिरहेका छन्। मन्त्री नै धेरै समय विदेशमा व्यस्त रहँदा मन्त्रालयको काममा ध्यान दिन नसकेको कर्मचारीहरूले बताउँदै आएका छन्। लामो समयसम्म स्वास्थ्यको समायोजन लथालिङ्ग छ। देशको ६५ भन्दा बढी जिल्लामा डेंगुले महामारीको रुप लिँदा मन्त्री यादव भने जाडो बढेकाले अब डेंगु हट्ने जवाफ संसदमा दिएर विदेश उडेका हुन्। उनले डेंगु नियन्त्रणका लागि अहिलेसम्म कुनै कार्ययोजना पेस गर्न सकेका छैनन्।

मन्त्रालयका एक अधिकारीले भने, 'विदेशबाट आउने सम्पूर्ण निमन्त्रणा मन्त्रीकै लागि हुने गर्छ। कार्यक्रमको गम्भीरता र महत्त्व हेरेर कर्मचारी र राज्यमन्त्रीलाई पठाउँदा केही हुँदैन। तर कर्मचारी जानुपर्ने कार्यक्रमका पनि उहाँ कुदिरहनु भएको छ। यसले मन्त्रालयका सबै काम प्रभावित भएका छन्।'

यतिबेला फाजिल कर्मचारीको व्यवस्थापन, स्वास्थ्यको अर्गानोग्राम फाइनल, डेंगु नियन्त्रणका लागि सरकारी रणनीति निर्माणका काम अलपत्र छ। तर मन्त्री यादवको प्राथमिकता यिनमा भन्दा विदेश भ्रमणमै देखिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.