महानगर संरक्षणको आदेशको पर्खाइमा

|

काठमाडौंः  सरकारले राजधानी उपत्यकालाई हरियाली बनाउने भन्दै तामझामका साथ वृक्षारोपण गरिरहेको छ। गत जेठमा प्रधानमन्त्री र मन्त्रीहरुको उपस्थितिमा कोटेश्वर-कलंकी सडकको दायाँ-बायाँ वृक्षारोपण गरियो।

रोपिएका विरुवा जोगाएर हुर्काउने जिम्मेवारी ललितपुर महानगरपालिकाले पाएको छ। बालकुमारीदेखि पूर्वका विरुवा हुर्काउने जिम्मा काठमाडौं महानगरपालिकाको हो तर उसले आफूलाई जानकारी नभएको भन्दै पन्छिरहेको छ। 

बिनातयारी हचुवाका भरमा विरुवा रोपिएपछि झारले ढाकिसक्दा पनि गोडमेल गर्ने पहल कसैले नगरेको बताउँदै कोटेश्वरका स्थानीयबासी सूर्य घिमिरेले बताए। सडक र सहरलाई हरियाली बनाउने अभियानमा स्थानीयलाई बेवास्ता गरि सरकारले वृक्षरोपण गरेको उनले आरोप लगाए ।

माटोसमेत नसम्याई रोपिएकाका विरुवालाई अहिले झारले पुरिसकेको छ। 'बिरुवा ल्याएर गाड्दै हिँडे। वातावरण राम्रो बनाउन खोजेको जस्तो त देखियो,' उनले भने,'तर अहिले बिरुवाको न गोडमेल भएको छ, जङ्गल जस्तै झार हटाउने काम नै भएको छ।'

वृक्षारोपण गरेको चार महिना भन्दा बढी भइसकेको छ। महानगरबाट पानी हाल्न अहिलेसम्म एकपटक मात्रै आएको घिमिरेले बताए। ललितपुर महानगर वा काठमाडौं महानगर कसले पानी हालेको भन्‍ने आफूहरुले थाहा नपाएको उनले बताए। महानगरले स्थानीयसँग सल्लाह नगरी विरुवा रोपेकाले यसको स्याहार गर्ने कोही छैनन् ।

राष्ट्रिय वृक्षरोपण दिवसको अवसरमा गत जेठमा कलंकी-कोटेश्वर सडकका दुवै किनारमा २ हजार ७ सय बिरुवा रोपिएको थियो। त्यो बेला प्रधानमन्त्रीसहितले कल्की, असारे, राज वृक्ष, कपुर, नासपती, तेजपत्ता, जिन्को (२००० वर्ष पुरानो)  लगायताका बिरुवा रोपेका थिए। 

काठमाडौं महानगरपालिकाको ३२ नम्बर वडामा कोटेश्वरमा पर्छ। महानगरपालिकाले त्यहाँ रोपिएको बिरुवाको संरक्षण गर्ने दायित्व वातावरण व्यवस्था विभागको रहेको जनाएको छ ।

केन्द्र सरकारले वृक्षरोपण गरेपछि संरक्षणका लागि कुनै निर्देशन या पत्र नआएको काठमाडौं महानगरपालिकाका वातावरण व्यवस्था विभागका प्रमुख हरिकृष्ण श्रेष्ठले बताए। 'सरकारले अहिलेसमम्म केही भनेको छैन। त्यसैले यसको जिम्मा लिन मिल्दैन', उनले भने, 'कोटेश्वर-कलंकी सडकखण्डको धैरै क्षेत्र ललितपुर महानगरपालिकामा पर्छ।'

बालकुमारी पुल पारिदेखि ललितपुर महानगरपालिकाको क्षेत्र पर्ने भएकोले ललितपुर महानगरपालिकाले बिरुवाको संरक्षण गरिरहेको ललितपुर महानगरपालिकाका उपप्रमुख गीत सत्यालले बताइन्।

४ नम्बर वडा कार्यालयले बिरुवाको संरक्षण जिम्मा लिएको उनले बताइन्। झारले पुरिएका विरुवा महानगरका सफाइ कर्मचारीले सफाइ गर्ने उनले जानकारी दिइन्।

महानगरपालिकाकाले पानी नहालेको पनि उनले स्वीकारिन्। वातावरण व्यवस्था विभागले विरुवा स्याहारेर हुर्काउने जिम्मा दिएमा ललितपुर महानगर त्यसका लागि तयार रहेको उनले जानकारी दिइन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.