'कसले कतिखेर सपना देख्छ त्यतिखेरै संविधान संशोधन गरिन्न'

|

काठमाडौं : नेपाल सरकार मन्त्रिपरिषदका प्रवक्ता, संचार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले कुनै पनि घटनामा कसैलाई आरोप लगाएको भरमा कारबाही नहुने बताएका छन्।

मन्त्रिपरिषदले गरेका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बाँके घटनामा त्यहाँको कांग्रेस पार्टी जिल्ला सभापति किरण कोइरालाको हात भाँचिएको विषयमा नेकपा कार्यकर्ताको संलग्नता रहेको र कारबाही नभएको भन्ने प्रश्नमा मन्त्री बाँस्कोटाले त्यस्तो जवाफ दिएका हुन्। 'हात भाँचेकै हो भने कारबाही कानुनबमोजिम गर्नुपर्छ। भाँचेको हो भने कसले हो छानबिन गर्नुपर्छ। पुलिसले छानबिन गरेर जो कसैमाथि नेकपा होस् कि कांग्रेसको होस् कानुनको दायरमा आउनुपर्छ', संघीय संसदसमेत अवरोध भएको उक्त प्रकरणबारे मन्त्री बाँस्कोटाले भने, 'नेकपा हुनासाथ उन्मुक्ति हुन्न। नेकपाकालाई आरोप लगाउनासाथ कसैले सत्य तथ्य नै आउन दिनु हुँदैन भन्यो भने मान्न सकिँदैन। हामीले जे भन्यो त्यो सही हो भन्दैमा कारबाही हुन्न। आरोप लाग्नासाथ मान्छे समातेर कारबाही गर्न मिल्दैन। त्यस कारण सरकारका निकायहरूले छानबिन गर्छन्।'

कसले कतिखेर सपना देख्छ त्यतिखेर संविधान संशोधन गरिन्न

मन्त्री बाँस्कोटाले संविधान संशोधन तत्काल नहुने संकेत गरेका छन्। उनले संविधान संशोधनको औचित्य नदेखिएकाले तत्काल त्यो सम्भावना नरहेको बताए।

संविधान संशोधनबारे सोधिएको प्रश्नको जवाफमा उनले भने, 'कसको सम्मान पुगेन? कसको अधिकार पुगेन? कहीँ न कहीँ ती कुराका आधार पुगेनन् भने संशोधन हुन्छ। कसले कतिखेर सपना देख्छ त्यतिखेर संविधान संशोधन गरिने होइन।'

संविधान जारी भएपछि रिसाएका पूर्वराजावादीहरूको र सत्ता गुमाएकाहरूको चाहना संविधान असफल होस् भन्ने रहेको मन्त्री बाँस्कोटाको भनाइ थियो। उनले त्यो सफल नहुने पनि बताए।

'सत्ता गएकाहरूको यो संविधान च्यात्ने चाहना छ। पहिला कार्यान्वयन हुन दिऊँ, त्यसपछि संशोधन गरौँला। विकास र जनताको अधिकारको प्रयोगमा संविधानले बाधा पुर्‍याए संशोधन गरौँला। कसैलाई रहर लागे संविधान संशोधन गर्ने होइन। औचित्य र आवश्यकताका आधारमा संशोधन हुन्छ। संविधान त लेखियो संशोधन कुन ठुलो कुरा हो र?'

संविधान संशोधनबारे मन्त्री बाँस्कोटाले थपे, 'यो रामायण होइन, भानुभक्तले लेखेपछि त्यै हो। यो कुरान होइन, बाइबल पनि होइन। यो अपरिवर्तनीय छैन, परिवर्तनीय छ। यसले राष्ट्रिय जीवन बोक्ने हो राष्ट्रको जीवनको गतिमा अवरोध आयो भने त्यसलाई सम्बोधन गर्ने हो, जहाँ जनता हुन्छ।'

भिडियोः

सम्बन्धित समाचारः

  अघिल्लो समाचार

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.