|

बैतडी : विजय उत्सवको रुपमा मनाइने बूढी पोल्ने पर्व बैतडीलगायत सुदूरपश्चिमभरी बुधबार मनाइएको छ।

विजय उत्सवको रूपमा मनाइने यो पर्वमा बूढी अर्थात् राक्षसी पुतनालाई पोल्ने गरिन्छ। परम्परागत किंवदन्तीअनुसार भगवान् कृष्णले राक्षसी प्रवृतिकी पुतनालाई मारेपछि उनका साथी ग्वाला (गोठाला) हरूले पुतनाको शव दहन गरेको कथन रहेको पण्डित दयाकृष्ण पन्तले बताए।

द्वापर युगमा विशाक्त दूध सेवन गराई बालबालिकाको ज्यान लिने गरेकी राक्षसी पुतनालाई भगवान् कृष्ण दूध चुसी मारेको र उनी बाँचेको खुशीयालीमा असोज संक्रान्तिका दिन यो पर्व मनाइने गरिएको पण्डित पन्तको  भनाइ छ। सुदूरपश्चिममा भाद्र संक्रान्तिका दिन गाडिएको सल्लाको वा अन्य बोट विरुवाको लिंगोमा बुधबार साँझपख बूढी पोलिने र सोही ठाउँमा काक्रा खाँदै लुतो बाँड्ने प्रचलन छ।

ओल्के संक्रान्तिका दिन गोठालाले बूढीको प्रतीमा राखेपछि दैनिक त्यसमा रूखका हाँगा थप्ने गर्छन्। दैनिक थप्दा केही स्थानमा निकै ठूलो बूढी बन्ने गर्छन्। गोठालाले बाँझा जग्गा र दोबाटामा सल्ला, बाँज, खर्सुलगायत रूखबाट निर्मित बूढीको पुतनालाई साँझपख जलाउने गरिन्छ। दोबाटोमा जलाएको पुतना राक्षसनीको आकृतिबाट जलेको खरानीको तिलक गाईलाई लगाउने चलन पनि रहेको छ। यसो गरेमा पशु चौपायमा कुनै रोग नलाग्ने धार्मिक जनविश्वास रहेको छ।

ओल्के संक्रान्तिका दिन गाउँनजिकका अलिक उच्चो टाकुरामा सबै गाउँले मिलेर रूखका हांगाबिंगा, झ्याङ तथा अन्य बोटबिरुवा काटेर एक ठाउँमा थुप्रो बनाइन्छ। यो थुप्रोलाइ स्थानीय भाषामा “बूढी हालेको’’ भन्ने गरिएको छ। यो बूढीलाई नै आज असोज संक्रान्तिका साँझ प्रत्येक घर घरबाट आगोको राँको एकैपटक निकाली एकैसाथ पोलेर ’बूढी पोल्ने’ पर्व मनाउने परम्परा रहेको छ।

पुतनाको स्वरुपमा तयार गरी सिंगारिएको बाबियोलाई आज बिहान गोठबाट निकालेर दिनभरी घाममा सुकाइ साँझ दोबाटोमा लगेर जलाउने गरिन्छ। साँझपख काँक्रो चपाएर जलेको पुतनामा फाल्दै जोडले थुई बूढी थुई भन्ने गर्छन्। त्यस्तै, बूढी पोलेर घर फकिर्ने क्रममा बाटो–बाटोमा बलेको दियो पनि गाड्दै जाने प्रचलन छ।

  अघिल्लो समाचार

पछिल्लो समाचार  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.