|

म्याग्दी : दशैं तिहार जस्ता मुख्य चाडपर्वहरु नजिकीदै जाँदा म्याग्दीको नयाँ पर्यटकीय स्थल ‘लभ्लीहिल’ (मायालु डाँडा) मा तन्नेरीहरुको भीड लाग्न थालेको छ। तन्नेरीहरुको भीडले गर्दा लभ्लीहिलमा पे्रमिल माहोल शुरु भएको छ।

वर्षा सकिएर शरद ऋतु शुरु भएसंगै म्याग्दीको सदरमुकाम बेनी बजारदेखि नजिकै बेनी नगरपालिका वडा नं २ खबरामा अवस्थित लभ्लीहिल (मायालु डाँडा)मा युवायुवतीहरुको भीड लाग्न थालेको हो।

सदरमुकाम बेनीबजारदेखि करिब आधा घण्टाको दुरीमा रहेको ‘मायाँलु डाँडा’ (लभ्लीहिल) मा केही दिनयता युवायुवतीहरु आउने क्रममा उल्लेख्य बृद्धि भएको स्थानीय चन्द्रबहादुर कार्कीले बताए। शनिवार (आज) विहान मात्रै एक सयको हाराहारीमा युवायुवतीहरु लभ्लीहिलमा आएका कार्कीले जानकारी दिए।

हिजोआज म्याग्दीका मात्रै होइन देशका विभिन्न जिल्लाबाट आएका व्यक्तिहरुका साथै विदेशीहरुको समेत यहाँ भीड लाग्न थालेको उनको भनाइ थियो।

खाजा लिएर आउनेहरु गुलाबको फूल बोकेर आउन थाले

पहिला पहिला खाजाका विभिन्न परिकारहरु बोकेर आउने युवायुवतीहरु हिजो आज  गुलाब र विभिन्न जातका फूलहरु लिएर एकापसमा साटासाट गरेका दृश्यहरु देखिने गरेका लम्भीहिल हरितपार्क निर्माण समितिका अध्यक्ष हरिलाल घिमिरेले जानकारी दिए।

‘विभिन्न आधुनिक पोसाकहरुमा सजिएर वाइक, स्कुटी लगायतका सवारी साधनहरुमा यहाँ आउने युवायुवतीहरुको संख्या पहिलेको तुलनामा केही दिनयता सत्प्रतिशतले बृद्धि भएको छ’ घिमिरेले भने ‘युवायुवतीहरुको संख्या बृद्धि संगै यहाँका कृषि उपज र फलफूलहरुको पनि व्यापार बढेको छ।’

पूर्वाधारसँगै पर्यटक बढे

लभ्लीहिलमा रेलिङ, गोलघर,खाजाघर लगाएतका पूर्वाधारहरु निर्माण गरिएपछि पर्यटकहरुको आकर्षण बढ्दै गएको हो।  साविकको ज्यामरुककोट गाविसमा पर्ने खबरा गाउँ नजिकै रहेको ‘खाराको डाँडो’ अहिले लभ्लीहिल बन्न पुगेको छ।

म्याग्दी सदरमुकाम बेनीबजारदेखि नजिकै रहेको पर्यटकीय गन्तव्यको सम्भावना बोकेको लभ्लीहिलमा अहिले दिनहुँजसो सयौंको सङ्ख्यामा आन्तरिक पर्यटकको चहलपहल बढेको छ। स–साना बालबालिकादेखि पाका उमेरका मानिसहरु लभ्लीहिलमा पुग्ने गरेका छन्। लभ्लीहिलको डिलबाट सुन्दर र आकर्षक देखिने बेनीबजारलाई पिठ्युँमा पारेर फोटो खिच्न खासगरी तन्नेरीहरु पुग्ने गरेका लभ्लीहिलको नजिकै रिजाल एग्रो फर्म संचालन गरेका दीर्घप्रसाद रिजालले जानकारी दिए।

लभ्लीहिलबाट चारैतिरको दृश्य अवलोकन गर्न सकिने र गर्मीयाममा शीतलताको खोजीमा मानिसहरु आउने गरेको उनको भनाई छ। पहिले केही सीमित मानिस पुग्ने ठाउँ पछिल्लोपटक लभ्लीहिल बनेपछि समूह–समूह बनाएर दैनिक रुपमा युवा पुस्ताहरु पुग्ने गरेका रिजालले जानकारी दिए। सामान्य समयमासमेत लभ्लीहिलमा मानिसको उपस्थिति देखिन्छ भने विदाको समय र शनिबारको दिनमा त झन् भीडै लाग्ने गरेको छ। प्रायः कलेज पढ्ने उमेरका युवायुवतीहरु लभ्लीहिलमा आउने गरेका स्थानीय नारायण कार्कीले बताए।

