साहित्य

नाम बेचेर व्यापारी हुन चाहिनँ

असोज १, २०७६

    काठमाडौं :   लामो समय शिक्षण पेशा र साहित्य सिर्जना गरिरहेका लेखक तथा समालोचक शैलेन्द्र अधिकारी आख्यानकारका रूपमा पाठक माझ आउदैछन्।

    आख्यान 'निर्वेद' आउँदो शनिबार सार्वजनिक हुँदै छ। आख्यानकोको कभर केही दिन अघि सार्वजनिक भइसकेको छ।। उक्त आख्यानमा विशेष गरेर युवा जोगीको कथामा आधारित रहेको स्वंय लेखकले बताइसकेका छन्। समालोचना क्षेत्रमा उनको कलम चल्छ। साथसाथै गजल लेखनमा पनि उनी लामो समय सक्रिय रहे। आख्यानमा उनको प्रयोग, लेखन  विषयवस्तुबारे थाहाखबरकर्मी राजु पौडेलले गरेको कुराकानी :

    तपाईंका अनुसार आख्यानको विशेष धर्म के हो ?

    सैद्धान्तिक रुपमा भन्ने हो आख्यानको विशेष धर्म कथानक हो। आफूले दिन खोजेको कुरा के हो भन्ने कुरा नै कथानकले स्पष्ट पादर्छ। कृति सफल र असफल पनि कथानकले गर्दा नै हुने हो।

    नेपाली आख्यान क्षेत्रमा निर्वेदले कस्तो यात्रा तय गर्ला ? नेपाली आख्यानको भूमरी बिचमै रहन्छ कि पृथक?

    नेपाली आख्यानको क्षेत्रमा निर्वेदले गर्ने यात्रा त पाठकको हातमा निर्भर गदर्छ। लेखकले त लामो यात्रा तय गर्छ भन्ने आत्मविश्वाले नै लेख्ने हो। नत्र किन लेख्नु ? निर्वेदमा मैले विषयवस्तुका हिसावले नयाँ विषय प्रस्तुत गरेको छु। पाठकहरुले नयाँ स्वाद थाहा पाउनु हुनेछ। तर यस उपन्यासको भविष्य त पाठकको हातमा छ। पाठकहरु सचेत छन्। उनीहरु सुन र सुनजस्तै देखिने पहेलो छुट्याउन सक्षम छन्।

    निर्वेद उपन्यासमा पाठकले कस्तो स्वाद चाख्न पाउलान् ?

    मैले कथानकको हिसाबले नेपाली उपन्यासमा नलेखिएको विषय यहाँ प्रस्तुत गरेको छु । जे होस् पाठकले नयाँ स्वादको उपन्यास पढ्न पाउनुहनेछ।

    निर्वेद शीर्षकको सार्थकता उपन्यासमा कसरी गर्नुभएको छ?

    मैले शीर्षक राखेर उपन्यास लेखेको होइन। लेखिसकेपछि यस कथाको लागि यो शीर्षक सबैभन्दा उपयुक्त होला भन्ने लागेको हो। कथा अनुसार शीर्षक सार्थक छ भन्ने मलाई लाग्छ।

    यस अघि पाठकले तपाईका कुनै पनि कथा वा आर्टिकल पढ्न पाएका छैनन्। तपाईको लेखनसँग पाठक अभ्यस्त छैनन्। तपाईको लेखनप्रति पाठकले विश्वास गर्ने आधार खडा गर्न किन डराउनुभयो?  डर पाठकसँग हो कि आफ्नो लेखनसँग?

