|

सल्यान :  सल्यान जिल्ला अस्पतालमा दरबन्दी अनुसारको चिकित्सक नहुँदा उपचारमा समस्या भएको छ। बिरामीको चाप बढे पनि दरबन्दीअनुसार चिकित्सक नहुँदा समस्या भएको हो।

कार्यालय सहयोगीसहित ३२ जनाको दरबन्दी भएको अस्पतालमा अहिले १४ जना मात्रै कार्यरत रहेको कार्यालय प्रमुख डा. अर्जुन बुढा मगरले बताए। बिगतमा अस्पतालमा दरबन्दीअनुसार कर्मचारी भए पनि समायोजन भएर जाँदा समस्या भएको उनले बताए।

‘अस्पतालमा करिब-करिब दरबन्दीअनुसारका नै कर्मचारी थिए, तर समायोजन भएर अहिले सबै गैसकेका छन' उनले भने 'दरबन्दीअनुसार चारजना डाक्टर हुनुपर्ने अस्पतालमा १ जना मात्रै हुँदा समस्या भएको छ।’

उनले बिरामीको चाप बढेसँगै १५ शैयाको अस्पतालमा २२ शैया थपेर ३७ शैयाबाट सेवा प्रदान गर्दै आइरहेको डा. बुढाले बताए। ‘अस्पताल १५ शैयाको हो, तर बिरामीको चापले ३७ शैया बनाएर सञ्चालन गरेका छौँ’ उनले भने।

प्रमुख डा. बुढा मगरले स्वास्थ्य सेवा विभागको बेवास्ताका कारण समस्या भएको बताए। अहिले अप्रेशन, डेलिभरी, इमरजेन्सी, प्लाष्टरलगायतका काम एक्लै गर्दै आइरहेको बताए। कर्मचारी नहुदाँ समस्या भएको विषयमा स्वास्थ्य सेवा विभागमा बेलाबेलामा जानकारी गराउँदै आएको भए पनि समस्याको समाधान नभएको उनको भनाइ छ। विभागले समयमा नै अस्पातलमा दरबन्दीअनुसार कर्मचारी नपठाउने हो भने आगामी दिनमा झनै समस्या बढेर जाने उनले बताए।

अस्पतालमा छात्रवृत्ति करारमा एकजना र एनएसआईबाट एकजना डाक्टरले काम गरिरहेकाले केही राहत मिलेको उनको भनाई छ। सल्यान अस्पतालमा रुकुम, रोल्पाका जनता सेवा लिँदै आइरहेका छन्। अस्पतालमा दैनिक एक सय पचासदेखि दुई सयसम्म बिरामी आउने गरेको अस्पतालले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.