|

ओहदाको प्रमाणपत्र बुझाउन गतसाता नेपाल आएका बेलारुसी राजदूत एन्द्रेइ रेयुस्कीले आफ्नो नेपाल बसाइलाई औपचारिक भेटघाटमा मात्रै सीमित राखेनन्। राष्ट्रपति विद्यादेवी भण्डारीलाई ओहदाको प्रमाणपत्र पनि बुझाए। परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग भेटवार्ता गरे। त्यसबाहेक विभिन्न क्षेत्रका व्यवसायीसँग नेपाल–बेलारुस सहकार्यको सम्भाव्यताबारे छलफल गरे।

नवनियुक्त राजदूत रेयुस्की भारतको नयाँ दिल्लीलाई मुकाम बनाएर बेलारुसका लागि नेपाल मामिला पनि हेर्छन्। पहिलोपटक नेपाल आएका उनले थाहाखबरसँग भने, ‘अत्यन्तै मैत्रीपूर्ण बैठकहरुले नेपाललाई गहिरो गरी बुझ्न सघाए। मैले नेपालको सामाजिक-आर्थिक विकास तथा यहाँको ऐतिहासिक तथा साँस्कृतिक सन्दर्भहलाई पनि बुझ्न पाएँ।’

छोटो बसाइको सदुपयोग गर्दै मकवानपुरको हेटौंडासमेत पुगेका उनले त्यहाँ पनि स्थानीय व्यसायीसँग अन्तरक्रिया गरे। राजदूत रेयुस्कीले भने, ‘बेलारुस र नेपालबीच प्रशस्त भौगोलिक दुरी छ, तर सम्भावनाका क्षेत्र पनि प्रशस्तै छन्। सहकार्य बढाउँदै दुरी घटाउन सकिन्छ।’

राजदूत रेयुस्कीसँग गरिएको कुराकानीको सारसंक्षेप:

नेपाल कस्तो पाउनुभयो? नेपाल आगमनको पहिलो अनुभव कस्तो रह्यो?

प्राकृतिक सुन्दरता, उच्च हिमश्रृंखलाहरु र हरियाली तथा स्वच्छ हावापानीका लागि प्रसिद्ध यो सुन्दर देशमा म पहिलोपटक आएको हुँ। राजधानी काठमाडौं मैले अपेक्षा गरेभन्दा राम्रो पाएँ। नेपालमा पाइला राख्दै गर्दा एक किसिमको सकारात्मक वातावरण अनुभव गरेँ। आनन्ददायक हावापानी, सुन्दर हिमश्रृंखला, थरीथरीका वनस्पति, ठिक्कको तापक्रम र उघ्रिएको आकास। अलिअलि बादल लाग्दा वा हल्का वर्षा हुँदा पनि खासै फरक पर्दोरहेनछ।

नेपालको के कुराले मन छोयो या प्रभावित हुनुभयो?

नेपालीहरु मन पर्‍यो, नेपालीहरुमा मैले अत्यन्तै मैत्री भावना पाएँ। व्यवहार राम्रो, वचनका पनि पक्का। हँसिला मान्छेहरु त्यसै पनि राम्रा हुन्छन्। त्यसबाहेक, मलाई काठमाडौं पनि असाध्यै मन पर्‍यो।

काठमाडौंलाई अझै सुन्दर पार्न, सुधार्नुपर्ने कुरा पनि केही देख्नुभयो?

हस्तकलाका सामग्री बेच्‍ने पसलहरु, विभिन्न स्मारकहरु, साँघुरा सडक तथा यहाँका ऐतिहासिकता झल्काउने प्राचीन प्यागोडाहरु देख्न पाउँदा म पुलकित भएँ। काठमाडौंका कतिपय ऐतिहासिक धरोहर पुन:र्निर्माण गरिँदै रहेछ। ती सम्पदाहरुलाई पुरानै रुप दिन धेरै लगानी गरिएको पाएँ। हुन पनि पर्यटकहरु यहाँ स्वच्छ हावा खान र हिमालका दृष्यपानका लागि मात्रै आउँदैनन्, नेपालका ऐतिहासिक मूल्यमान्यता र साँस्कृति परम्पराले पनि उनीहरुलाई खिच्छ।

नेपाल र बेलारुसबीच कुनै समानता छ?

यी दुई देश प्रकृति र हावापानीका हिसाबले उस्तैउस्तै छन्। मैले सबैभन्दा अधिक ख्याल गरेको कुराचाहिँ विविध वनस्पतिहरुद्वारा सृजित हरियाली, नदीनाला र जलसम्पदा हो। तैपनि बेलारुसचाहिँ नेपालका पहाडपर्वतको ठीक विपरित, समथर भूभागयुक्त छ। दुई देशका नागरिकमा भने समानता देखेँ, उस्तै मिलनसार र उस्तै सरल।

नेपाल र बेलारुसको सम्बन्ध कसरी अझै घनिभूत पार्न सकिएला?

