|

म्याग्दी : हिमाली जिल्ला म्याग्दीको विकट र दुर्गम क्षेत्रमा पर्ने धवलागिरी गाउँपालिका–६ बुलमा बिद्युत सुबिधा पुगेको छ।

गाउँपालिकाको सहयोगमा स्थानीयबासीले श्रमदान र नगद संकलन गरेर गाउँ झिलीमिली बनाएका हुन्। बुल गाउँका ४० घरमा बिजुली बलेको वडा अध्यक्ष राजाराम सुवेदीले जानकारी दिए।

छिमेकी मल्कवाङमा सञ्चालित नन्दीवाङखोला लघुजलविद्युत परियोजनाको विद्युत बुलमा विस्तार गरिएको हो। केन्द्रीय प्रशारण लाइनको विद्युत विस्तारको तत्काल सम्भावना नभएकाले लघुजलविद्युतको बिजुली विस्तार गरिएको वडा अध्यक्ष सुवेदीले जानकारी दिए।

बुलमा विद्युतीकरणका लागि धवलागिरी गाउँपालिकाले आर्थिक वर्ष २०७५÷७६ मा २५ लाख रुपैयाँ बिनियोजन गरेको थियो। बिजुलीका पोल र तार ढुवानी गर्न तीन लाख बीस हजार रुपैयाँ बराबरको श्रमदान गरेका उपभोक्ता समितिका अध्यक्ष नरबहादुर जुग्जालीले बताए।

गाउँपालिकाको अनुदानबाट १०४ किलोग्राम तौल भएका ५६ थान विद्युतका पोल र साढे सात किलोमिटर तार खरिद गरिएको थियो। पोल गाड्ने खाडल खन्न पनि श्रमदान गरेका थिए।

स्थानीयबासीबाट नगद संकलन गरेर नन्दीवाङखोला जलविद्युत परियोजनाको उपभोक्ता समितिलाई विद्युत खरिदका लागि सात लाख पचास हजार रुपैयाँ बुझाइएको थियो। मल्कवाङको मलम्पार सम्म पुगेको बिद्युतको लाइन विस्तार गरेर बुल पुर्‍याइएको हो। 

मल्कवाङमा तीन वर्षअघि निर्माण भएको ४८ किलोवाट क्षमताको नन्दीवाङखोला जलविद्युत परियोजनाको विद्युत उपभोग हुन नसकेर खेर गएको थियो। बुलका बासिन्दा यसअघि उज्यालोका लागि सोलार र टुकीमा निर्भर थिए।

विद्युत अभावमा सूचना प्रबिधि, मनोरञ्जन र उद्यम व्यवसायको अवसरबाट बञ्चित थिए। बिद्युत सुबिधा भएपछि स्थानीयको दैनिकि सहज भएको छ। विद्युतबाट चल्ने कुटानी पिसानी मिल सञ्चालन गरिएको छ।

गहुँ, मकै, कोदो पिस्नका लागि दुई घण्टा हिडेर बेशी पुग्नुपर्ने बाध्यता हटेको स्थानीय लक्ष्मी केसीले बताइन्। टिभी हेर्न, रेडियो सुन्न, मोवाइल चार्ज गर्न, ल्यापटप, कम्प्युटर चलाउन पाएका छन्। बालबालिकालाई उज्यालोमा बसेर पढ्न र स्थानीयलाई घरायसी काम गर्न सहज भएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.