|

उदयपुर : त्रियुगा नगरपालिका-२ जोगिदहकी ७६ वर्षे हिरामाय खड्काले घरछेउमै सगरमाथा  विमानस्थल निर्माण क्षेत्र लेखिएको बोर्ड देखाउँदै भनिन्, ‘बोर्ड गाडेको पाँच वर्ष हुन लाग्यो, ०७४ सालको चुनाव हुँदा पुरानो हटाएर नयाँ बोर्ड राखिएको थियो। विमानस्थल कहिल्यै पनि बनेन।’

कपाल फुल्दै गरेकी वृद्ध खड्काले ४० वर्ष अघिदेखि उदयपुरमा विमान स्थल बन्छ भन्ने सुनेको पनि बताइन्। ‘गाईघाटमा हवाईजहाज आउँछ भनेर सुनेको थिएँ,’ उनले थाहाखबरको कुराकानीमा भनिन्, ‘अहिले हाम्रै घर छेउमा बनाउने भनेर बोर्ड राखेका छन, कहिले बन्छ, थाहा छैन।’

यसैगरी त्रियुगा नगरपालिका २ का अर्का स्थानीय भक्तराज पौडेलले खिस्सी गर्दै भने, ‘सगरमाथा विमानस्थल बोर्डमै मात्र बनेको छ, जहाज आउँदैन।’ उदयपुरमा विमानस्थल बनाउने चर्चा ४६ वर्ष अघिबाट सुरु भएको थियो। झण्डै पाँच दशकसम्म पनि विमान स्थल बन्न सकेको छैन।

चुनावको बेला धेरै चर्चा हुने विमानस्थलले उदयपुरले जनतलाई आकाशमा उडाउने सपना सपनामै सीमित भएको छ।

चुनावको बेलामा विमानस्थलको चर्चा

केही अघि त्यही सगरमाथा विमान स्थल निर्माण क्षेत्रको बोर्डकै छेउमै भेटिएका स्थानीय राम चौधरीले भने, ‘चुनावमा भोट माग्ने वेलामा मात्र सगरमाथा विमानस्थल बन्छ भन्छन्।’ सगरमाथा विमानस्थल एउटा भोट माग्ने माध्यम बन्दै आएको छ। दल र विमानस्थल समितिका पदाधिकारीको इच्छाशक्तिमा कमजोरी, राजनीतिक दल र नेताको पहुँच नपुग्नुले विमानस्थल निर्माण कार्य अलपत्र बनेको स्थानीयको आरोप छ। ‘यहाँ विमान स्थल बनाउने कुरा चुनावको वेला मात्र चर्चा हुन्छ,’ गाईघाटका शिव दाहाल ‘चुनाव सकिएलगत्तै सकिने गरेको छ।’

निर्वाचनताका प्रमुख राजनीतिक दलका मुख्य एजेण्डा नै विमानस्थल बनाउने हुन्छ। निर्वाचित भएर जनप्रतिनिधि बनेपछि ती सवै कुरा ०६४ सालभन्दा अगाडि भएका निर्वाचन र त्यसभन्दा पछि भएका निर्वाचनमा निर्वाचिन बनेका जनप्रतिनिधिले बिर्सने गरेको सर्वसाधारणको गुनासो छ।

शिलन्यास गर्दै छोड्दै

०३१ सालदेखि निर्माण गर्ने भनिएको विमानस्थल ०७६ वित्नलाग्दा पनि नबनेपछि उदयपुरवासीलाई विमानस्थलको कुरा सुन्न पनि मन लाग्दैन। त्रियुगा नगरपालिकाको २ नम्वर वडामा पर्ने जोगिदहमा प्रस्तावित सगरमाथा आन्तरिक विमान स्थलको काममा प्रआरम्भिक प्राविधिक सर्वे र वातावरणीय प्रभाव मूल्यांकन भइसकेको छ। प्राविधिक सर्वे र वातावरणीय प्रभाव मुल्यांकन हुनुभन्दा अगाडि  तीन ठाउँमा तीन पटक सारेर शिलन्यास गर्दै तेस्रो पटक हालको त्रियुगा नगरपालिका २ जोगिदहमा पुर्‍याइएको थियो।