निकै वर्षदेखि नेपाल र बेलारुसले मानवीय भावनामा आधारित मैत्री सम्बन्ध निर्वाह गर्दै आएका छन्। कतिपय मुद्दामा संयुक्त राष्ट्रसंघमा हामी एकैठाउँमा उभिएका छौं, असंलग्न आन्दोलनमा पनि सँगै छौं। हामी दुवै राष्ट्र साना देशको हकहितसहितको विश्व–व्यवस्थाको पक्षपाती हौं। जसमा अहस्तक्षेप, निशस्त्रीकरण, आतंकवादको उन्मुलन, समानता र पारस्परिक हितका आधारमा वैश्विक सहकार्य र विश्व शान्तिका पक्षमा सँगै उभिँदै आएका छौं। मेरो विचारमा बेलारुस र नेपालबीचको घनीभूत सहकार्यलाई हाम्रा यिनै समान दृष्टिकोणले भविष्यमा पनि निर्देशित गर्नेछन्।

हामीले जानेअनुसार, उन्नत मेसिनरी औजार तथा पूर्वाधार विकासको क्षेत्रमा बेलारुसले निकै ठूलो फड्को मारेको छ। यहाँहरुले हासिल गरेको उपलब्धिबाट नेपाल कसरी लाभान्वित हुनसक्ला?

बेलारुसले स्वतन्त्रता प्राप्तीपूर्व विकसित औद्योगिक सामर्थ्यको संरक्षणमात्रै गरेको छैन, विकास पनि गरेको छ। हामी खासगरी ट्रक, बस, ट्र्याक्ट्रर, यातायात पूर्वाधारको विकासमा प्रयोग हुने यन्त्र–उपकरण आदिको उत्पादन तथा विकासमा केन्द्रित छौं। माइनिङ डम्प ट्रकको निर्माणमा हामीले विश्व बजारको तेस्रो स्थान ओगटिरहेको जानकारी दिन पाउँदा मलाई गौरव लाग्छ। त्यसबाहेक माइनिङ औजारको निर्माणमा हामी अग्रस्थानमा छौं।

पारस्परिक हितलाई लक्षित गरी त्यस्ता यन्त्र–उपकरण नेपाललाई उपलब्ध गराउन हामी तयार छौं। त्यसका लागि हामीले दुवै देशको लाभ सुरक्षित हुने किसिममा सहकार्यका उपाय खोज्नुपर्दछ। त्यसो भएको खण्डमा बेलारुसले नेपाललाई प्रविधि र सीपको हस्तान्तरण गर्नसक्छ। तालिमका लागि विज्ञहरुलाई नेपाल झिकाउन सक्छ।

त्यसो त नेपाल अल्पविकसित देश हो, तर भनिन्छ, आधुनिक विकासका लागि नेपाल सामर्थ्यवान् छ। प्राकृतिक स्रोतसाधन तथा साँस्कृतिक सम्पदामात्रै छैनन्, नेपाल खनिज, जलसम्पदा र जडिबुटीका दृष्टिले पनि धनी छ। नेपालले यी सम्पदाबाट कसरी लाभ उठाउन सक्छ? बेलारुसको अनुभवलाई मध्यनजर गर्दै तपाईं के भन्नुहुन्छ?

नेपालले राजनीतिक अस्थिरतामा लामो कालखण्ड गुजार्‍यो। तर आज त्यस्तो स्थिति छैन। नेपाल सरकार यहाँको समाजिक र आर्थिक समस्याहरुलाई छिमोल्न प्रयत्नरत् छ। साथ-साथै, यहाँको नेतृत्व विद्यमान समस्याबाट पार पाउन कसरी आर्थिक साधनहरुको विकास गर्न सकिन्छ भन्नेबारे चिन्तनशील देखिन्छ। आफ्नै स्रोतसाधनमा निर्भर हुनु महत्वपूर्ण हुन्छ। नेपाल जंगल, पानी र खनिजको प्रशस्त सम्भाव्यताले भरिपूर्ण छ। देश विकासका लागि त्यस्ता स्रोतहरु निकै महत्वपूर्ण कुरा हुन्। नेपालले कच्चा पदार्थको साटो तयारी सामग्रीहरुको निर्यात गर्न सकेको खण्डमा निकै लाभ हासिल गर्न सक्छ।

त्यसका साथै नेपाल प्राचीन सँस्कृति, परम्परा र रितिथीतिका दृष्टिले पनि निकै धनी छ। यहाँ मानव हस्तक्षेपबाट मुक्त कैयन् प्राकृतिक भूभागहरु छन्, जुन विदेशी पर्यटकको लागि निकै आकर्षक हुनसक्छ। नेपालका हिमश्रृंखलाहरुले पनि पर्यटकहरुलाई उत्तिकै खिच्दछन्। नेपालमै मात्र ८ हजार मिटरभन्दा धेरै उचाईका एक दर्जन हिमाल छन्, ती पनि विश्वभरका पर्यटकहरुका लागि आकर्षणको विषय हो। मेरो विचारमा, पर्यटन क्षेत्रलाई बलियो पार्ने हो भने राष्ट्रिय आय बढाउन वा नेपालको दिगो विकासका लागि त्यसले निकै ठूलो योगदान पुर्‍याउनेछ।

नेपालले अहिले ‘नेपाल भ्रमण वर्ष २०२०’ कार्यक्रम ल्याएको छ। यसबारे तपाईंको सुझाव वा टिप्पणी केही छ?

