|

भक्तपुर : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्‍माकुमारी अर्यालले कागज मिलाउन जान्नेलाई नभएर सही रूपमा जनताको पक्षमा काम गर्नेलाई विकास योजनाका काम दिन स्थानीय जनप्रतिनिधिहरूलाई आग्रह गरेकी छिन्।

राष्ट्रिय सहकारी महासंघले सहकारी मन्त्रालयको सहयोगमा भक्तपुरको बोडेमा आयोजना गरेको 'प्रदेश तथा स्थानीय तहको समृद्धिका लागि सहकारी' विषयक दुईदिने प्रादेशिक गोष्ठीलाई आइतबार सम्बोधन गर्दै मन्त्री अर्यालले त्यस्तो बताएकी हुन्।

खासगरी योगना बाँडफाँडका क्रममा हुने गरेका बेथितिलाई इंगित गर्दै कागज मिलाएर व्यक्तिगत स्वार्थमा प्रयोग गर्नेलाई नभएर सही रूपमा जनताको काममा योजना लगाउनेलाई काम दिन मन्त्री अर्यालले आग्रह गरिन्। 'योजना माग्न आउदाखेरि कागज बनाएर ल्याउनेलाई मात्र योजना नदिनुस्।

काम गर्नेले पाउँदैन। कागज बनाउनेले पाउँछ। कागज बनाउनेले पाउछ नीजि स्वार्थमा प्रयोग गर्छ। सबै जनतालाई समेटेर काम गर्नेले योजना पाउदै पाउदैन। किनकी उसको नेतासँग पहुँचै छैन। उ दिनदिनै आउन पनि भ्याउदैन। अनि भेट्न पनि सक्दैन', मन्त्री अर्यालले भनिन।

त्यसकारण अब योजना बाँडफाँड गर्दा यस्ता कुरालाई पनि ध्यान दिन मन्त्री अर्यालले आग्रह गरेकी थिइन। उनी भन्छिन्, 'अब हामीले कागज मिलाउनेलाई होइन काम गर्नेलाई भन्ने हिसाबले केही न केही हिजो भन्दा फरक हुनेगरी हामी अगाडि बढौं।'

जनताको अपेक्षा पनि यही भएको भन्दै उनले अहिले सरकार ठिक स्प्रिटमा अगाडि बढिरहेको दाबी गरिन। तर अहिलेपनि निराशा बढाउने कोशिस भइरहेको भइरहेको भन्दै उनले निराश हुनपर्ने कारण भने नभएको बताइन्।

नेपाली जनताले लामो संघर्षपश्चात् प्राप्त गरेको गणतन्त्रको रक्षा सबैले कुशलतापूर्वक काम गरेर जनताको मन जितेर मात्र गर्न सकिने भन्दै उनले राम्रोढंगले काम गर्न नसकेमा, जनतामा आशंका/अविश्वास खडा हुने र गणतन्त्र पनि जोगाउन कठिन हुने बताइन्।

हिजोको परम्परावादी शैलीले अब कुनैपनि काम चल्न नसक्ने भन्दै मन्त्री अर्यालले हिजोकै मान्यता, सोच, काम गर्ने शैलीबाट पार नलाग्ने बताइन्। अहिले पनि आक्रमण गर्ने, अनआस्था फैलाउने, अविश्वास खडा गर्ने, गणतन्त्रमाथी प्रश्न उठाउने ठाउँमा पुर्‍याउनेगरी चलखेल शुरू भइरहेको भन्दै उनले यी कुरालाई चिर्दै अगाडी बढ्नुपर्ने बताइन्।

यी कुरामा सबै जनप्रतिनिधिहरू सचेत हुँदै मसिनो ढंगले, सिर्जनशील ढंगले जनताको घरदैलोमा लाभान्वित हुने खालको काम गर्न मन्त्री अर्यालले स्थानीय तहका जनप्रतिनिधिहरूलाई आग्रहसमेत गरिन्।

एक वर्षको अवधीमा संघीयतालाई कुशलतापूर्वक कार्यान्वयन गर्न नेपाल सरकार सफल भएको भन्दै उनले अब विकासका निम्ति हिजोका नमिलेका पुराना कानुनहरूलाई संशोधन गर्दै जानुपर्ने बताइन्। अहिलेको कानुन भनेको आजको आवश्यकतालाई समाधान गर्ने खालको हुनुपर्ने उनको भनाइ थियो।

जनताले अनुभूत गर्ने सरकार भनेको स्थानीय तह भएको भन्दै सचेत भएर काम गर्न मन्त्री अर्यालले स्थानीय पालिकाहरूलाई आग्रह गरिन्। विकास र समृद्धिको अभियानमा सहकारीलाई सामेल गराएर आर्थिक समृद्धिको अभियानमा योगदान दिन उनको आग्रह गरिन्।

त्यस अवसरमा मन्त्री अर्यालले सहकारी महासंघको तर्फबाट इण्डियन फार्मर फर्टिलाइजर कोअपरेटिभ (इफ्को)का एमडी डा.यु.एस. अवस्थीलाई दोसल्ला र सम्मानपत्रले सम्मान गरेकी थिइन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.