|
सभामुख कृष्णबहादुर महरा, फाइल फोटो

काठमाडौं : संघीय संसदको चौथो अधिवेशन अन्त्य भएको छ।

संघीय संसद चौथो अधिवेशनको अन्तिम बैठक बिहीबार बसेको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले आज राति १२ बजेदेखि लागू हुने गरी संघीय संसदको चौथो अधिवेशन अन्त्य भएको पत्र संसदलाई पठाएकी थिइन्। सभामुख कृष्णबहादुर महराले उक्त पत्र संसद बैठकमा पढेर सुनाएका थिए। त्यस लगत्तै सभामुख महराले प्रतिनिधिसभाको बैठक राति १२ बजेदेखि स्वतः अन्त्य हुने स्थगित गरेका थिए।

सभामुख महराले संघीय संसदको चौथो अधिवेशनमा प्रतिनिधिसभाबाट भएका कामहरूको विवरण संसद बैठकमा पढेर सुनाएका थिए।

सभामुख महराका अनुसार संघीय संसद, प्रतिनिधिसभा चौथो अधिवेशनमा भए गरेका कामको विवरण यस्तो छ:

१) संघीय संसदको चौथो अधिवेशनसँगै प्रतिनिधिसभाको पहिलो बैठक २०७६ साल वैशाख १६ गते सोमबार प्रारम्भ भएर आज २०७६ साल असोज २ गते बिहीबारसम्म जम्मा १४४ दिन चालु रह्यो। जसमध्ये ६० दिनमा ६५ पटक बैठक बसी जम्मा १९३ घण्टा ४० मिनेट संसदीय काम कारबाहीमा व्यतीत भयो। साथै यही अधिवेशनमा संघीय संसदको दुवै सदनको संयुक्त बैठक २ पटक बसी ४ घण्टा ५ मिनेट समय व्यतीत भएको थियो।

२) २०७६ वैशाख २० गतेको बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई गरेको सम्बोधनप्रति पेस भएको धन्यवादको प्रस्ताव सर्वसम्मतिबाट पारित भएको थियो। साथै राष्ट्रपतिबाट सम्बोधन मार्फत प्रस्तुत भएको आ.व. २०७६/०७७ को लागि नेपाल सरकारको नीति तथा कार्यक्रममाथि २०७६ वैशाख २२, २३ र २४ गतेका दिनहरूमा व्यापक रूपमा छलफल भई वैशाख २४ गते उक्त नीति तथा कार्यक्रम बहुमतबाट पारित भयो।

३) त्यसै गरी २०७६ वैशाख २७ गते 'आ.व. २०७६/०७७ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) छलफल गरियोस्' भन्ने प्रस्ताव पेस भएको थियो। जसमाथि वैशाख २९, ३० र ३१ गते सभामा छलफलसमेत भएको थियो।

४) २०७६ जेठ १५ गतेको बैठकमा आ.व. २०७६/०७७ को लागि राजश्व र व्ययको वार्षिक अनुमान (बजेट वक्तव्य) पेस भएको थियो जसमाथि जेठ १९, २०, २१ र २३ गते व्यापक छलफल भई सोही दिन अर्थमन्त्रीबाट जवाफ दिने कार्य समेत सम्पन्न भएको थियो।

५) २०७६ जेठ २३ गतेको बैठकमा प्रस्तुत भएको विनियोजन विधेयक, २०७६ माथि २०७६ जेठ २८ देखि असार ५ सम्म सदनमा दफावार छलफल र जेठ ६ देखि १० गतेसम्म सम्बन्धित मन्त्रीहरूबाट जवाफ दिई बहुमतबाट पारित भएको थियो।

६) यस अधिवेशन अवधिभर प्रतिनिधिसभामा जम्मा १७ वटा सरकारी विधेयक दर्ता भएकोमा ७ वटा विधेयकहरू संघीय संसदको दुवै सदनबाट पारित भइसकेको छ भने ५ वटा विधेयक सभामा प्रस्तुत हुन बाँकी रहेको छ, ४ वटा विधेयक सम्बन्धित समितिहरूमा विचाराधीन छन् र राजश्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०७५ प्रतिनिधि सभाबाट पारित भई राष्ट्रियसभामा पठाइसकिएको छ। साथै सभाको दोस्रो र तेस्रो अधिवेशनमा दर्ता भएका विभिन्न १९ वटा विधेयक मध्ये ८ वटा विधेयक दुवै सदनबाट पारित भइसकेको छ भने ६ वटा विधेयक समितिमा विचाराधीन अवस्थामा नै रहेको छ, औद्योगिक व्यवसाय विकास प्रतिष्ठान (पहिलो संशोधन) विधेयक, २०७५ प्रतिनिधि सभाबाट पारित भई राष्ट्रियसभामा पठाइसकिएको छ र ३ वटा विधेयक सभामा प्रस्तुत हुन बाँकी रहेको छ। साथै राष्ट्रपतिबाट आएको सन्देश सहित प्राप्त भएको 'राहदानी विधेयक, २०७५' संघीय संसदको दुवै सदनबाट संशोधन सहित पारित भएको छ।

