|

काठमाडौं :  हाल देशभर डेंगुले आतंक मच्चाएको छ। सरकारी तथ्यांकअनुसार हालसम्म देशभर ७ हजार ३ सय ७० जना डेंगुबाट प्रभावित छन् भने छ जनाले ज्यान गुमाइसकेका छन्।

प्रदेश-३ मा ३ हजार ९ सय २९ जना, प्रदेश १ मा ९ सय ५६ जना, गण्डकी प्रदेशमा १ हजुर ९ सय ६४ जना डेंगु प्रभावित भएका छन्। यस्तै, सबैभन्दा धेरै डेंगु देखिने जिल्ला काठमाडौंमा १ हजार ३ सय ३१, मकवानपुर ७ सय ८३, चितवन १ हजार २ सय ३७, झापा ३ सय ९० र सुनसरी तीन सय ८२ जनामा डेंगु देखिएको छ।

तर, नेपाल स्वास्थ्य अनुसन्धान परिषदले गरेको एक अध्ययन अनुसन्धानले ८७ प्रतिशत अर्थात् २ करोड ६१ लाख नेपाली डेंगुको उपचारबारे अनविज्ञ रहेको देखाएको छ। परिषदले सन् २०१७ देखि २०१८ सम्म डेंगु प्रभावित क्षेत्रलाई केन्द्रबिन्दु बनाएर गरेको अनुसन्धानले सो संख्याका नेपाली डेंगुको उपचारबारे अनविज्ञ भएको पाइएको जनाएको हो।

त्यस्तै, १३ प्रतिशत अर्थात् ९३ लाख नेपालीले त डेंगुको नामसमेत सुनेका छैनन्। तर, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डेंगुबारे जनचेतना, लामखुट्टेको वासस्थान खोजी, लार्भा नष्ट जस्ता अभियान सञ्चालनका लागि ९ करोड रुपैयाँ विनियोजन गर्दै आएको छ। यद्यपि स्वास्थ्य अनुसन्धान परिषदका अनुसन्धानकर्ताले ठूलो संख्या डेगुबारे अनविज्ञ रहेको बताएका छन्।

पछिल्लो पाँच वर्षमा समेत यसको ज्ञानमा सुधार नभएको अनुसन्धानले दाएको छ। सन् २०११ देखि सन् २०१२ मा पहिलोपटक अनुसन्धान गर्दा १२ प्रतिशत अर्थात ९६ लाख जनताले डेंगुको नामै नसुनेको त्यो संख्या पाँच वर्षमा १ प्रतिशतले मात्रै बढेको छ। सरकारले डेंगुबारेमा गरेको जनचेतनाको स्तर कुन तहमा छ भनेर निर्धारण गरेको अनुसन्धानकर्ताले बताएका छन्।

परिषदका अनुसार सन् २०११ देखि २०१२ मा पर्सा, हेटौँडा, काठमाडौं, ललितपुर, रसुवा र नुवाकोटलाई केन्द्रबिन्दु बनाएर गरिएको अध्ययनले सो कुरा बताएको हो। अध्ययन ५९० जनालाई सहभागी गराइएको थियो। तर, पछिल्लो पटक सन् २०१७ देखि २०१८ सम्म गरिएको अध्ययनमा चितवन, धादिङ, काठमाडौं, ललितपुर र नुवाकोटलाई केन्द्रित गरिएको थियो। सो समयमा ६६० जनालाई प्रश्न उत्तरमा सहभागी गराइएको थियो।

अनुसन्धानले देखाए अनुसार उच्च भू-भागका १६ प्रतिशत तल्लो भू-भागका ५३ प्रतिशत नेपालीलाई मात्रै डेंगुबारे जानकारी भएको देखाएको छ। अनुसन्धानका क्रममा सम्बन्धित व्यक्तिलाई डेंगु लामखुट्टेबारे २० वटा प्रश्न सोधिएको थियो। जसमा ८० प्रतिशत मिलाएको खण्डमा ज्ञान भएको मानिएको थियो। अन्तर्राष्ट्रिय अभ्यासअनुसार ८० प्रतिशत उत्तर मिलाउन नसकेको खण्डमा डेंगुबारे ज्ञान नभएको मानिएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.