प्रवासी म्याग्देलीहरुलाई साझेदार बनाएर नयाँ अवधारणा अनुसार हाँडेभीर–बेनी जोड्ने म्याग्दी नदीको पुल नजिकैबाट पदमार्ग निर्माण गरिएको छ। पदमार्ग निर्माण भएपछि लभ्लीहिलमा पुख्ने आन्तरिक तथा बाह्य पर्यटकको संख्या तीन गुणाले बढेको स्थानीय धु्रब कार्कीले बताए।

म्याग्दी भ्रमण वर्ष २०७५ को अवसर पारेर सरकारी निकाय,निजी क्षेत्र र प्रवासी म्याग्देलीको संयुक्त साझेदाीमा पर्यटन पूर्वाधार योजना अन्तर्गत पदमार्ग निर्माण गरिएको म्याग्दी उद्योगवाणिज्य संघका अध्यक्ष उत्तमकुमार कर्माचार्यले जानकारी दिए।

कुल ५७ लाख,आठ हजार, २ सय,६० रुपैयाँ लागतमा निर्माण भएको पदमार्गमा बेनी नगरपालिका,मोना र उद्योग वाणिज्य संघद्धले क्रमशः५०,४० र १० प्रतिशत लगानी गरेका हुन्।

बेनीदेखि आधा घन्टाको दूरीमा रहेको लभ्लीहिलबाट बेनीबजार, गलेश्वर, पौलस्त्य आश्रम, पुलाचौर, भकिम्लीको स्वर्गाश्रम, पर्वत बेनी र मल्लाजलगायतका क्षेत्रहरु देख्न सकिने लभ्लीहिलमा घुम्न आएका बेनी नगरपालिका ५ पुलाचौरका शिव बानियाँले जानकारी दिए।

पर्यटकीयस्थलको दृश्यावलोकन

यसैगरी म्याग्दी जिल्लाको अधिकांश भू–भागका साथै उत्तरी पर्वतको जलजला गाउँपालिकासहित संसारको सातौं अग्लो चुचुरो धौलागिरी, अन्नपूर्ण हिमाल तथा सूर्योदय र सुर्यास्तकोसमेत मनमोहक दृश्य अवलोकन गर्न पाइन्छ। बेनी बजार आसपासका क्षेत्रबाट बग्ने म्याग्दी र कालीगण्डकी नदीको बहावलगायत आकर्षक दृष्यको अवलोकन गर्न सकिने धौलागिरि पर्यटन परिषद् म्याग्दीका अध्यक्ष अमर बानियाँले बताए।

केही वर्षयता दैनिकजसो समूह बनाएर घुम्न जाने स्थानमा परेको लभ्लीहिललाई आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्नेगरी पर्यटकीय गन्तव्य बनाउनुपर्ने जिल्लाका पर्यटन व्यवसायीहरुले माग गरेका छन्। लभ्लीहिल पुग्नका लागि पदमार्ग, रेष्टुरेन्ट, भ्यू टावर, स्वीमिङ पुललगायत बालबालिकादेखि वृद्धवृद्धासम्मलाई रमाउनेस्थलका रुपमा स्थापित गर्न सकेको खण्डमा पर्यटन व्यवसाय समेत फस्टाउने सम्भावना रहेको पर्यटन व्यावसायी एवम् बेनी टाभल एण्ड टुर्स प्रालिका संचालक भोजवहादुर रिजालले बताए।

लभ्लीहिलमा गत आर्थिक वर्ष २०७३÷७४मा पर्यटन कार्यालय पोखरा, बेनी नगरपालिकाको आर्थिक सहयोग र स्थानीयवासीको श्रमदानमा भौतिक पूर्वाधारको विस्तार गरिएको लभहिल पर्यटन पूर्वाधार विकास उपभोक्ता समितिले जनाएको छ। कुल १२ लाखको लागतमा लभ्लीहिलमा गोलघर (भ्यु प्वाईन्ट), रेलिङ र बस्नका लागि आरामदायी बेन्चलगायतका पूर्वाधारहरुको निर्माण गरेसँगै त्यहाँ पुग्ने पर्यटकको सङ्ख्यामा वृद्धि भएको लभहिल पर्यटन पूर्वाधार विकास उपभोक्ता समितिका अध्यक्ष धु्रबराज कार्कीले बताए।

साघुरो बेनी बजारमा युवायुवती र बृद्धबृद्धाहरुका लागि रमाउने र आराम गर्ने ठाउँको अभाव खड्किरहेको अवस्थामा लभहिलमा भौतिक पूर्वाधारहरु निर्माणसंगै उचित वातावरणको व्यवस्था गर्न सक्ने हो भने यहाँ आन्तरिक तथा बाह्य पर्यटकहरुको आगमनमा बृद्धि हुने स्थानीयको उपेक्षा रहेको छ।

