|

सिरहा : जिल्लाको कर्जन्हा नगरपालिका ३ स्थित आफ्नै घरबाट प्रतिबन्धित लागुऔषध गाँजा बिक्री गरिरहेको अवस्थामा प्रहरीले एकजनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।

जिल्ला प्रहरी कार्यालय रिहाका अनुसार सिरहाको धनगढीमाई नगरपालिका ३ घर भई बन्दीपुर बस्दै आएका ३६ वर्षीय प्रमोद यादवलाई इलाका प्रहरी कार्यालय बदीपुरको टोलीले पक्राउ गरी बुधबार अपरान्ह सार्वजनिक गरको हो।

सिरहा प्रहरीका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक अपिलराज बोहराका अनुसार विशेष सूचनाका आधारमा यादवलाई आफ्नै घरमा प्रतिबन्धित गाँजा बिक्री वितरण गरिरहेको अवस्थामा एक सय १० ग्राम गाँजासहित पक्राउ गरिएको हो।

गाँजासहित पक्राउ गरिएका यादवलाई मिर्चैयास्थित इलाका प्रहरी कार्यालयको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक बोहराले बताए।

उदयपुरे युवा सिरहा प्रहरीको नियन्त्रणमा

छिमेकी जिल्लासँग जोडिएको खुला नाका हुँदै सिरहाको सीमावर्ती भारतीय बजारबाट प्रतिबन्धित लागुऔषध लिएर मोटरसाइकलमा आउँदै गरेका उदयपुरका युवकलाई सिरहा प्रहरीले पक्राउ गरेको छ।

सिरहाको दक्षिणी सीमावर्ती बरियारपट्टि गाउँपालिका ३ बाट प्रहरीले स.९प ४०२४ नम्बरको मोटरसाइकल चढेर आउँदै गरेका ३१ वर्षीय राजु तामाङ्लाई लागुऔषधसहित पक्राउ गरेको हो।

मोटरसाइकलमा शंकस्पद अवस्थामा आउँदै गरेका तामाङ्लाई रोकेर चेकजाँच गर्दा लागुऔषध १३ एम्पुल डाइजिल्याब, १३ एम्पुल नुफिन, १३ एम्पुल फेनारगन र २४ ट्याब्लेट नाइट्रोसन फेला परेको सिरहा प्रहरीका सूचना अधिकारी बोहराले उल्लेख गरे ।

उदयपुरको रौतामाई गाउँपालिका ९ पुरकुच्ची घर भएका तामाङ्लाई लागुऔषध, मोटरसाइकलसहित पक्राउ गरी जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

अवैध घरेलु मदिरा नष्ट

अवैध घरेलु मदिरा विरुद्ध अभियान चलाइरहेको प्रहरीले सिरहाको कर्जन्हा नगरपालिका ११ बाट अवैध रुपमा संचालन गरेको भठ्ठी पसलबाट घरेलु तयारी मदिरासहित कच्चा पदार्थ नष्ट गरेको छ। प्रहरीका अनुसार गस्तीको क्रममा भठ्ठीमा तयार गरेरराखेको २० लिटर तयारी मदिरा र करिब दुई हजार लिटर कच्चा पदार्थ नियन्त्रणमा लिई स्थानीय जनप्रतिनिधि, नागरिक समाजको रोहवरमा नष्ट गरिएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.