देउवालाई सम्झाए सिंहदरबारको गेटमा कुटाइ खाएको घटना

|

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीका संसदीय दलका उपनेता तथा संविधासभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले सरकारले गरेका कामबाट निराश हुनुपर्ने अवस्था नरहेको बताएका छन्।

संघीय संसदको चौथो अधिवेशनको प्रतिनिधिसभाको अन्तिम बैठकमा उपनेता नेम्वाङले सरकारले गरेका काम नराम्रा नभएका र प्रतिपक्षी दलले दिएका सुझाव मनन गरेर अगाडि बढ्न तयार रहेको बताए। उनले भने, 'अलिकति पनि निराश हुनुपर्ने ठाउँ छैन। हामीले राम्रा काम गरेका छौँ, सही काम गरेका छौँ। केही कमिकमजोरी छन् भने सच्च्याएर अगाडि बढ्न तयार छौँ भन्न कुनै संकोच छैन। प्रतिपक्षका नेताको भनाइ मान्न तयार छौँ।' उनले सरकारले गर्व गर्ने काम गरेको पनि जानकारी दिए।

नेम्वाङले प्रतिपक्षी दलले भनेका कुराहरू धैर्यताका  सुन्न तयार रहेको पनि बताए।

संघीय संसदको चौथो अधिवेशन महत्त्वपूर्ण रहेको नेम्वाङको भनाइ थियो। संविधानसम्मत बनाइनुपर्ने धेरै कानुन बनेको, शान्ति प्रक्रियाको ऐतिहासिक काम सम्पन्न भएकाले यो अधिवेशनलाई महत्त्वपूर्ण लिनुपर्ने उनको भनाइ थियो। 'समृद्ध नेपाल, सुखी नेपाली'को आधार तयार पारिएको उनको भनाइ थियो।

संविधानसभा अध्यक्षसमेत रहेका नेम्वाङले संविधानको स्रोत जनता भएको बताए। विगतका संविधानका स्रोत तत्कालिन शासक रहेका तर अहिलेको संविधानको स्रोत जनता भएको प्रमाण संविधानको प्रस्तावनामा नै लेखिएको उनले बताए।

'पहिलोपटक जनताले जनताको लागि बनाएको संविधान कार्यान्वयन गर्दै हामी यहाँसम्म पुगेका छौँ', उनले भने, 'संविधान कार्यान्वयनको लागि निर्वाचन भएका छन्। मौलिक अधिकारका कानुन निर्माण भएका छन्। त्यी नभएको भए देश संवैधानिक संकटमा जान्थ्यो।'

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले राज्य आतंक मच्चाएको भन्ने आरोपलाई लक्षित गर्दै उपनेता नेम्वाङले विगतमा जस्तो राज्य शक्ति प्रतिपक्षीलाई दबाउन नगरिने बताए। प्रतिपक्षी दलको सम्मान गर्ने भन्दै उनले संवादबाट सबै कुराको समाधान गर्न दलहरू सक्षम रहेको बताए।

तत्कालिन एमाले प्रमुख प्रतिपक्षी भएको बेलाको घटना स्मरण गर्दै उपनेता नेम्वाङले अब प्रतिपक्षीमाथि त्यस्तो नगरिने बताए। उनले भने, 'सिंहदरबारमा रहेको संसद भवनबाट बाहिर निस्किँदा सांसदहरूले दौरा सुरुवाल लगाएर निस्केका थियौँ, जनतालाई भेट्न। सरकारका प्रहरीले सांसद भनेर चिन्लान् र दुर्व्यवहार नगर्लान् भनेर त्यसो गरेका थियौँ तर सिंसदबार गेटमा नै नराम्रोसँग कुट्यो। त्यसले सजिलो पो भयो कि! अबका दिनमा त्यस्तो हुने छैन।'

उपनेता नेम्वाङले चौथो अधिवेशनमा पनि संसद अवरोध भएकोमा असन्तुष्टि व्यक्त गरे। उनले आगामी दिनमा त्यस्तो नहोस् भन्ने गरी काम गर्नुपर्ने बताए। उनले सबै विवाद संवादबाट हल गर्न आफूहरू तयार रहेको र नेपाली नेताहरू, राजनीतिक दलहरू सक्षम रहेको धारणा राखेका थिए। मिलेर नै राष्ट्रका विवाद समाधान गर्न सक्षम रहेको भन्ने सन्देश राजनीतिक दलहरूले दिएको पनि धारणा राखेका थिए।

सम्बन्धित समाचारः

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.