|

दाङ : गभर्नर चिरन्जीवी नेपालले अब सबै सहकारीलाई नेपाल राष्ट्र बैंकले सुक्ष्म निगरानीमा राख्ने बताएका छन्। ठूलो वा सानो जुनसुकै रूपमा भए पनि वित्तीय क्षेत्रमा काम गर्ने वित्तीय सहकारीको आर्थिक क्रियाकलापलाई बैंकले निगरानीमा राख्ने नीति लिएको बताए।

महिला सामुदायिक लघुवित्तको २५औँ रजत जयन्तीको उपलक्ष्यमा घोराहीमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै गभर्नर नेपालले परिवार, समाजको विश्वासको पात्र महिला भएको कारण महिला सशक्तीकरण र आर्थिक रूपान्तरको काम वित्तीय क्षेत्रबाटै हुने बताए। उनले नेपालमा महिला वित्तीय पक्षमा सक्षम भए मात्र देशमा समृद्ध आउने बताए।

गभर्नर नेपालले जनताले दुःख गरेर, विश्वास गरेर जम्मा गरेको पैसा सुरक्षित राखिदिनको लागि लघुवित्त संस्थालाई आग्रह गरे। गाउँघरमा गरिब परिवारका महिलाले दुःख गरेर कमाएको पैसा लघुवित्तलाई विश्वास गरे जम्मा गरेको हुँदा उनीहरूको विश्वासलाई कायम राख्नुपर्ने उनको भनाई थियो।

त्यसैगरी, गभर्नर नेपालले जनताले विश्वास गरेर बचत गरेको रकमलाई सहि ठाउँमा लगानी गर्न र सुरक्षित फिर्ता गर्न समेत आग्रह गरे। अहिले नेपालका ७५३ वटा ठाउँमा वाणिज्य बैंकको शाखा खुलेका छन्। देशभर ८ हजार ८ सय ४९ वटा अन्य बैंकका शाखा स्थापना भएका छन्। जनसमुदालाई आर्थिक क्रियाकलापको लागि सहयोग होस्, आर्थिक कारोवारको माध्यम बनोस् भन्ने सोच राखेर नै सबै ठाउँमा बैंकको कारोवारलाई रोकतोक नलगाइएको समेत उनले बताए।

त्यसैगरी, कार्यक्रममा नेपाल राष्ट्र बैंक प्रदेश  ५ का निर्देशक राजेन्द्र भट्टराईले अब लघुवित्त क्षेत्रमा काम गर्ने सहकारीले व्यक्तिलाई ऋण लगानी गरेर मात्रै संस्थाको उद्देश्य पूरा नहुने बताए। उनले सबै लघुवित्तलाई ऋण प्रवाहसँगै व्यक्तिलाई व्यवसायको लागि बाटो देखाउनको लागि पनि पहल गर्नुपर्ने समेत बताए। व्यक्तिलाई सीप सिकाउनेदेखि उनीहरूले चाहेको व्यवसाय गर्नको लागि के कस्ता प्रक्रिया आवश्यक पर्छ त्यसको पनि पहल गर्नुपर्ने उनको भनाइ थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.