पहिलोपटक प्रस्ताव गरिएको साविक त्रियुगा नगरपालिका वडानं ३ वा हाल थारुह रंगशाला रहेको क्षेत्रमा शिलन्यास गरिएको थियो। त्यहाँको १४ विगाहा १६ कठ्ठा १६ धुर जग्गा अतिक्रमणमा पर्‍यो।

त्यसपछि प्राविधिक हिसावले विमानस्थल बन्न नसक्ने प्राविधिक समितिले प्रतिवेदन पेस गर्‍यो। दोस्रो पटक साविकको त्रियुगा नगरपालिका १० उत्तराईटोलमा रहेको ४३ विगाहा जग्गा खरीद बनउने भनेर शिलन्यास गरियो। त्यहाँ पनि विवाद भएपछि हाल त्रियुगा नगरपालिका २ मा रहेको जेगिदहमा तेस्रो पटक शिलन्यास गरिएको थियो।

सोही स्थानमा पर्ने कंग सामुदायिक वन र मोतियाही सामुदायिक वन क्षेत्रमा विमानस्थल निर्माणका लागि प्रस्ताव अघि सारिएको थियो। दुवै सावउसले संयुक्त रुपमा एक सय पाँच बिगाहा खालि जमिन विमानस्थल निर्माण गर्ने प्रयोजनका लागि नागरिक उड्डयन प्राधिकरणलाई निशुल्क उपलब्ध गराएका थिए।

डिजान कागजमै सीमि

जोगिदहमा वर्षातको समयमा कुहिरो नलाग्ने तथा हिउँदको समयमा हुस्सु पनि नलाग्ने भएको भन्दै शिलन्यास गरिएको थियो। डिजाईनमा अहिले १ हजार ७ सय ५० मिटर लम्बाइ, ३० मिटर चौडाई रहेको धावनमार्ग, ७२ मिटर लम्बाई १८ मिटर चौडाई रहेको ट्याक्सी वे ४ सय ४३ मिटर लम्बाई र १८ मिटर चौडाई रहेको टयक्सी वे.वि. रहने गरी डिजाईनको प्रस्ताव गरिएको सगरमाथा विमान स्थाल समितिका अध्यक्ष वीरेन्द्र बस्नेत बताउँछन्।

उनका अनुसार यसैगरी एप्रोन २ सय मिटर लम्बाई, ६० मिटर चौडाई, टर्मिनल विल्डिङसहितको स्टिमेट तयार गरिएको विमानस्थलका परामर्शदाता प्याक्ट कन्सलट्यान्टका इन्जिनियर डा. महेन्द्रनाथ सुबेदीले तयारी गरिदिएको बस्नेतले दिएका थिए।

इआईए प्रतिवेदनमा समुन्द्री सतहदेखि १ सय २५ देखि १ सय ४८ मिटरको उचाइमा रहने र सबै मौसममा विमान सञ्चालन हुने अनुमान गरिएको उनको भनाइ छ। काम हुन नसकेपछि अहिले त्यो डिजाईन पनि कागजमै सिमति भएको छ।

वनकै कारण विवाद

विमानस्थल निर्माणको लागि गरिएको वातावरण प्रभाव मूल्यांकन अध्ययन प्रतिवेदन (इआइए) का अनुसार १ सय ५६ दशमलव ११ हेक्टर क्षेत्रफलमा पूरै जंगलभित्र पर्छ। कंग र मोथिया  सामुदायिक वन उपभोक्ता समितिको १ सय २४ हेक्टर र बाँकी ३२ हेक्टर राष्ट्रिय चुरे वन फडाँनी गर्नु प्रतिवेदनले उल्लेख छ।

जुन वनकै कारण पनि विवादमा उदयपुरबाट प्रतिनिधित्व गर्ने प्रदेशसभा १ का प्रदेशसभा सदस्या नारायाण बुर्जामगर बताउँछन्। ‘हामीले सकेसम्म वनभन्दा अन्यत्र स्थान खोजी गर्नु पर्छ पनि भनेका छौ,’ उनले भने, ‘वनभित्रै बनाउँदा दुई तीन वर्षभित्र सकिने गरी बजेट व्यवस्था गरेर काम थाल्नुपर्छ।’

