|

काठमाडौं : नेपालले आज साफ यु–१८ च्याम्पियनसिपअन्तर्गत पहिलो खेल माल्दिभ्सविरुद्ध खेल्दै छ। दुई पटकको च्याम्पियन नेपाल तेस्रो पटक उपाधि रक्षाको लागि मैदानमा हुनेछ। २०१५ र २०१७ मा नेपालले क्रमश भारत र बंगलादेशलाई हराएर उपाधि जितेको थियो।

त्यसैले योपटक पनि नेपाल माल्दीभ्स विरुद्धको खेलबाट यात्रा सुरु गर्दै छ। यसअघिका दुई संस्करणमध्ये नेपालले २०१७ को संस्करणमा माल्दिभ्सविरुद्ध प्रतिष्पर्धा गरेको थियो। जतिबेला नेपालले माल्दीभ्सलाई २–० ले पराजित गरेको थियो।

घरेलु मैदानमा नेपाल आफ्नो साविक च्याम्पियनको छवि जोगाउने चुनौतीका साथमा मैदानमा हुनेछ। प्रतियोगितामा दुई समूहमा रहेर दक्षिण एसियाका ६ टिमले प्रतिष्पर्धा गर्दै छन्। नेपालले आफ्नो समूहमा माल्दिभ्स र भुटानको सामना गर्दा अर्को समूहमा भारत, बंगलादेश र श्रीलंका रहेका छन्।

कसले के भने ?

उपाधि रक्षा गर्छौं :नेपाल

यसअघि पनि नेपालले उपाधि जितेकाले यो पटक पनि नेपाल उपाधिकै लागि मैदानमा उत्रने नपाली टिमका प्रशिक्षक चेतनारायण श्रेष्ठले बताए। उनले भने ‘यो पटक स्वभाविक /रूपमा हामीलाई दबाब छ।

दुई संस्करणको च्याम्पियन भइसकेकाले घरेलु मैदानमा उपाधि रक्षा गर्नु चुनौती छ तर हामीले राम्रो तयारी गरेका छौं।’ श्रेष्ठले ४५ दिन देखी नेपाली टिम क्लोज क्याम्पमा रहेर अभ्यास गरिरहेको र विभिन्न ए डिभिजन क्लबसँग मैत्रीपूर्ण खेल खेलेकाले बलियो रहेको बताए।

उनले हरेक पोजिसनका लागि खेलाडी तयार भएको बताए। श्रेष्ठले भने, ‘हामीले पोजिसन वाइज खेलाडीहरू तयार गरेका छौं। साथै अनुभवी टिमसमेत छ। धेरै खेलाडी ए डिभिजनबाट व्‍वावसायिक लिग खेलीसकेकाले जिम्मेवारीका साथमा मैदानमा उत्रने छौं।’

सुधारिएको प्रदर्शन गर्छौं :श्रीलंका

श्रीलंका पनि यो पटक विगतमा भन्दा उत्कृष्ट प्रदर्शन गर्ने ध्याउन्‍नमा रहेको छ। प्रशिक्षक एमएम अमनुल्लाहले सुरुवातबाटै जित्नका लागि टिम मैदानमा उत्रने बताए। उनले भने ‘हाम्रा लागि समुहचरणको खेलनै महत्वपुर्ण छ। सुमहचरणमा भारत र बंगलादेश विरुद्ध जित्नकै लागि प्रतिष्पर्धा गर्ने छौं।’

उनले मौसम अनुसारको तयारी गरेको तथा टिमलाई एउटा राम्रो अवसरका रुपमा प्रतियोगितालाई लिएको बताए।‘हामीले यो प्रतियोगितालाई राम्रो अवसरका रूपमा लिएका छौं। २ महिनायता हामी निरन्तर अभ्यासमा छौं। त्यसको फाइदा पहिलो खेलबाटै लिने उदेश्य राखेका छौं।’