    नेपाली साहित्य अहिले एकदमै प्रचारमुखि छ। प्रचार गरेर जसरी भएपनि बजारमा बिक्ने। त्यसका लागि साम, दाम, दण्ड, भेद सबै प्रयोग गर्ने। मैले यसो गर्न सक्दिन। जे लेखे पनि कुनै न कुनै त एकपटक पहिलो हुन्छ नै।  हो मैले कथा, आटिृकल लेखेको भए पाठकलाई मेरो शैलीको बारेमा थोरै थाहा हुन्थ्यो। त्यसो हुन सकेन। म बजारमा नामले किताब बेच्ने व्यापारी हुन चाहिन। विषय मन पर्‍यो भने आर्टिकल पत्रिकामा नछापिनुले खासै असर पर्दैन। मलाई डर भन्दा पनि आफ्नो लेखनप्रति विश्वास भने छ।

    तपाई त पुस्तक समालोचनामा पनि देखिनुहुन्छ। एउटा समालोचकलाई पुस्तक लेख्दा समालोचकिय दृष्टिबाट कति सहज वा असहज हुने रहेछ?

    हो म समालोचना पनि गर्छु। यो प्राज्ञिक कार्य हो र मेरो रुचिको विषय पनि हो। तर समालोचकलाई उपन्यास लेख्दा त्यस्तो सहज वा असहज अनुभव भने नहुने रहेछ। विधा नै फरक भएकोले होला, खासै असहज अनुभव भएन।

    लामो समयदेखि शिक्षण पेसामा हुनुहुन्छ । तपाई त युवाहरुलाई उज्यालो भविष्यतर्फ लाग्न अभिप्रेरित गर्ने मान्छे। तर निर्वेद एउटा युवा जोगीको यात्राको उपन्यास हो । हमफ्नो पेशा र लेखनका बिचमा तारतम्य मिलाउन नसक्नु भएको हो?

    समाजमा मान्छेको विभिन्न भूमिका र स्वरुप हुन्छ। एउटै मान्छे घरमा छोरो र ससुरालीमा ज्वाई हुन्छ। घरको र ससुरालीको भूमिका त फरक नै हुन्छ नि। मेरो कुरा यही हो। कक्षाकोठामा म विद्यार्थीलाई सुनौलो जीवनको यात्राको मार्गदर्शक बन्ने कोशिस गर्छु। तर कक्षाकोठाबाट बाहिर म लेखक हुँ। लागेको कुरा लेख्छु।

    लेख्नुपर्ने कुरा लेख्छु। म मेरो लेखकीय व्यक्तित्व बोकेर कक्षाकोठामा जान्नँ र लेख्दा शिक्षक हुँ भन्ने सोचेर पनि लेख्दिनँ। मेरा लागि यी दुई भिन्न भिन्न पाटा हुन्।

    एउटा मान्छे आफ्नो जीवनको लयमा बाँच्नु र साहित्य लेखनको लयमा बाँच्नु साँच्चै फरक रहेछ?

    हो त। मलाई कति पटक पशुपतिका बाबाहरुसँग बसेर आएपछि म पनि जोगी हुन पाए हुन्थ्यो भन्ने विचार आएको छ। पात्रहरुसँग हिड्दा कहिलेकाहीँ आफू आफ्नै परिचय विर्सेर हिँडिने रहेछ।

    कुन तत्व र फ्याक्टरले युवा जोगीको कथा लेख्न प्रेरित गर्‍यो ?

    अरुले लेखिसकेको कथा मैले लेखेर के काम? मलाई यो विषयमा अरु कसैले लेखिदिए हुन्थ्यो भन्ने लाग्थ्यो। कसैले लेखेनन् र मैले लेखेँ।

    उपन्यासमा घाट, चिता, मृत्यु, नैराश्य जीवनका तमाम विषय छन्। उर्जाशील जीवनमा यति धेरै नैराश्यता?

    होइन, उपन्यास त अँध्यारोबाट उज्यालो तर्फको यात्राको कथा हो। कथामा यी तमाम विषय आएका छन्, तर यो कथानकको माग हो। तर उपन्यास निराशावादी भने होइन कि।

    साहित्य लेखन रहरको विषय रहेछ कि चेतनाको ?

    साहित्य लेखन हिजोपनि, आजपनि र भोलिपनि चेतनाको उपज हो र रहनुपर्छ।

राजु पौडेल

पत्रकार पौडेल थाहा खबरमा कार्यरत छन्। उनी साहित्य तथा फिचर लेखनमा रुचि राख्छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]