|

हेटौंडा : जिल्ला प्रहरी कार्यालय मकवानपुरले गोली हानी एकजना गाँजा तस्करलाई पक्राउ गरेको छ। पर्साको वीरगन्ज महानगरपालिका-२९ का ३५ वर्षीय अफ्रिका चौधरीलाई प्रहरीले पक्राउ गरेको हो। 

यसरी भयो घटना 

सोमबार राति साढे १ बजे इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी निरीक्षक अरुणकुमार कुशवाहको नेतृत्वको टोलीले सवारी साधन चेक जाँच गर्दै थियो ।  

पक्राउ परेका अभियुक्त चौधरीले चलाएको  हेटौंडाबाट पथलैयातर्फ जाँदै गरेको ना ६ ख १३१ नम्बरको ट्रक पनि सुरक्षा जाँच गर्ने क्रममा  फेला पर्‍यो ।

ट्रक चालक चौधरीले ट्रकमा ७८ किलो गाँजा ल्याएका थिए । यो कुरा थाहा पाए लगत्तै प्रहरी जवान सञ्जीवकुमार दासले सोधपुछ गर्न सुरु गर्दा चालक  चौधरी र ट्रकमा रहेका अर्का व्यक्तिले उनलाई समातेर ट्रक कुदाए । 

इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी निरीक्षक अरुणकुमार कुशवहाको नेतृत्वले तुरुन्तै भ्यानसहित ट्रकलाई पछ्याए। तर प्रहरीले भेट्न सकेन।

प्रहरी जवानलाई यसरी बचाइयो

साढे ३ किलोमिटर पर  चुरियामाई नजिकै ट्रक रोकेर प्रहरी जवान दासलाई लछारपछार गर्दै जंगलतर्फ लैजाँदै गर्दा प्रहरीको भ्यान आइपुग्यो । प्रहरी टोलीले पहिले दासलाई बचाउन खोजेको थियो।

तर चालक चौधरी र अर्का व्यक्ति शारीरिक रुपमा बलियो भएकाले दास फुत्किन नसकेको प्रहरी निरीक्षक कुशवाहले बताए। प्रहरी जवान दासलाई जंगलभित्र लान थालेपछि  प्रहरीले दुई राउण्ड गोली चलाएको कुशवाहले बताए । 

दोस्रो राउण्डको गोली चालक चौधरीलाई लागेपछि नियन्त्रणमा लिएको प्रहरीको भनाई छ । गोली चलेपछि चौधरीसँगै रहेका अर्का व्यक्ति  फरार छन्। उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । गोली लागेका चालक चौधरीको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ ।  

घटनामा अन्य एक प्रहरीसमेत घाइते भएका छन् ।  चौधरीले चलाएको ट्रकको क्याबिन र छतबाट प्रहरीले १४ पोकामा रहेको ७८ किलो ८ सय ग्राम लागुऔषध गाँजा बरामद गरेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.