'जसले खोज्यो त्यसलाई पार्टी सदस्य बनाउन हुन्‍न'

|

काठमाडौं : चिनियाँ कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा संगठन विभागका प्रतिनिधि सू नान पिङले कम्युनिस्ट पार्टी निर्माण र त्यसमार्फत राज्य चलाउन अनुशासित, संगठित र बलियो संगठन हुनुपर्ने बताएका छन्।

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी र चिनियाँ कम्युनिस्ट पार्टीको आयोजनामा काठमाडौंमा जारी अन्तरक्रिया कार्यक्रममा पिङले कम्युनिस्ट पार्टीमार्फत् सत्ता सञ्चालन गर्नका लागि व्यक्तिभन्दा संगठन ठूलो हुनुपर्ने बताए। उनले सबैले इमानदारीपूर्वक पार्टीको काम गर्नुपर्ने सन्देश नेकपाका नेता-कार्यकर्तालाई दिएका छन्।

काठमाडौंको याक एन्ड यती होटलमा मंगलबार पनि जारी दुई पार्टीको अन्तरक्रिया कार्यक्रममा चिनियाँ कम्युनिस्ट पार्टीको संगठन संरचनाबारे जानकारी गराउँदै पिङले भने, 'समृद्ध चीन निर्माणको आधार भनेको चिनियाँ कम्युनिस्ट पार्टीको संगठन हो। विचार, राजनीतिक दृष्टि, अनुशासन, आर्थिक पारदर्शिता, पार्टीप्रतिको लगनशीलताका दृष्टिले बलियो पार्टी संगठन रहेकोले चिनियाँ कम्युनिस्ट पार्टी सफल बन्दै गएको छ।' 

यस्तो गर्नका लागि व्यक्तिभन्दा माथि पार्टी रहनुपर्ने र चीनमा त्यो रहेको पिङको भनाइ थियो। 'कम्युनिस्ट पार्टीमा संगठन महत्त्वपूर्ण तत्व हो, नेता भनेका संगठनका सदस्य मात्रै हुन्', उनले भने।

नेता पिङले चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी) ले केन्द्रीय कमिटीले गरेका हरेक निर्णय व्यवहारमा उतार्ने गरेको बताए। 'हाम्रोमा केन्द्रीय कमिटीले गरेका हरेक निर्णय पार्टी सदस्यले व्यवहारमा उतार्नुपर्दछ',  उनले भने, 'पार्टीको आधार भनेको सेल कमिटी हो। त्यहाँ मार्फत केन्द्रीय कमिटीका हरेक निर्णय कार्यान्वयन गर्नुपर्दछ।' 

चीनको सर्वोच्च नेता बन्‍ने आधार सेल कमिटी र युवा संगठन भएको पिङको भनाइ थियो। ती कमिटीमा काम गरेर उत्कृष्ट भएपछि मात्रै माथिल्लो कमिटीको जिम्मेवारी दिइने गरिएको उनले बताए। कामका आधारमा मात्रै कुनै पनि व्यक्तिले पार्टीको सदस्यता पाउने र माथिल्लो कमिटीमा छनोट हुने उनले जानकारी दिए। 

पार्टीका हरेक कमिटी र संगठनमा अनुशासन कमिटी राखिने गरिएको पिङले बताए। 'अनुशासन कमिटीले संगठनका हरेक सदस्यलाई अभिमुखीकरण र निगरानी गर्छ', उनले अगाडि थपे, 'उक्त कमिटीले केन्द्रीय कमिटीले गरेका निर्णय कार्यान्वयन भएका छन् कि छैनन् भन्‍ने हेर्नुपर्छ र माथिल्लो कमिटीलाई प्रतिवेदन बुझाउनुपर्छ।'

सरकार र पार्टीका काम हेर्न 'पार्टी समूह'

चीनमा एउटा मात्रै पार्टी छ। जसले लामो समयदेखि शासन चलाइरहेको छ। तर, त्यहाँ प्रजातान्त्रिक पद्धति अन्य मुलुकको भन्दा राम्रो र वैज्ञानिक रहेको नेता पिङको भनाइमा झल्कन्थ्यो। 

