|

जापानको निर्यात अघिल्लो वर्षको तुलनामा गत अगष्ट महिनामा १२ प्रतिशतले घटेको छ। संयुक्तराज्य अमेरिका र चीनबीच जारी व्यापार तनाब र करवृद्धिका कारण जापानको निर्यात प्रभावित भएको विश्लेषकहरूले बताएका छन्।

जापानी सामानको प्रमुख बजार चीन र अमेरिका नै रहेकाले पनि जापानको निर्यातमा असर परेको हो। जापानका मेसिनरी, सवारी साधन र केमिकल सबैको निर्यात घटेको छ।

गत अगष्ट महिनामा जापानको आयात पनि घटेको पाइएको छ। आयातमा भएको गिरावट विगत तीन वर्षकै सबैभन्दा बढी हो। जापानमै पनि बजारमा सामानको मागमा मन्दी छाएको छ। अमेरिकातर्फको शिपिङ व्यवसाय ४ प्रतिशतले घटेको छ भने चीनतर्फको शिपिङमा १२ प्रतिशतले कमी आएको छ।

समग्रमा, निर्यात र आयातमा ६ प्रतिशतले कमी आएको जापानको भन्सार विभागले जनाएको छ। अगष्ट महिनामा संयुक्तराज्य अमेरिकातर्फ जापानको निकासी ४ अर्ब ३७ करोड अमेरिकी डलर रहेको छ जबकी निर्यातभन्दा आयात अझ घटेको छ। व्यापारिक तनाबबीच आयातभन्दा निर्यात नै बढी भएको भन्दै जापानको अर्थ मन्त्रालयले खुशी व्यक्त गरेको छ।

जापानी व्यवसायको पछिल्लो सर्वेक्षणमा सन् २०११ को भूकम्प र सुनामीपछि जापानको अर्थतन्त्रमा यतिठूलो प्रभाव देखिएको यो पहिलोपटक रहेको उल्लेख छ।

गत महिना जापान र संयुक्तराज्य अमेरिकाबीच व्यापार सम्झौतामा सहमति भए पनि अन्तिम सम्झौता हुन अझै बाँकी छ। विश्वका प्रमुख औद्योगिक राष्ट्रको समूह (जी–७)को बैठकका क्रममा दुबै मुलुकका नेताबीच फ्रान्समा वार्ता हुनुअघि नै यस्तो सहमति भएको समाचार सार्वजनिक भएको थियो।

अमेरिकासँगको व्यापार वार्ताको जिम्मेवारी सम्हालेका जापानका अर्थमन्त्री तोशिमिचु मोटेगीले संवाददातासँग वासिङ्टनमा संक्षिप्त प्रतिक्रिया दिँदै वार्तामा ठूलो प्रगति भएको बताए। मन्त्री मोटेगीको जापानी प्रतिनिधिमण्डल र अमेरिकी व्यापार प्रतिनिधि रोबर्ट लाइटिजरबीच तीन दिन व्यापार वार्ता भएको थियो।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र जापानी प्रधानमन्त्री शिन्जो आबेबीच निकै सुमधुर सम्बन्ध रहेको छ तर राष्ट्रपति ट्रम्पले जापानमाथि द्विपक्षीय व्यापारमा अमेरिकाबाट अनपेक्षित लाभ पाइरहेको आरोप लगाउँदै आएका छन्। उनले दुवै मुलुकबीचको व्यापार सम्बन्धलाई बढी समावेशी बनाउनुपर्नेमा जोड दिइरहेका छन्।

लाइटिजर र मोटेगी दुबैबीच जापानले अमेरिकी कृषिजन्य वस्तुमाथि लाग्दै आएको करलाई ट्रान्स–प्यासिफिक पार्टनरसिप (टिपिपी) सम्झौता बमोजिम अरु देश सरह बनाउन सहमति भएको छ। साथै जापानले अमेरिकाबाट आयात हुने मासुजन्य वस्तुको कर घटाउने तथा दुधजन्य वस्तुमा लागिआएको कोटा नराख्ने सहमति भएको जापानी प्रसारण संस्था एनएचकेले जनाएको छ।

जापानले यसअघि टिपिपी सम्झौता बमोजिम कृषिजन्य वस्तुका सन्दर्भमा अरु मुलुक सरहको व्यवहार गर्ने वचन दिँदै आएको छ।

पछिल्लो सहमतिमा अमेरिकाले जापानी औद्योगिक वस्तुमाथि अतिरिक्त कर नलगाउने जनाएको छ। तर जापानलाई टाउको दुखाई भएको जापानी सवारी साधनमाथि लाग्ने अमेरिकी करहरुका बारेमा भने अद्यापी कुनै सहमति भएको छैन।

दुवै मुलुकबीच अन्तिम सम्झौता अगामी सेप्टेम्बर महिनाको अन्त्यसम्ममा हुने जापानी अखबारहरुले जनाएका छन्।

यसैबीच एएफपीका अनुसार जापानको प्रमुख शेयर बजार निक्की २२५ सूचक बुधबार केही घटेको छ। विगत १० दिनदेखि सामान्य वृद्धि हुँदै आएको शेयर बजार बुधबार ०.१८ बिन्दुले घटेर २१ हजार ९६०.७१ मा बन्द भएको छ। टोपिक्स पनि ७.९६ बिन्दुले घटेर १ हजार ६०६.६२ मा बन्द भएको छ।

साउदी अरेबियाको तेल कारखानामा भएको आक्रमणका कारण तेलमा मूल्यवृद्धि भएपछि टोकियो शेयर बजारमा असर परेको अनुमान गरिएको छ।

लगानीकर्ताहरू अमेरिकी केन्द्रीय बैंकको नीति घोषणाका बारेमा पनि सावधानीपूर्वक प्रतिक्षा गरिरहेका छन्। जानकारहरू केन्द्रीय बैंकले ब्याजदर कटौती गर्ने अपेक्षामा छन्। अमेरिकी केन्द्रीय बैंकले मंगलबार नगद अभाव रहेको भन्दै अर्बौं डलर वित्तीय बजारका लागि उपलब्ध गराएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.