|

चितवन : चितवन मेडिकल कलेजले विद्यार्थीसँग अवैधरूपमा  असुलेको बढी शुल्क फिर्ता गर्ने सहमति भएको छ। जिल्ला प्रशासन कार्यालयमा शनिबार भएको मेडिकल कलेज प्रशासन, आन्दोलनरत विद्यार्थी र अभिभावकबीचको वार्तामा बढी लिएको शुल्क ३० दिनभित्र फिर्ता गर्ने लिखित् सहमति भएको हो।

कलेजले शुल्क फिर्ता गर्ने र विगत लामो समयदेखि ठप्प रहेको पठनपाठन भोलिबाटै सुचारु गर्ने सहमति भएको प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले जानकारी दिए। यो सहमतिसँगै विद्यार्थीको आन्दोलन तत्कालका लागि स्थगित भएको छ।

शनिबार बिहान १० बजेबाट साँझ ५ बजेसम्म प्रशासन कार्यालयमा वार्ता भएको थियो। प्रमुख जिल्ला अधिकारी बस्नेतको रोहवरमा भएको वार्तामा कलेजका प्रमुख हरिस न्यौपाने, प्रमुख प्रशासक प्रताप देवकोटा, आन्दोलनरत विद्यार्थी प्रकाश चन्दको नेतृत्वमा विद्यार्थी र अभिभावक सहभागि भएका थिए।

मेडिकल कलेजले सरकारले तोकेभन्दा १२ लाखभन्दा बढी शुल्क अवैध रूपमा असुलेको भन्दै विद्यार्थी चरणबद्ध आन्दोलनमा रहेका थिए। विद्यार्थी आन्दोलित बनेपछि विगत १९ दिनदेखि कलेजको पठनपाठन ठप्प रहेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.