कृषि गाउँको रुपमा परिचित खबरा र प्राकृतिक दृश्यावलोकनका लागि अति उपयुक्त स्थान लभ्लीहिलमा विशेष अवसरमा मात्रै होइन सधैभरी पर्यटकहरुलाई आकर्षित गर्ने उद्धेश्यले यहाँ हरित पार्क निर्माण गरिएको स्थानीय अगुवा एवम् लभहिल पर्यटन पूर्वाधार विकास उपभोक्ता समितिका अध्यक्ष कार्कीले बताए।

बेनी लभ्लीहिल जोड्ने पदमार्ग निर्माण

म्याग्दीको पर्यटकीयस्थल लभ्लीहिल जाने पदमार्गको निर्माणकार्य सकिएको छ।

म्याग्दीको  सदरमुकाम बेनीबाट छोटो र सुन्दर गन्तब्यको रुपका विकसित भइरहेको बेनी नगरपालिका–२, ज्यामरुककोटस्थित खबरामा रहेको पर्यटकीयस्थल लभ्लीहिल पुग्ने पदमार्ग निर्माण भएपछि आन्तरिक तथा बाह्य पर्यटकहरुको भीड लाग्न थालेको अध्यक्ष कार्कीको भनाइ छ।

म्याग्दी नदीमाथि रहेको बेलिब्रिज नजिकबाटलभ्लीहिलसम्म पुग्ने पदमार्ग निर्माणमा बेनी नगरपालिका, प्रवासी र निजी क्षेत्रको सहकार्यमा पर्यटन विकासका लागि लभ्लीहिल सम्म पुग्नका लागि मोना–बेनी–लभ्लीहिल पदमार्ग नामाकरण गरिएको पदमार्गको गत २०७५ भदौ ८ गते शिलन्यास गरिएको थियो।

बेनी–बगरफाँट सडक नजिकबाट सुरू गरिएको पदमार्गको ढलान सहित आवश्यक संरचना बताइएको म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तमकुमार कर्माचार्यले बताए।

उनका अनुसार आन्तरिक तथा बाह्य पर्यटकलाई सहज आवतजावतका साथै नगरपालिका भित्रका पर्यटकीय गन्तब्यलाई चिनाउने अभियानलाई पदमार्ग निर्माणमा बेनपाले ५० प्रतिशत, मोना आईइसीले ४० र म्याग्दी उवा संघले १० प्रतिशत रकम बेहोर्ने त्रिपक्षीय सहमति  भएको थियो।

३ सय ९५  मिटर उकालोमा १.८ मिटर चाक्लो, पक्की सिँढी र दायाँबायाँ रेलीङ सहितको पदमार्ग निर्माण गर्न मोनाले करिव ३२ लाख आर्थिक सहयोग गर्ने छ। पदमार्गको प्रारम्भीक चरणमा ५७ लाख ८ हजार ९०६  रुपैयाँ लागत अनुमान गरिएपनि ७९ लाखमा पदमार्ग निर्माण भएको म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष कर्माचार्यको भनाइ रहेको छ।

पदमार्गसँगै नगरपालिकाले लभ्लीहिलमा यूद्ध स्मारिका पार्क सहित डिभिजन बन कार्यालयले समेत बन वाटिका बनाइएको बेनी नगरपालिका प्रमुख हरिकुमार श्रेष्ठले बताए।   सामुदायिक बन उपभोक्ता समितिलाई समेत आम्दानी हुने गरी फलफुलका विरुवाका साथै ठाँउठाँउमा आवश्यकता अनुसार सानो बगैचा र विश्रामस्थल समेत बनाइएको छ।

बेनीको शीरमा अवस्थित लभ्लीहिलमा नगरपालिका सहित विभिन्न संघसंस्थामार्फत आरामदायी बेन्च, गोलघर (भ्यु प्वाईन्ट) र चौतारी लगाएतका संरचना बनेका छन्। बेनीदेखि आधा घन्टाको दूरीमा रहेको लभ्लीहिलबाट बेनीबजार, गलेश्वर, पौलस्त्य आश्रम, भकिम्लीको स्वर्गाश्रम उत्तरी पर्वतको जलजला गाउँपालिकासहित संसारको सातौं अग्लो चुचुरो धौलागिरि, अन्नपूर्ण हिमाल तथा सूर्योदयको समेत अवलोकन गर्न पाइने शनिवार (आज) विहान लभहिलको भ्रमणमा गएका म्याग्दीका पत्रकार हरिकृष्ण गौतमले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.