|

बैतडी : बैतडी प्रहरीसँग आफ्ना भवन नहुँदा समाजमा शान्ति सुरक्षा कायम गर्न चुनौती देखिएको छ। जिल्लाका विभिन्न ठाउँमा प्रहरी असुरक्षित भवनमा बस्न बाध्य भएका छन्। प्रहरीका आफ्नै भवन नहुँदा उनीहरूले भाडाका घरमा चौकी राखेर सेवा दिइरहेका छन्। भाडाका घरहरू पनि जीर्ण भएकाले सेवा दिन समस्या भएको प्रहरीले जनाएको छ।

जिल्लामा रहेका १७ वटा प्रहरीचौकी भाडाको भवनमा सञ्चालनमा रहेका छन्। भाडामा लिएका घरहरू पनि धेरै जसो जीर्ण अवस्थामा रहेका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक किसन चन्दले बताए। उनले भने 'गाउँमा रहेका अधिकांश चौकी भाडाको भवनमा रहेका र ती चौकी पनि जीर्ण अवस्थामा रहेका छन्।'

उनका अनुसार सदरमुकाम नजिकैका बाराकोटा, थालिगडा, सेरा, सतबाँझका प्रहरीचौकी भाडाको भवनमा छन्। ती पनि जीर्ण भवनमा रहेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ। यस्तै, नागार्जुन, खोचलेक, गोकुलेश्वर, कुलाउ, शंकरपुर, रोडीदेवल, कुस्मौदघाट, महाकाली, हल्दुविनायक, शिवलिंग र धर्मघाट प्रहरीचौकी भाडाका भवनमा बसेका प्रहरी निरीक्षक चन्दले बतए।

'भाडाको भवन पनि जीर्ण हुँदा सेवा प्रवाह गर्न निकै समस्या हुने गरेको छ। भवन जीर्ण हुँदा वर्षतको समयमा पाल टाँगेरसमेत सेवा दिनुपर्दछ। आफ्नो भवन नहुँदा कसैलाई नियन्त्रणमा लिँदा प्रहरीसँगै सुताउनुपर्ने बाध्यता रहेको छ' उनले भने 'कुनै व्यक्तिलाई हिरासतमा राख्दासमेत प्रहरीले आफैँसँग राख्नुपर्ने बाध्यता छ दुर्गममा प्रहरी संख्या कम हुन्छ, त्यसैमा पनि अभियुक्तसँगै प्रहरी बस्दा असुरक्षित महसुस हुने गरेको छ।'

तत्कालै नयाँ भवन बन्ने कुनै योजना नआएको नभएको बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेयले बताए। जिल्लामा रहेका प्रहरी चौकीसँग धेरै ठाउँमा आफ्नो जमीन र भवन दुवै छैन भने केही ठाउँमा जमीन भए पनि भवन  नभएको उनको भनाइ छ।

नागरिकको सुरक्षा गर्ने प्रहरी नै असुरक्षित भवन बस्दा सुरक्षा क्षेत्रमा चुनौती हुने जगन्नाथ बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख पृथ्वीराज अवस्थीले बताए। 'समाजमा शान्ति सुरक्षा कायम गर्ने प्रहरी आफैँ असुरक्षित हुँदा शान्ति सुरक्षा कायम गर्न असहज हुँने गर्छ' उनले भने। सशस्त्र द्वन्द्वका बेला विद्रोही पक्षले बैतडीका अधिकांस प्रहरी भवन ध्वस्त पारेका थियो। 

७ करोडमा आधा दर्जन सुविधा सम्पन्न भवन

बैतडीमा अधिकांश प्रहरीचौकी जीर्ण भवनमा सञ्चालन भइरहँदा समस्या हुने गरेको भए पनि आधा दर्जन प्रहरी भवन भने सुविधा सम्पन्न छन्। 

जिल्ला प्रहरी कार्यालयको ब्यारेक भवन, सीमा प्रहरी चौकी, झुलाघाट, इलाका प्रहरी कार्यालय पाटन, इलाका प्रहरी कार्यालय मेलौली, प्रहरी चौकी खोडपे, प्रहरी चौकी पुरघाटमा पनि प्रहरीका सुविधा सम्पन्न भवन रहेका छन्। शान्ति तथा पुनर्निर्माण मन्त्रालयले बैतडीमा करिब ७ करोडको लगानीमा प्रहरी भवन निर्माण गरेको छ।

जिल्ला प्रहरी कार्यालय बैतडीको सुविधासम्पन्न ब्यारेक भवन गत आर्थिक वर्ष २०७५/०७६ मा  २ करोड ५ लाख रुपैयाँको लागतमा उक्त भवन निर्माण भएको छ। यस्तै, सीमा प्रहरी चौकी झुलाघाट १ करोड ८ लाख ६६ हजार ५ सय ५३, प्रहरी चौकी पुरघाट १ करोड ८ लाख ६६ हजार ५ सय ५४, इलाका प्रहरी कार्यालय पाटन ७९ लाख ९१ हजार ७ सय ६, इलाका प्रहरी कार्यालय मेलौली ७९ लाख ४८ हजार ७ सय ७०  र प्रहरी चौकी खोडपे १ करोड ८ लाख ६६ हजार ५ सय १४ रुपैयाँको लगानीमा निर्माण गरिएका छन्। बैतडी प्रहरीले जिल्लाका विभिन्न ३० स्थानवाट शान्ति सुरक्षा कायम गरिरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.