वाइडबडी र सुनकाण्डका दोषी खोई?

|

काठमाडौं : प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दुईतिहाइ बहुमतप्राप्त केपी शर्मा ओली नेतृत्वको सरकारले राज्य आंतक मात्रै मच्चाएको आरोप लगाएका छन्। 

संघीय संसदको बजेट अधिवेशन समापनलाई बिहीबार सम्बोधन गर्दै सभापति देउवाले सरकारले संविधानको मर्म अनुसार काम गर्नै नसकेको बताए।

‘जनताको सर्वोत्तम हितका लागि नेकपालाई दुईतिहाइ बहुमत दिएका थिए’, उनले भने, ‘तर सरकार न्यायपालिकामाथि हस्तक्षेप गर्न लागेको छ। व्यवस्थापिकलाई खेलौना बनाउन लागेको छ।’

देउवाले सरकारमाथि निगरानी गर्ने संस्था र आयोगहरुमाथि पनि सरकारले हस्तक्षेप गरेको बताए । ‘सरकारको काम निगरानी गर्ने आयोगमाथि पनि नियन्त्रणमा राख्ने काम सरकारले गरेको छ’, उनले भने, 

सरकारको गति अति सुस्त भएको पनि देउवाले बताए । ‘सरकार सुस्त छ, विकास पनि सुस्त देखिएको छ’, उनले भने, ‘नेपालको इतिहासमै सबैभन्दा ठूला भ्रष्टाचारका घटना भएका छन्।’

देउवाले संसदमा वाइड बडी खरिदमा भएको भ्रष्टाचारको कुरा पनि उठाए। विभागीय मन्त्री हुँदा वाइड बडीको पहिलो किस्ता निकास गरेका देउवाले ठूला भ्रष्टाचारमा सरकार चुर्लुम्म डुबेको बताए ।

‘वाइडबडी, न्यारोबडी खरिद र सुनकाण्ड जस्ता ठूला भ्रष्टाचार भएका छन्’, देउवाले भने, ‘भ्रष्टाचारको कुनै पनि मुद्दामा कसैलाई उन्मुक्ति दिनु हुँदैन।’
सरकारले प्रेसलाई नियन्त्रण गर्न खोजेको देउवाको आरोप थियो। ‘सरकार प्रेस स्वतन्त्रालाई नियन्त्रण गर्न लागेको छ । संविधान विरोधी विवादास्पद विधेयक ल्याएको छ’, उनले भने, ‘प्रतिपक्षले भनेको नसुन्ने? हाम्रा कुरा सुन्नुपर्दैन?’

सरकार महिला हिंसा र बलात्कार घटनामा रोक्न असफल भएको उनले बताए। ‘महिला हिंसा नियन्त्रण गर्न सरकार असफल भएको छ। सरकार तथ्यांक संकलन गर्ने मात्रै निकाय भएको छ’, उनले अगाडि भने, ‘सरकार कारवाही गर्दैन, कानुन मान्दैन।’

सरकारले प्रजातन्त्रविरुद्ध काम गरेको बताउँदै फेरि लड्नु पर्ने अवस्था आएको जिकिर गरे। ‘सरकारले राज्य आतंक मच्चायो। जनताले दिएको करको तलब खाने प्रहरी र कर्मचारीलाई पार्टीको कार्यकर्ता बनाइएको छ’, उनले भने, ‘प्रहरी पार्टीको कार्यकर्ता जस्तो हुने होइन। सरकारी कर्मचारीलाई कुनै पार्टीका कार्यकर्ता बनाउने काम हुन सक्दैन।’

देउवाले सरकारको अक्षमताले वैदेशिक लगानी आउने अवस्था नरहेको दाबी गरे। ‘महँगी बढेको छ। लोकतन्त्रमा कसैको विजय निश्चित समयका लागि मात्रै हुन्छ’, उनले भने, ‘जनताको ढाड सेकिँदा पनि सरकार चुप बसेको छ। जनताका पीडा बुझ्नेतर्फ ध्यानै दिएको छैन।’ 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.