'जनतासामू अब कुरा बिग्रन दिनु हुँदैन'

|

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कम्युनिष्ट कांग्रेस जस्तै बन्ने खतरा रहेको बताएका छन्। 

नेपाली महिला आन्दोलनकी शिखर व्यक्तित्व सहाना प्रधानको पाँचौं स्मृति दिवसको अवसर पारेर  पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले यस्तो बताएका हुन्। 

अध्यक्ष दाहालले वैचारिक स्पष्टता तथा त्यस अनुसारको व्यवहार, आचरण, क्रियाकलाप र जीवनचर्या नभए पार्टीको हालत पनि पूर्वी युरोपका कम्युनिष्ट पार्टीहरुको जस्तै हुने पनि स्पष्ट पारे।

‘हामी विस्तारै विस्तारै कांग्रेस जस्तै, या हिजोको निरंकुशतवादी जस्तै पदका निम्ति प्रतिष्ठाका निम्ति, पञ्चायतमा जस्तै गुट उपगुटमा विभाजित त भएका छैनौँ’, उनले भने, ‘कम्युनिष्ट भन्नेबित्तिकै लामो समयदेखि जनताका लािग श्रमजीवीका लागि लडेकाले भोट दिए । तर व्यवहार हेर्दा त अरु जस्तै देखिन थालेको छ।’

नेपालका कम्युनिष्टहरुले आफूलाई पुरै परिवर्तन नगरेर सोभियत संघ र पूर्वीयुरोपको जस्तै हालत हुने उनले बताए। ‘भन्न त हामीले समाजवादको यात्रा सुरु गर्ने भनेका छौँ। तर के हामी समाजवादको यात्राको निम्ति एउटा योद्धा जस्तै छौँ त?’, उनले भने, ‘सोभियत संघ र पूर्वी युरोपमा कम्युनिष्ट सत्तामा पुगेपछि जनआक्रोशमा परेर सिद्धिएका थिए। हामी त्यस्तो हुने कि नहुने?’ 

मुलुकलाई समाजवादको बाटोमा अघि बढाउन एउटा फौजी आन्दोलनको चाहिएको पनि बताए। ‘हामीलाई चाहिएको छ, एउटा आन्दोलन, हामीलाई चाहिएको छ, अर्को एउटा अभियान, अर्को एउटा मिसन । त्यो मिसन पूरा गर्नका लागि सम्पूर्ण तागत लगाएको संकल्पगत एकता पैदा गर्ने विशाल फौज’ अध्यक्ष दाहालले भने।

देशका लागि कम्युनिष्टले त्याग, तपस्या र क्रान्ति पनि गरेको बताउँदै उनले तर अहिले आएर आचारण, व्यवहार त्यस्तै रहेकोमा चिन्ता गरे। ‘अब हामीलाई चाहिएको छ अर्को एउटा आन्दोलन, अर्को एउटा अभियान र अर्को एउटा मिसन जसका लागि हामीलाई योद्धा चाहिएको छ’, उनले भने, ‘नत्र हाम्रो गति पूर्वीयुरोपका साथीहरुको जस्तै हुन सक्छ।’

भिडियो

 

कम्युनिष्ट आन्दोलन र देशको भविष्य, राष्ट्रिय एकता र स्वाधीनता निम्ति पार्टी एकता गरेको भन्दै उनले पदको लोभ र गुट–उपगुटको राजनीतिमा नलाग्न पार्टी पंक्तिलाई आग्रह गरे।

प्रचण्डले जस्तोसुकै चुनौती आएपनि एकताको मर्म अनुसार अगाडि बढ्न सबैले ध्यान दिनुपर्ने बताए। अहिलेका गतिविधिले कम्युनिष्टको आर्दश, विचार र निष्ठाबाट बिस्तारै स्खलित हुन खोजेको त होइन? भन्ने आभास भइरहेको दाहालले बताए।

अध्यक्ष दाहालले अब आफ्ना लागि, व्यक्तिका लागि प्राप्त कुरा त्याग्ने बेला आएको बताए। ‘आफ्ना लागि, व्यक्तिका लागि प्राप्त कुरा त्यागौँ’, उनले भने, ‘कम्युनिष्ट क्रान्तिका लागि पार्टी एकता गरिएको हो। अब कुरा बिग्रन दिनु हुँदैन।’

अध्यक्ष दाहालले कम्युनिष्टहरु बेला बेलामा बिग्रने गरेको पनि उल्लेख गरे। ‘चिजहरु बेला बेलामा बिग्रिन्छ’, उनले भने, ‘हामी आदर्शतिर छौँ कि आदर्शबाट च्यूत भयौँ?’

दाहालले पदका लागि तँछाडमछाड र गुट–उपगुटको राजनीति गर्न पार्टी एकता नगरेको बताए। उनले नाम कम्युनष्टि भए पनि कम्युनिष्ट जस्तो भए नभएको नेता कार्यकर्ता सबैले आफुलाई प्रश्न गर्नुपर्नेमा जोड दिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.