कुनै दबाबमा छैन : भुटान

भुटानका प्रशिक्षक उग्यान दोर्जीले भुटान विनादबाब मैदान उत्रने बताए। उनले पछिल्लो समय भुटानको फुटबल राम्रो रहेको भन्दै राम्रो तयारीले नतिजा दिने विश्वास ब्यक्त गरे। दोर्जीले भने ‘यो प्रतियोगिता आफैमा कठिन छ। तर हामीले राम्रो तयारी गरेका छौं। त्यसैले लक्ष्य सुरुवातबाटै राम्रो खेल्दै उपाधि जित्नेसम्मकै हुनेछ।’

रणनीतीक रूपमा बलियो छौंं : बंगलादेश

सबै देश बलियो भएको भन्दै बंगलादेशका प्रशिक्षक एन्ड्रयु पिटर टर्नरले रणनीतीक रूपमा बंगलादेश बलियो भएको बताए। उनले भने ‘रणनीतीक हिसाबले बंगलादेशलाई बलियो बनाएको छु। योपटक हामी उपाधिकै लागि नेपालमा आएका छौं।’ उनले ३० खेलाडीबाट २३ जनामा झारेको बताए।  टर्नरले राम्रा खेलाडीहरुले यो पटक बंगलादेशी टिममा स्थान बनाएको भन्दै टिमको उदेश्य सुरुवातबाटै जित भएको बताए।

अभ्यास राम्रो भएको छ :माल्दिभ्स

माल्दिभ्सले साफ च्याम्पियनसिपकै लागि भनेर ३ महिनादेखि तयारी गरेको प्रशिक्षक साज्ली मोहमद्धले जानकारी दिए। मोहमद्धले भने, ‘हामी भर्खरै पनि अभ्यास गरेर काठमाडौं आएका छौं। कतारमा टिमले राम्रो अभ्यास गरेको र सोहीअनुसार प्रतिष्पर्धा भए। माल्दिभ्स उपाधिसम्म पुग्न सक्ने सम्‍भावना छ।’ उनले कुनै पनि प्रतिद्वनद्वीलाई कमजोर नमान्ने बताए।

प्रतियोगिताको सुरुवात नै महत्वपूर्ण भएको मोहमद्धको दाबी छ। उनले भने, ‘नेपाल विरुद्धको खेलबाट प्रतियोगिता सुरु गर्ने भएकाले हामीलाई सुरुवातबाटै दबाब छ। त्यसैले सुरुवातमै जितका लागि प्रयास गर्नेछौं।’

धेरै अभ्यासले उपाधि अपेक्षा  : भारत

भारतीय टिम यो उमेर समूहमा पहिलो पटक उपाधिको खोजीमा रहेको छ। भारतीय टिमका प्रशिक्षक फ्लोइड पिन्टोले यो पटक भारतीय टिमले धेरै अभ्यास खेल खेलेको बताए। उनले भने, ‘साफको तयारीका रूपमा हामीले धेरै अभ्यास खेलहरू खेलेका छौं। कमजोरीहरु धेरै सुधार गरेर यहाँ आएका छौं। त्यसैले यो पटक भारत उपाधिकै लागि प्रतिष्पर्धा गर्ने छ।’

उनले नेपालको मौसमलाई सहज हुने गरि भारतले भुवनेश्वरमा अभ्यास गरेको बताए। ‘नेपाली मौसम अनुकुल रहेको भुवनेश्वरमा हामीले लामो अभ्यास गरेका छौं । त्यसैले खेलाडीलाई समस्या हुँदैन्।’ यद्धपि भारतले उपाधिमा दबाब दिएपनि जितिहाल्छनी भन्ने जस्तो सहज नरहेको बताए।

‘जसरी भारतले जितिहाल्छनी भन्ने खालको सोचिएको छ, अबस्था त्यस्तो छैन्। सबै टिम बलिया छन्, हामी सचेत भएर मैदानमा उत्रन्छौं।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.