मेरो विचारमा यो अत्यन्तै सान्दर्भिक कार्यक्रम हो। मैले अघि पनि भनें, पर्यटनको विकासमार्फत् नेपालले ठूलो फड्को मार्न सक्छ। पर्यटनले आयमा टेवा दिने कुरामा शंकै छैन। तर त्यसका लागि नेपालले पर्यटक लक्षित पूर्वाधारको विकास नगरी हुँदैन। सडक, हवाई उड्ययन, होटल, हाइकिङ रुट आदिको विकासमा ध्यान दिन औधी जरुरी छ।

व्यापारको कुरा गर्ने हो भने नेपाल र बेलारुसबीच उल्लेख्य परिमाणको कारोबार छैन। तपाईं के–कस्ता सामग्री विनिमयको सम्भाव्यता देख्नुहुन्छ?

बेलारुस र नेपालबीच सबैभन्दा ठूलो परिमाणको व्यापार सन् २०१७ मा भएको थियो, जुन ३४ करोड रुपैयाँ आसपासको थियो। उल्लेख्य कारोबार नहुनुको मूल कारणचाहिँ दुई देशबीचको भौगोलिक दुरी हो। जसका कारण हाम्रा उत्पादनको ढुवानी खर्च महँगो पर्न जान्छ। चर्को ढुवानी खर्चले व्यवसायिक प्रतिस्पर्धामा प्रतिकूल असर पार्छ। त्यसबाहेक, दुई देशका व्यापारिक संस्थाहरुबीच सहकार्यको अभाव पनि छ, त्यसका लागि दुवै पक्षका निर्यातकर्ता संस्थाबीचको सहकार्यलाई प्राथमिकतामा राखिनुपर्दछ।

मौसमअनुसारका फलफूल, तरकारी तथा मरमसलाजस्ता नेपालका उत्पादन बेलारुसका लागि आकर्षक हुने देखिन्छ, किनकी हावापानीको प्रतिकूलताका कारण हामीकहाँ त्यस्तो उत्पादन हुँदैन। त्यसबाहेक यहाँका हस्तनिर्मित सामग्रीहरुले पनि बेलारुसमा राम्रो बजार पाउन सक्छ।  त्यस्तै, बेलारुसले औद्योगिक तथा कृषिजन्यका साथै मेसिनरी औजार, पेट्रोकेमिकल, इटेक्ट्रिकल र दूग्धजन्य सामग्री निर्यात गर्न सक्छ।

त्यसका साथै साँस्कृतिक तथा शैक्षिक आदानप्रदानको सम्भावना पनि देख्नुहुन्छ कि?

दुवै देश जुन विलक्षणताका साथ विकासको बाटो लम्किइरहेका छन्, यसबाट विभिन्न अवशरका ढोकाहरु पनि खुल्दै गएका छन्। उच्च शिक्षाप्रदायक बेलारुसी संस्थाहरुबाट नेपालीहरुले निकै लाभ लिन सक्छन्। त्यस्ता संस्थाहरुले सहज मूल्यमा गुणस्तरीय शिक्षा प्रदान गरिरहेका छन्। हामीकहाँ उच्च शिक्षाका लागि एसिया र अफ्रिकी देशका धेरै विद्यार्थीहरु आउने गर्दछन्। साथै, हामी नेपालसँगको शैक्षिक सहकार्यलाई टुंगो लगाउने दिशातर्फ उन्मूख छौं, अथवा भनौं, सहमतिको नजिकै पुगेका छौं। म विश्वस्त छु, उक्त सहमतिले शैक्षिक सहकार्यको क्षेत्रमा ठूलो योगदान पुर्‍याउनेछ।

त्यसका साथै, नेपाल बसाइका क्रममा भएका भेटघाटहरुबाट म निकै उत्साहित भएको छु। द्विपक्षीय सम्बन्ध घनीभूत पार्ने विषयमा मैले नेपाली पक्ष पनि उत्तिकै सकारात्मक पाएँ। केही समय अवश्य लाग्ला, हामी नेपालसँगको सहकार्य विस्तार गर्ने दिशामा ठोस कार्यक्रमहरु बनाउनेछौं।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.