त्यसै गरी राष्ट्रियसभामा उत्पत्ति भई प्रतिनिधि सभाको दोस्रो, तेस्रो र यस अधिवेशनमा प्राप्त भएको विभिन्न ७ वटा विधेयकहरू मध्ये २ वटा विधेयक सभाबाट पारित भइसकेको छ भने ५ वटा विधेयक सम्बन्धित समितिमा विचाराधीन रहेको छ। यसरी यस अधिवेशनमा संघीय संसदबाट कूल १८ वटा विधेयक पारित भएका छन्।

७) २०७६ साउन ८ गतेको बैठकमा सांसद मिनेन्द्रप्रसाद रिजाल प्रस्तावक रहेको 'अविरल वर्षा र यसका कारण आएको बाढी, पहिरो र डुबानका कारण देशभरि एक सय भन्दाबढी नागरिकले ज्यान गुमाउनु परेको, कतिपय नागरिक बेपत्ता तथा घाइते भएको, केही राजमार्ग र विद्युत् सेवा अवरुद्ध रहेको, अरबौँ मूल्य बराबरको धनमालको क्षति भएकोले सरकारद्वारा सञ्चालित उद्धार तथा राहत कार्यको प्रगति तथा प्रभावित क्षेत्रको विद्यमान अवस्थाबारे प्रतिनिधि सभामा जानकारी लिने, तीनै तहका सरकारद्वारा सञ्चालित उद्धार, राहत र त्यसपछिको पुनर्स्थापनाको एकीकृत कार्यक्रम प्रभावकारी तथा निष्पक्ष तवरले सञ्चालन गर्न नेपाल सरकारलाई नीतिगत निर्देशन दिन आवश्यक भएको' भन्ने सम्बन्धी जरुरी सार्वजनिक महत्त्वको प्रस्तावमाथि छलफल भई सम्बन्धित माननीय मन्त्रीबाट जवाफ दिने कार्य सम्पन्न भएको थियो। साथै सोही दिनको बैठकमा 'देशमा आएको बाढी पहिरो तथा डुबानबाट पीडितहरूको उद्धार तथा राहतमा सहयोग पुर्‍याउन संघ, प्रदेश र स्थानीय तहका जनप्रतिनिधिहरू, सामाजिक संघ संस्था, राजनीतिक दल तथा अन्य सबैमा हार्दिक अपिल गर्दै' विशेष प्रस्ताव पारित गरी बाढी पीडितहरूको उद्धारको लागि प्रतिनिधि सभाका सांसदहरूको एक दिनको पारिश्रमिक राहत कोषमा उपलब्धसमेत गराइएको थियो।

८) सभाको विभिन्न बैठकहरूमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, अर्थ मन्त्रालय, परराष्ट्र मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, वन तथा वातावरण मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको उत्तर सम्बन्धित मन्त्रीबाट दिइएको थियो। त्यस्तै विभिन्न मन्त्रालयबाट उत्तर प्राप्त भई सदनमा प्रस्तुत गर्न बाँकी रहेका मौखिक उत्तरहरु समेत टेबुल भैसकेका छन्।

