|

काठमाडौं : विदेशमा रहेका नेपालीले तत्काल मताधिकार नपाउने भएका छन् । मंसिर १४ मा हुने उपनिर्वाचनका पाइलट प्रोजेक्टका रुपमा केही स्थानका नेपालीलाई मताधिकारको व्यवस्था गर्न सांसदहरुले माग गरे पनि निर्वाचन आयोगले तत्काल त्यो सम्भव नहुने बताएको हो। 

बिहीबार बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उपस्थित प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले विदेशमा रहेका नेपालीका लागि उपनिर्वाचनमा मताधिकार व्यवस्था गर्न नसकिने जवाफ दिएका हुन्। 

‘हामीले यसबारेमा पटक पटक छलफल र अध्ययन गरेका छौँ। सरोकारवाला पक्षसँग पनि पटक पटक छलफल भएको छ’, उपनिर्वाचनको तयारी र विदेशमा रहेका नेपालीहरुको मताधिकारबारे छलफलमा सहभागी थपलियाले भने, ‘अहिले नै विदेशमा भएका नेपालीलाई मताधिकार दिन सकिँदैन। विश्वका अन्य देशको प्रक्रिया पनि हेरिरहेका छौँ। १५१ देशमा विदेशमा रहेका नागरिकलाई मताधिकार रहेको छ । हाम्रो चाहिँ अहिले नै त्यो अवस्था छैन।’

समितिको बैठकमा बोल्दै नेपाली कांग्रेसका सांसद दिलेन्द्र बडूले विदेश रहेका नागरिकका लागि पाइलट प्रोजेक्टका रुपमा मताधिकारको अभ्यास गरेको भए राम्रो हुने बताए । 

‘विदेशमा रहेका नेपालीका लागि केही कुटनीतिक निकायमा यो अभ्यास गरेको भए हुन्थ्यो’, उनले भने, ‘कुटनीतिक नियोगलाई मतदान केन्द्र बनाउनुपर्छ। बरु निर्वाचन अधिकृत नेपालबाटै पठाएर मतदान गराउनुपर्छ।’

त्यसैगरी अर्का सांसद देवेन्द्रराज कँडेलले विद्युतीय मतदानको व्यवस्था नगरिएकोमा प्रश्न गरे। ‘इभिएमको व्यवस्था किन गरिएन?’, उनले भने, ‘दलित महिला पदको निर्वाचन किन गरिएन?’
 

  अघिल्लो समाचार

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.