|

सुर्खेत : कर्णाली प्रदेश सरकारले विपद्‍को जोखिमविरुद्ध सामूहिक दुर्घटना बीमा कार्यक्रम बुधबारदेखि लागू भएको छ। प्रदेश सरकारले हरेक नागरिकको लागि विपद् बीमा कार्यक्रमको शुरुवात गरेको हो। बीमा कार्यक्रमको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव वीरेन्द्रकुमार यादव र राष्ट्रिय बीमा कम्पनी लिमिटेडका प्रमुख डिल्लीराज अर्यालले सहमति पत्रमा हस्ताक्षर गरेका छन्।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्वारा कार्यान्वयनमा ल्याइएको बीमा कार्यक्रमअन्तर्गत कर्णालीका हरेक नागरिकले १ लाख रुपैयाँको निःशुल्क बीमा सुविधा प्राप्त गर्नेछन्। यस्तै, विपद् दुर्घटनाका कारण घरमा क्षति पुगेमा प्रतिघर ५ लाख रुपैयाँको बीमा सुविधा प्राप्त गर्ने  सरकारले व्यवस्था गरेको छ।

बीमा कार्यक्रमका लागि सरकारले चालु आवमा १ करोड ५० लाख रुपैयाँ विनियोजन गरेको छ। सामूहिक रूपमा गरिने बिमाको प्रिमिएमबापत कर्णाली प्रदेशको कुल जनसंख्या १७ लाख ७० हजार मानेर प्रतिव्यक्ति सात रुपैयाँका दरले हुन आउने रकम आन्तरिक मामिला तथा कानुन मन्त्रालयले बीमा कम्पनीलाई भुक्तानी गर्नेछ।

यसैबीच कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राज्यले प्रदान गर्ने सबै खालका सेवासुविधा हरेक नागरिकले सरल रूपमा प्राप्त गर्नुपर्ने बताएका छन्। उनले सबै कर्णालीवासीका लागि विपद् दुर्घटना बीमा कार्यक्रमको शुभारम्भ गर्दै मुख्यमन्त्री शाहीले राज्यले दिने सबै प्रकारका सेवासुविधा सरलरूपमा जनतासम्म पुर्‍याउनु सरकारको दायित्व भएको बताए।

मुख्यमन्त्री शाहीले विपदको उच्च जोखिममा रहेको कर्णालीका नागरिकले हरेक वर्ष ठूलो संख्यामा ज्यान गुमाउनु पर्ने अवस्थालाई हेरेर सरकारले राहतस्वरूप बीमा कार्यक्रम सुरु गरेको बताए। उनले बीमा रकम हेर्दा सानो देखिए पनि यो कार्यक्रमले कर्णालीका नागरिकमा दुःखको बेला सरकार आफ्नो साथमा रहेको अनुभूति गराउने विश्वास व्यक्त गरे।

स्वास्थ्य बीमाको प्रभावकारिताका बारेमा जनताका धेरै गुनासा आएको भन्दै मुख्यमन्त्री शाहीले जनगुनासो नआउने गरि यो कार्यक्रम प्रभावकारी रूपमा संचालन गर्नसमेत आग्रह गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.