|
फाइल फोटो

गत ८ सेप्टेम्बरमा इरानी महिला फुटबल फ्यान शहर खोदायारीले अदालतअगाडि नै आत्मदाह गरिन्। उनको त्यागको सर्वत्र चर्चा मात्र भएन इरानी फुटबलमा एउटा नयाँ क्रान्ति पनि आयो। त्यो हो रंगशालामा गएर महिलाले पुरुष फुटबल हेर्न पाउने अवसर।

४० वर्षअघि अर्थात् सन् १९७९ को इस्लामीक क्रान्तिपछि महिलालाई रंगशाला प्रवेशमा बन्देज लगाइएको थियो। बारम्बार रंगशाला प्रवेशको माग उठे पनि इरान सरकार कठोर बन्दै सुनवाई गरेको थिएन। तर, खोदायारीको आत्मदाहले इरान सरकार र इरानी फुटबल संघलाई झुकाएर छाड्यो।

जसको परिणामस्वरूप विश्व फुटबल महासंघ (फिफा) लाई आगामी महिना तेहरानमा हुने सन् २०२२ को कतार विश्वकप छनोट खेल इरानी महिलाले रंगशालामा नै गएर हेर्न पाउने आश्वासन दिएको छ।

खोदायारी गत मार्चमा भेष बदलेर इरानको राजधानी तेहरानको आजादी रंगशाला आफनो प्रिय क्लब एस्तेगलको खेल हेर्न पुगेकी थिइन्। ‘ब्लु गर्ल’ अर्थात ‘निलो केटी’ को उपनामले चिनिएकी उनी निलो नक्कली कपाल र ओभरकोट लगाएर पुरुषको भेषमा रंगशाला छिरेकी थिइन।

उनलाई पक्राउ गरेर तत्काल जमानतमा छाडिएको थियो। तर, पछि छ महिना कैद हुने भएपछि अदालत अगाडि नै उनले पेट्रोल छर्किएर आत्मदाह गरिन्। जसको विरोधमा क्लब, खेलाडी र समर्थक उत्रिएपछि इरान सरकारलाई रंगशाला प्रवेश फुकुवा गर्न दबाब परेको थियो।

फिफा अध्यक्ष जियानी इन्फान्टिनोले आइतबार भनेका छन् ‘हामीलाई महिला सहभागी हुनु आवश्यक छ । हामीले यसलाई दृढ र सशक्त ढंगले सम्मानका साथ जोडनुपर्छ।’ उनले अगाडि थपे ‘हामी आश्वासन दिइएको छ की इरानको आगामी अन्तर्राष्ट्रिय खेलमा महिलालाई रंगशाला प्रवेशलाई अनुमती दिइनेछ।’

इरानले आगामी अक्टोबर १० तारिकको दिन कम्वोडियासँग विश्वकप छनोटको पहिलो खेल त्यही रंगशालामा खेल्ने छ। जहाँ प्रवेश गरेको निहुँमा खोदायारीलाई पक्राउ गरी सजाय सुनाइएको थियो। सो खेलमा महिला रंगशालामा नै गएर हेर्न पाउनेमा फिफा विश्वस्त रहेको छ।

आगामी नोभेम्बरमा, इन्फान्टिनोको उपस्थिति रहने तेहरानमा एशियन च्याम्पियनसिप लिग फाइनलमा महिलाको एउटा समूहलाई खेल हेर्न अनुमति दिइएको अन्तर्राष्ट्रिय संचारमाध्यम डिडब्लुले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.