|

 काठमाडौंः संविधान दिवसका अवसरमा तीन दिनसम्म रत्नपार्क र बालाजु पार्क प्रवेश गर्दा शुल्क नलाग्ने भएको छ। असोज २,३ र ४ गते यी दुई पार्ककमा नि:शुल्क घुम्न पाइने भएको हो। 

काठमाडौँ महानगरपालिकाले संविधान दिवस २०७६ को अवसरमा ती दुई पार्कमा जाने सर्वसाधारणका लागि निशुल्क प्रवेशको व्यवस्था गर्ने भएको हो।

बालाजु बाइसधारा र रत्नपार्कमा प्रवेशका लागि २५ रुपैयाँ शुल्क लाग्ने गर्छ। संविधान दिवस भव्य रुपमा मनाउन पनि महानगरपालिकाले सहजीकरण गर्ने भएको छ।

संविधान दिवसका दिन टुँडिखेलमा हुने भव्य समारोहमा आउने सर्वसाधारणका लागि महानगरपालिकाले कुर्सी, पानी, शौचालय रर आकस्मिक उपचार सेवालगायत उपलब्ध गराउने भएको छ।

प्रत्येक वडा कार्यालयहरुबाट जनप्रतिनिधि कर्मचारी स्थानीयवासीलगायत स्थानीय सहभागी गराएर सांस्कृतिक झाँकीसहितको र्‍याली कार्यक्रमस्थल सैनिक मञ्चसम्ममा ल्याउने, सहभागीलाई राष्ट्रिय झण्डासहित र्‍यालीमा सहभागी गराउन हरेक वडा कार्यालयलाई एकसय थान राष्ट्रिय झण्डा महानगरले उपलब्ध गराउने भएको छ।

शिक्षा विभागमार्फत विद्यालयहरुमा संविधान दिवस तथा राष्ट्रिय दिवस र नेपालको राष्ट्रिय झण्डालगायत राष्ट्रभक्तिका विषयमा कविता, वक्तृत्वकला र हाजिरी जवाफ प्रतियोगिता सञ्चालन गर्ने र प्रत्येक बिधामा पहिलो, दोश्रो र तेश्रो हुनेलाई पुरस्कारको व्यवस्था गर्ने समेत निर्णय महानगरले गरेको छ ।

दिवसका दिन सैनिक मञ्चमा हुने विभिन्न कार्यक्रममा महानगरले नेपाली सेनालाई भौतिक तथा आर्थिक सहयोग उपलब्ध गराउनेछ। यसमा नेपाली सेनाले गर्ने सैनिक मञ्चको सजावट, फूल गमला, सगुन, शौचालय, सरसफाई लगायतका कामका लागि ५० हजार रुपैयाँ महानगरले उपलब्ध गराउने छ।

त्यस्तै मञ्चको दुवैतर्फ राख्न कपडाको व्यानर र नेपाली सेनाले उडाउने हेलिकप्टरमा संविधान दिवस २०७६ अङ्कित ब्यानर, सैनिक मञ्चमा आवश्यक पर्ने कुर्सी महानगरले उपलब्ध गराउनेछ ।

यस पटकको संविधान दिवसलाई राष्ट्रिय दिवसका रुपमा मनाउन तथा दिवसको उल्लास नागरिक स्तरमा पुर्‍याउन राष्ट्रिय झण्डाको उपयोगलाई प्रवद्र्धन गरिने भएको छ।

दिवसको अवसरमा सबै मातहत कार्यालयहरुमा असोज २, ३ र ४ गते तीन दिन बेलुका दीपावली हुनेछ भने यस कामका लागि नागरिकहरुलाई पनि आव्हान गरिनेछ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.