पिङले पार्टी सदस्य बन्नेदेखि माथिल्लो निकायमा पुग्‍न र सरकारी निकायमा प्रतिनिधित्व गर्ने हरेक व्यक्ति निर्वाचन मार्फत जाने गरेको बताए। उनले वर्षेनि लाखौंले पार्टी सदस्य बन्नका लागि निवेदन दिने गरेको बताए। तर, वार्षिक २० लाखलाई मात्रै सदस्यता दिन सकिएको उनले बताए। ती सदस्यहरूमध्येबाट उत्कृष्टलाई जिम्मेवारी दिइँदै आएको उनको भनाइ थियो। 

पार्टी र सरकारका बीचमा समन्वय गर्नका लागि निर्वाचितमध्येबाटै पार्टी समूह गठन गरिने प्रणाली रहेको उनले बताए। त्यो समूहले पार्टीको केन्द्रीय कमिटीले गरेका निर्णय तल्ला कमिटीहरूले कार्यान्वयन गरे कि गरेनन् भन्‍नेबारे माथिल्लो कमिटीलाई जानकारी दिन्छन्। 

समूहले कसरी काम गर्ने र काममा आएका बाधा फुकाउनेबारे निर्णय गर्ने अधिकार पनि प्राप्त गरेको उनले जानकारी दिए। 'पार्टी समूह भनेको नेकपाको नगर, महानगर कमिटी जस्तो हो', उनले भने।  

सदस्यतामा कडाइ

चिनियाँ कम्युनिस्ट पार्टीले जो पायो त्यसलाई सदस्यता बाँड्ने नगरेको नेता पिङको भनाइ थियो। उनले पार्टीमा खाली रहेका र नयाँ सदस्य थप्दा पनि वर्षेनि २० लाख पार्टी सदस्य थप्न सकिएको बताए। 

पार्टी सदस्य बन्न सेल कमिटीमा लाखौंको निवेदन पर्ने गरेको तर तीमध्ये केहीलाई मात्रै पार्टीको सदस्य बनाउन सकिने गरिएको उनले बताए। 

पिङले हाल सिपिसीमा ९ करोड पार्टी सदस्य रहेको जानकारी दिए। सिपिसी सन् १९२१ मा स्थापना भएको पार्टी हो। यो विश्वको सबैभन्दा बढी संगठित सदस्य भएको पार्टी हो। 

पिङले कम्युनिस्ट पार्टीमा आस्था, विश्वास राख्दैमा र सदस्य बन्ने चाहना राख्दैमा सदस्य बनाउन नसकिने बताए। त्यसका लागि परीक्षामा पास हुनुपर्ने व्यवस्था सिपिसीले गरेको पनि जानकारी दिए।

'निवेदन दिनेहरूबीच पार्टीले लिएको परीक्षा उत्तीर्ण गरेपछि केही समय अनौपचारिक सदस्य बनाइन्छ। त्यसपछिको काम गराइ हेरेर औपचारिक सदस्य बनाइन्छ', उनले भने। 

सिपिसीको सेल कमिटीले सदस्यताको परीक्षा लिने गर्छ। सिपिसीको औपचारिक सदस्यता भनेको नेकपाको संगठित सदस्य र अनौपचारिक सदस्यता भनेको नेकपाको साधारण सदस्य जस्तै हो।

सिपिसीले पार्टीका हरेक सदस्यलाई जिम्मेवारी दिइने गरेको बताए। मुलुकको विकासका लागि, आर्थिक उन्‍नतिका लागि सबै सदस्यलाई जिम्मेवारी दिइने र प्राप्त जिम्मेवारीको उपलब्धिका आधारमा थप जिम्मेवारी दिइने गरेको पिङको भनाइ थियो। उनले पार्टी सदस्यहरूलाई व्यवस्थापन गर्नु र काम दिनुका साथै मूल्यांकन गर्नु गाह्रो काम भएको पनि बताए। 

नेता पिङले पार्टी संगठन चुस्त हुनुपर्ने विश्वास सिपिसीको रहेको बताए। बेइजिङ सहर कमिटीको उदाहरण दिँदै उनले काममा चुस्तता होस् भनेरै त्यहाँ १३ सदस्यीय सहर कमिटी रहेको बताए। सदस्यता लिएकाहरूले कुनै गल्ती गरेमा पार्टीबाट निष्काशन गर्दै कारबाही गरिने पनि पिङले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.