|

संखुवासभा : मंगलबार राति अरुण नदीमा ६ जना सवार जिप दुर्घटना हुँदा बेपत्ता यात्रु र जिप पत्ता नलागेपछि गोताखोर टोलीले फकिएको छ। गोताखोर टोलीले तीन दिनसम्म खोजी गर्दा पनि बेपत्ता यात्रु र जिप पत्ता नलागेपछि काठमाडौं फकिएको हो।

बेपत्ता जिप र यात्रुको खोजी गर्न बिहीबार गोताखोरको टोली घटनास्थल आइपुगेको हो। शनिबार पनि माथिल्लो क्षेत्रमा निरन्तर वर्षा कारण अरुण नदीको बहाव उच्च र धमिलो भएको छ। बेपत्ताको खोजी गर्न नयाँ प्रविधि नभएका कारण खोजी कार्यमा समस्या भएको टोलीले जनाएको छ। बेपत्ता यात्रुको खोजी चितवनबाट सशस्त्र प्रहरीका वरिष्ठ हवलदार बलराम अधिकारीको कमाण्डमा चारजना गोताखोरको टोली घटनास्थल संखुवासभा आएको थियो।

गोताखोर टोलीले शनिबार पनि बेपत्ता यात्रु र जिप पत्ता लगाउन नसकेपछि काठमाडौं फर्किएको प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलालले जानकारी दिए। बेपत्ता यात्रु र जिपको खोजी प्रहरी र स्थानीयले मंगलबार रातिदेखि नै गरिरहेको भए पनि फेला पार्न नसकेपछि गोताखोर बोलाइएको थियो। गोताखोरलाई बुधबार नै बोलाइएको भए पनि खराब मौसमका कारण बिहीबार मात्र घटनास्थलमा पुगेको थियो।

बिरामी बोकेर मंगलबार राति सदरमुकाम खाँदबारी धरान जाँदै गरेको जिप राति साढे १० बजे धर्मदेवी नगरपालिका–८ अक्करको भीरबाट अरुण नदीमा खसेको थियो।  जिप दुर्घटनाबाट खाँदबारी नगरपालिका–९ का २४ वर्षीय संगम श्रेष्ठ उनकी श्रीमती २३ वर्षीय सदीक्षा श्रेष्ठ उनको दुई महिनाको छोरा समिर श्रेष्ठ बेपत्ता भएका छन्। उनीहरू तीनैजना एकै परिवारका हुन्।

त्यस्तै, खाँदबारी-९ का  २४ वर्षीय प्रमेश थापा मगर, उनका भिनाजु जिल्ला खोटाङका २९ वर्षीय खबरमान पिठाकोटी र गाडी चालक खाँदबारी नगरपालिका-९ ढुंगेधाराका २५ वर्षीय सन्तोष बिक बेपत्ता भएका हुन्। बिरामी प्रमेश थापा मगर र समिर श्रेष्ठलाई जिल्ला अस्पताल खाँदबारीले रिफर गरेपछि थप उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लैजाँदै गर्दा जिप अक्करको भीरबाट ५० मिटर तल अरुण नदीमा खसेर बेपत्ता भएका हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.