दुई वन क्षेत्रका जम्मा ३५ हजार ५ सय १४ रुख काट्नु पर्ने छ। साविकको जोगिदहको ६ र ९ पर्ने मोथिया र कंग सामुदायिक वन फडानी गरेपछि मात्र विमानस्थल बन्ने इआईएको प्रतिवेदन छ।

जसमा मोथिया सावउसमा पर्ने १५ हजार ९७ र कंग सावउसमा २० हजार ४ सय ४८ रुखरु काटेपछि एयपोटलाई जग्गा प्राप्त हुनेछ। काट्नु पर्ने ९२ प्रतिशत साल जातका रुखहरू छन्। त्यहाँका रुख काटेपछि वन ऐन अनुसार वाताबरण प्रदुषण न्यूनीकरणको लागि ३० करोड ६५ लाख २ सय ५० लागतले ८ लाखभन्दा बढी विरुवा रोप्नुपर्ने पनि प्रतिवेदनले सुझाव दिएको छ।

सरोकारवाल भन्छन, जोगिदहमै बन्छ, कटानको काम सुरु हुन बाँकी’

सगरमाथा विमानस्थल समितिका अध्यक्ष वीरेन्द्र बस्नेतले प्राविधिक सर्वे र वातावरणीय प्रभाव मुल्यांकन भएकै स्थानमा बन्ने बताउँछन्। ‘अहिले संघीय वन मन्त्रालयले कटान हुने रुखको लगत संकलन गरी कटानको काम गर्नलाई प्रक्रिया थाल्न गाईघाट वन डिभिजन कार्यालयमा परिपत्र आइसकेको छ,’ उनले भने, ‘गाईघाट डिभिजन कार्यलय प्रदेश १ सरकार मातहत रहेकाले ढिलाई भएको छ, केही समयपछि सुरु हुन्छ।’

बस्नेतकै शब्दमा समितिका सचिव परमेश्वर घिमिरेले पनि प्रदेश सरकारले पनि विभिन्न समयमा अनुगमन र अध्यन गरेकाले त्यही स्थानमा विमान स्थल बन्ने बताए। उनले भने, ‘मलाई जहाँसम्म लाग्छ विमान स्थलको प्रआरम्भिक रुपमा हुनु पर्ने काम भइरहेकाले जोगिदहमै बन्छ।’

जिल्ला समन्वय समिति उदयपुरका प्रमुख खड्गबहादुर दर्नालले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट वन मन्त्रालयमा परिपत्र भई लगत संकलनको काममा पुगेको जानकारी दिए। ‘वन विभागबाट पनि गाईघाट डिभिजन वन कार्यालयलाई लगत संकलन गरी कटान प्रक्रिया अघि बढाउन पत्र आईसकेको छ,’ उनले भने, ‘त्यही बनाउने गरी काम गर्न समन्वय गर्ने छौ।’

पछि काम सुरु गर्ने मन्त्रीको आश्वासन 

प्रदेश १ का उद्योग, पर्यटन वन तथा वाताबरण मन्त्री जगदिशप्रसाद कुसियैतले आगामी तिहार तथा छठपछि काम सुरु हुने बताएका छन। सगरमाथा विमानस्थल निर्माण क्षेत्र आएर पटकपटक अनुगमन र अध्यन गरेका मन्त्री कुसियैतले प्रदेश सरकारले विराटनगर विमानस्थललाई अन्तराष्ट्रिय विमान स्थल बनाउने र सगरमाथा विमानस्थल पनि बनाउने गरी सिफारिस गरेको बताए। ‘हामीले प्रदेश १ मा पर्ने विराटनगर विमान स्थल र सगरमाथा विमानस्थलको एकसाथ काम अघि बढाउने छौ,’ उनले भने, ‘दुवै विमान स्थलको फाई संघीय सरकारको पुर्‍याएका छौँ।’

सगरमाथा विमानस्थल बनाउन प्रर्यटन वोर्डले बजेट समेत निकासा गरेको भन्दै मन्त्री कुसियैतले प्रदेश र संघीय सरकारले छटपछि एकसाथ विमान स्थलको काम अघि बढाउने बताए। ‘दशैँ तिहारपछि रोकिएका कामहरु अघि बढाउने छौँ,’ उनले भने, ‘उदयपुरमा सगरमाथा विमान स्थल बन्छ, प्रदेश र संघीय सरकारले एकसाथ बनाउने छ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.