|

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले नेताहरूले बोलेको नबुझेको भन्दै दिएको सार्वजनिक मन्तब्यबारे जनमत विभाजित भइरहेका बेला सत्तारूढ नेकपाका एकजना सांसदले प्रमुख प्रतिपक्षी नेता शेरबहादुर देउवालाई लक्षित गर्दै कडा प्रतिक्रिया दिएका छन्। 

पूर्वडिआइजीसमेत रहेका नेकपाका सांसद नवराज सिलवालले देउवामाथि सरकारी निकायमाथि तीव्र राजनीतिकरण गरेको भन्दै त्यसका लागि सार्वजनिकरूपमा माफी माग्न भनेका छन्। 

राष्ट्रपति विद्यादेवी भण्डारीले नेताहरूले बोलेको नबुझेको भन्दै शुक्रबार गरेको व्यंग्यप्रति लक्षित गर्दै सांसद सिलवालले सभापति देउवाको तस्बिर राखेर उनैमाथि प्रहार गरेका हुन्। 

‘पुलिसमा राजनीति, अदालतमा राजनीति पूर्वप्रधानमन्त्रीसमेत रहेका माननीय शेरबहादुर देउवाजीले गर्नुभएको हो', उनले लेखेका छन्, 'सम्माननीय राष्ट्रपतिसमक्ष आवेश पोखेर होइन, सुझबुझपूर्ण संस्थाहरू निर्माण र मुलुकको समृद्धि अभियानमा रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्नुस् ।’

सांसद सिलवाल त्यतिमै रोकिएका छैनन् । उनले देउवाले सार्वजनिक माफी नै माग्नुपर्ने अडान राखेका छन् । 'हिजोका तपाईंका अकर्मण्यताहरूबाट सार्वजनिक (सरकारी) निकायहरूमा भएको राजनीतिकरणले पुगेको क्षतिका लागि सार्वजनिकरूपमा क्षमायाचना गर्नुस्', सिलवालले देउवालाई भनेका छन्। 

नेपाली कांग्रेस-माओवादी केन्द्र गठबन्धन सरकारमा पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री हुँदा देउवाकै कारण सिलवाल नेपाल प्रहरीको महानिरिक्षक हुन पाएका थिएनन्। 

प्रहरी महानिरीक्षककै प्रकरणमा तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्कीमाथि महाअभियोग लगाउन पनि भूमिका खेलेकोतर्फ इंगित गर्दै सिलवालले देउवाको अर्कमण्यताका कारण नागरिक संस्थाहरूमा राजनीतिकरण भएको बताएका हुन्। 

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.