९) यस अधिवेशनमा 'अर्थ समितिद्वारा २०७६ वैशाख महिनामा सात प्रदेशमा आयोजित आ.व. २०७६/७७ को पूर्व बजेट छलफल कार्यक्रम सम्बन्धी प्रतिवेदन, २०७६', 'कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको वार्षिक प्रतिवेदन २०७५/०७६', 'अर्थ समितिको वार्षिक प्रतिवेदन, २०७६', 'कानुन, न्याय तथा मानव अधिकार समितिको वार्षिक प्रतिवेदन, २०७६', 'राज्य व्यवस्था तथा सुशासन समितिको वार्षिक प्रतिवेदन, २०७६', 'शिक्षा तथा स्वास्थ्य समितिको वार्षिक प्रतिवेदन, २०७५/७६', 'अन्तर्राष्ट्रिय सम्बन्ध समितिको वार्षिक प्रतिवेदन, २०७६', 'महिला तथा सामाजिक समितिको वार्षिक प्रतिवेदन, २०७६', 'विकास तथा प्रविधि समितिको वार्षिक प्रतिवेदन, २०७६' र 'उद्योग तथा वाणिज्य र श्रम तथा रोजगार समितिको वार्षिक प्रतिवेदन, २०७६' प्रतिनिधिसभा अन्तर्गतका सम्बन्धित समितिहरूबाट सभा समक्ष पेस भएको थियो।

१०) सभाको विभिन्न बैठकहरूमा 'महालेखा परीक्षकको ५६औँ वार्षिक प्रतिवेदन, २०७५', 'नेपाल सरकारको आर्थिक वर्ष २०७४/०७५ को सुशासन प्रतिवेदन' र 'राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्व कार्यान्वयनका सम्बन्धमा गरेका काम र प्राप्त उपलब्धि सहितको आर्थिक वर्ष २०७४/०७५ को नेपाल सरकारको वार्षिक प्रतिवेदन' र 'राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन २०७४/०७५' पेस गर्ने कार्य सम्पन्न भयो।

११) मिति २०७६ साउन २० गते सदनमा गतिरोधको अवस्था उत्पन्न नहोस् भन्ने सम्बन्धमा संविधान, नियम र स्थापित परम्परा अनुसार आवश्यक अध्ययन गरी सुझाव दिन अध्ययन तथा सुझाव संसदीय विशेष समिति गठन भएकोमा आजै बसेको सभाको पहिलो बैठकबाट सो समितिको कार्यविधि आगामी अधिवेशनसम्मको लागि थप गर्ने प्रस्ताव समेत पारित भएको छ।

१२) यस अधिवेशन अवधिभर पूर्वसांसदहरू भिक्षु अश्वघोष, दिवाकर गोल्छा, रुद्रमणि शर्मा भण्डारी, रामकृष्ण ताम्राकार, धनिराम पौडेल र छियामा राईको निधन भएकोमा शोक प्रस्ताव पारित भएका छन्।

१३) यसै अवधिमा सदनको विभिन्न बैठकहरूमा प्रधानमन्त्रीले नेपाल सरकारले हालसम्म गरेका कार्यहरू र भविष्यमा अपनाउने कार्यशैलीका सम्बन्धमा, उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्यामन्त्रीले डेंगु रोगको प्रभाव र सरकारबाट यसको रोकथामका लागि भएको प्रयासका सम्बन्धमा, गृहमन्त्रीले देशमा भइरहेको आगजनी र विस्फोट लगायतका घटना र पीडितहरूको उद्धार एवं भइरहेको अनुसन्धानका सम्बन्धमा, सर्लाही जिल्लामा बालकको मृत्यु र सो घटनाको विरोधमा उत्रिएको भीडलाई नियन्त्रण गर्ने क्रममा सुरक्षा निकायको गोली लागी सरोजनारायण सिंहको मृत्यु भएको सम्बन्धमा र बाँके जिल्लाको खजुरामा नेपाली कांग्रेसको राष्ट्रिय जागरण कार्यक्रममा नारा जुलुस र जिल्ला सभापति लगायत घाइते भएको घटना सम्बन्धमा, परराष्ट्रमन्त्रीले नेपाल र भारतबीचका संयुक्त बैठक सम्बन्धमा, ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्रीले साना जलविद्युत आयोजना सञ्चालनमा उपभोक्तालाई समावेश गर्ने लगायत अन्य जलविद्युत आयोजनाहरूको स्थितिका सम्बन्धमा, सञ्चार तथा सूचना प्रविधिमन्त्रीले प्रधानमन्त्री र मन्त्रिपरिषद्का सदस्यहरूबीच भएको भिडियो कन्फरेन्स सम्बन्धमा, वन तथा वातावरणमन्त्रीले संरक्षण क्षेत्रभित्र सञ्चालन गरिने सेवा सुविधा सम्बन्धमा सार्वजनिक महत्त्वको वक्तव्य दिएका थिए।

सम्बन्धित समाचारः 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.