|

अमेरिकाले साउदी अरबमा सेना पठाउने घोषणा गरेको छ। साउदी अरबको तेल कम्पनी अराम तेल भण्डारमाथि ड्रोन हमला भएपछि अमेरिकाले त्यहाँ आफ्नो सेना तैनाथ गर्ने घोषणा गरेको हो।

अमेरिकाले सेना साउदीमा राखे पनि निशानामा भने इरान रहेको छ। इरानसँगको सम्बन्ध तिक्त बनेपछि अमेरिका साउदी अरबमा सेना पठाउन खोज्दै थियो। तेल कम्पनीमाथिको हमला अमेरिकाका लागि सेना पठाउने उपयुक्त मौका भएको बताइएको छ।

अमेरिकी रक्षामन्त्री मार्क एस्परले साउदी अरबमा सेना पठाउने बताएका छन्। उनले कति संख्यामा सेना पठाउन लागेको हो भनेर स्पष्ट पारेका छैनन्।

साउदी अरबका तेल कम्पनीमा भएका हमलाको जिम्मेवारी यमनका हुथी विद्रोहीले लिएका थिए। हुथी विद्रोहीलाई इरानको समर्थन रहेको बताइएको छ।

उक्त हमलाको आरोप अमेरिका र साउदी अरबले इरानमाथि लगाइरहेका छन्। यता, अमेरिका र इरानबीच सम्बन्ध तिक्त बनेको अवस्थामा छ।

शुक्रबारमात्र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि कडा प्रतिबन्ध लगाउने घोषणा गरेका थिए। जसको असर इरानको केन्द्रिय बैंकमाथि पर्ने बताइएको छ। उनले युद्धमा भने जान नलागेको बताए।

इरानले भने आफूमाथि हुने कुनै पनि प्रकारको हमलाको प्रतिकार गर्ने बताएका छन्। इरानको रेभुल्युसनरी गार्डका कमान्डर मेजर जनरल हुसैन सलामीले इरानमाथि हुने कुनै पनि प्रकारको हमलाको बदला लिने बताएका थिए। उनले त्यस्तो हमलाको प्रतिकार गरिने बताएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.