|

काठमाडौं : पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस पार्टीका वरिष्ठ नेता झलनाथ खनालले मुलुकमा राजनीतिक परिवर्तन सम्पन्न भइसकेकाले अब आर्थिक विकासमा जुट्नुपर्ने बताएका छन्।लेखक तथा साहित्यकार भानु भण्डारीको ‘सांस्कृतिक क्रान्तिका आधार’ तथा ‘होलेरी’ कथा संग्रहको शनिबार विमोचन गर्दै खनालले सिंगो मुलुक समाजवादी बाटोतिर अघि बढ्नुको कुनै विकल्प नभएको बताए।

खनालले भने, ‘समाजवादतर्फ अघि बढ्न नीति, सिद्धान्त र व्यवहारले हाम्रो पार्टी स्पष्ट हुनुपर्छ।‘ नेपाली समाजलाई दलाल पूँजीवादले नराम्ररी प्रभावित बनाएको उल्लेख गर्दै पूर्वप्रधानमन्त्री खनालले दुईतिहाई बहुमतको सरकारलाई पनि कर्मचारीतन्त्र र प्रशासनले नटेर्नु दुःखद् भएको टिप्पणी गरेका थिए।

कार्यक्रममा नेकपाको सांस्कृतिक विभाग प्रमुख मणि थापाले पुस्तकले बलिदानी र सङ्घर्षबाट प्राप्त उपलब्धि गुम्न सक्ने खतराप्रति सतर्क गराउन खोजेको बताए। समालोचक तथा विश्लेषक प्राडा गोपिन्द्र पौडेलले पुस्तकको विषयवस्तुमा विदेशी हस्तक्षेपका साथै समाजमा विद्यमान विकृति विसङ्गतिको विषयमा राम्रो चित्रण गरिएको बताए।

प्राध्यापक निर्मला पोखरेलले पुस्तकको समालोचना गर्दै भने, ‘तीन सयभन्दा बढी अनुसन्धानकर्ताको अध्ययन गर्नु, विश्वदेखि नेपाल भित्रका सयौँ अध्येयताको अध्ययन गर्नु चानेचुने कुरा होइन।‘ लेखक भण्डारीले समाज परिवर्तनकै आधारमा सांस्कृतिक परिवर्तन हुने भएकाले सबैले अधुरो क्रान्ति आ–आफ्नो स्थानबाट पूरा गर्ने आधार तयार गर्नुपर्ने बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.