|

डडेल्धुरा : आज असोज ३ अर्थात् संविधान दिवस। ०७२ असोज ३ गते आजकै दिन संविधान जारी भएको अवसरमा विविध कार्यक्रम गरेर डडेल्धुरासहित देशभर संविधान दिवस मनाइँदैछ। डडेल्धुरामा संविधान दिवस चार दिनसम्म विविध कार्यक्रम गरी मनाइँदैछ।

दिवसका अवसरमा शुक्रबार बिहान ८ बजे स्थानीय बसपार्क बागबजारबाट राष्ट्रिय झण्डा, बाजागाजासहितको बृहत प्रभातफेरी कार्यक्रम सुरु गरी जिल्ला समन्वय समिति डडेल्धुराको प्राङ्गणमा एक समाहरोकाबीच औपचारी कार्यक्रम सम्पन्न भएको छ। 

बृहत प्रभातफेरी कार्यक्रममा तीनवटै सुरक्षा निकाय, जनप्रतिनिधि, सरकारी कर्मचारी, समाजसेवी, राजनीतिक दलका प्रतिनिधि, विभिन्न संघसंस्थाका प्रतिनिधि, नागरिक समाज एवं बुद्धिजीवी, पत्रकार, विद्यार्थीलगायतको उल्लेखिय सहभागिता रहेको थियो।

कार्यक्रममा बोल्ने अधिकांश वक्ताले लोकतान्त्रिक संस्कार, संस्कृति, मूल्य र मान्यतामा आधारित समतामुलक समाजको निर्माण गर्न यो संविधान दिवसले सबैलाई प्रेरणा प्रदान गर्ने उल्लेख गरेका छन्। 

संविधान घोषणा भएको चार वर्षमा संविधान अनुरूपमा संरचनाहरू बनेर कार्यान्वयनमा भइरहेका व्यक्तहरूको भनाइ थियो। संविधानको पूर्ण कार्यान्वयन गर्नमा सबैले आफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्नेमा कार्यक्रममा बोल्ने वक्ताहरूको जोड थियो।

यसअघि दिवसका अवसरमा बिहीबार सरसफाई र मैत्रीपूर्ण भलिबल प्रतियोगिता सम्पन्न गरिएको थियो। बिहीबार बिहान अमरगढी नगरपालिका र उद्योग वाणिज्य संघको समन्वयमा अमरगढी नगर क्षेत्रमा विषेश सरसफाइ गरिएको थियो।

बिहीबार दिउँसो नै जिल्ला समन्वय समिति, प्रमुख जिल्ला अधिकारी, शिक्षक र नेपाल पत्रकार महासंघ डडेल्धुरा शाखाबीचको मैत्रीपूर्ण भलिबल प्रतियोगिता सम्पन्न गरिएको छ। 

जिल्ला सदरमुकाम खलंगास्थित महेन्द्र माविमा भएको मैत्रीपूर्ण भलिबलको उपाधि जिल्ला समन्वय समिति, डडेल्धुराले जितेको छ। प्रमुख जिल्ला अधिकारीको टीमलाई ३–० को सोझो सेटमा पराजित गर्दै जिससको टोली उपाधि जित्न सफल भएको हो। प्रजिअको टोली उपविजेता बनेको थियो । शुक्रबार विजेता र उपविजेता टोलीलाई प्रमाणपत्रसँगै मेडल प्रदान गरिएको छ। 

संविधान दिवसकै अवसरमा बुधबार मैत्रीपूर्ण फुटबल प्रतियोगिता सम्पन्न गरिएको थियो।  जिल्ला समन्वय समिति डडेल्धुराका प्रमुख गणेशराज भट्ट र प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलको टिमबीच मैत्रीपूर्ण फुटबल सम्पन्न गरिएको थियो। डडेल्धुराको टुँडिखेलमा सञ्चालित खेलमा दुबै टोलीले पेनाल्टीसहित ३–३ गोलको बराबरी खेलेका थिए। विजेता दुबै टोलीलाई प्रमाणपत्रसँगै मेडल प्रदान गरिएको छ। 

दिवसकै अवसरमा असोज ४ गते बिहान ९ बजे डडेल्धुरा कारागारमा रहेका कैदीबन्दीलाई फलफूल वितरण गर्ने कार्यक्रम रहेको प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले जानकारी दिए।

 

 

 

 

 

 

 

 

 

 

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.