|

तनहुँ : बाला लाग्ने बेलाको धानमा मल छर्नुपर्ने भएपनि समयमा मल आपूर्ति नहुँदा समस्या किसान खेप्न बाध्य छन्। समयमा कृषकले रासायनिक मल नपाउँदा किसान चिन्तित बनेका हुन्। धानको बाला लाग्ने बेला भइसक्दा पनि मल नपाउँदा किसान कम उत्पादन हुन्छ भन्ने चिन्तामा छन्।

भण्डारमा मल आउनासाथ सहकारी संस्थामार्फत् किसानलाई वितरण गर्ने गरिएको भएपनि मल नपाउँदा खिन्न बनाएको किसानहरु बताउँछन्। धानलाई आवश्यक परेको बेलामा मल पुर्‍याउन नसक्दा उत्पादन कम हुने पिर परेको उनीहरुको भनाई छ।

झरी, हुरी, बतास केही नभनी कृषि कर्ममा व्यस्त रहने किसानहरु अहिले मलका लागि विक्रेता सहकारीहरुमा लाइनमा बस्न बाध्य छन्। मल कम आएको थाहा पाएपछि कृषि सहकारीहरुको अगाडि लाइन बसेका कृषकहरु मल नपाएर रित्तो हात फर्किन बाध्य छन्। बाला लाग्न लागेको धानमा मल राख्न नपाउँदा उत्पादन घट्ने चिन्ता परेको भानु नगरपालिका–१२ की अन्नपूर्णा देउजाले बताइन्।

‘मल बाडेको छ भनेर थाहा पाएको यत्रो दिन भइसक्यो, मल पाइएको छैन, कहिलेसम्म लाइनमा बस्नुपर्ने हो खै,’ उनले भनिन् । साउन, भदौ महिनामा मलको सिजन भएपनि मल ढिलो गरी आउँदा किसानहरु सबेरै लाइनतिर धाउने गरेका छन्। नेपाल सरकारले कृषि पेशालाई प्राथमिकता दिएको भएपनि आवश्यक मल समयमा आपूर्ति गर्न नसक्दा समस्या बारम्बार हुने गरेको छ।

भदौ २९ गते २१ टन र गत बुधबार २१ टन गरी ४२ टन मल आएपछि कृषकलाई बाड्नका लागि जिल्लाका ५६ कृषि सहकारीहरु मार्फत् वितरण गर्न लगाइएको कृषि सामग्री कम्पनी लिमिटेड उपशाखा कार्यालय दमौलीका शाखा प्रमुख बलबहादुर पन्थले जानकारी दिए।

भण्डारमा मल भित्रिएपछि बुधबारबाट वितरण थालिएको र आवश्यक मल भण्डारमा समेत आइनपुग्दा समस्या भएको पन्थले बताए। ‘नेपालमै मल नपाइने र भारतको भर पर्नुपर्दा पनि यो समस्या दोहोरो तेहेरो भइरहेको छ, सरकारले समयमा मल खरिद गरी शाखा, उपशाखाहरुमा मल पुर्‍याउन सकिएको छैन, अहिले भण्डारणमा पनि मल छैन, यहाँ दुई पटक गरेर ४२ टन मल आइपुग्ना साथ सहकारीहरुलाई वितरण गर्न लगाइएको हो,’ उनले भने ‘केही किसानको माग पुरा गर्न सकिने भएपछि सहकारीमार्फत् बजारमा पुर्‍याएका छौं।’

केही कृषकहरु कार्यालयमै पुगेर पनि भण्डारणमा भएको मल वितरण गर्न माग गरेका थिए । भण्डारणमा मल नै नभएपछि कृषकहरु रित्तो हात घर फर्किएका थिए। भण्डारमा मल भएको भए किसानको माग अनुसार मल सहकारीलाई उपलब्ध गराउने कार्यालयले जनाएको छ। प्रत्येक कृषकलाई १० किलोग्राम मल वितरण गर्न विक्रेता सहकारीलाई निर्देशन दिइएको पन्थले बताए।

८÷९ महिने बच्चा सहित आएकी लाइन बस्न आएकी व्यास ५ पतेनीकी इन्द्रकला दरै भनिन् ‘अस्ति पानीमा रुझ्दै लाइनमा बस्दापनि मल पाइएन, आज पनि लाइनमा बस्दैछु, खेती किसानीलाई बाली धेरै भित्र्याउने आश हुन्छ, के गर्नु मल भने पाइएको छैन।’

‘सरकारले कृषि पेशालाई प्राथमिकता दिएको छ भन्छन् तर समयमा मल उपलब्ध गराउन सक्दैनन्, किसानको दुःख कसले बुझ्दिने खै?’ उनले भनिन्। मल भण्डारमा आउनासाथ विक्रेता सहकारीलाई खबर गरी वितरणका लागि पठाइने गरेको शाखा प्रवन्धक पन्थले बताए । ‘भण्डारमा आएको मल तीन जिल्लाका विक्रेता सहकारी संस्थाहरुलाई बोलाएर मल वितरण गरिन्छ, विक्रेता सहकारीलाई एक किसानले कम्तीमा पनि १० केजीसम्म मल दिन निर्देशन दिएका छौं,’ पन्थले भने ‘अब एक हप्तामा मलको समस्या हट्छ, किसानको माग पुर्ति गर्ने अपेक्षा गरेका छौं।’

सहकारीलाई समानुपातिक रुपमा युरिया मल उपलब्ध गराएपछि ती सहकारीहरुले किसान समक्ष विक्री वितरण थालेका छन्। व्यास नगरपालिका ३ स्थित नविन उपभोक्ता सहकारी संस्थाका संचालक अतिन्द्र केशरी न्यौपानेले बुधबार मात्रै एक टन युरिया मल बिक्री गरेको बताए। ‘हामीलाई प्राप्त भएको मल २ घण्टामै सकियो,’ उनले भने। ‘धानबालीमा युरिया मल हाल्ने समयमा साउनदेखि मल बेच्न पाएका थिएनौ मुस्किलले आएको मल केही छिनमै सकियो,’ उनले भने। माग अनुसार पुर्‍याउन नसकिएको गुनासो उनको छ।

किसानहरुलाई प्रतिकेजी २० रुपैयाँका दरले युरिया मल बिक्री गरेको विक्रेता सहकारीहरुले जानकारी दिएका छन्। पोटास र डिएपी मल भने कम्पनीमा मौज्दात रहेको शाखा प्रबन्धक पन्थले बताए।

युरिया मलले धानबाली बाला लाग्ने, बालीनाली सप्रने, गाज ठूलो बनाउने, उत्पादन राम्रो हुने भएकाले किसानहरु रासायनिक मलप्रति आकर्षित हुँदै आएका छन्। कृषि सामग्री कम्पनी लिमिटेड उपशाखा कार्यालय दमौलीले तनहुँ लगायत लमजुङको पुरै क्षेत्र र गोरखाको तल्लो भागलाई समेट्ने गरी मल उपलब्ध गराउने गरेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.