स्थानीयको गुनासोपछि मेयरले भत्काउन लगाए नाला

|

भद्रपुर : फिल्डमा इन्जिनियरसहित टोली नखटिँदा झापाको सदरमुकाम भद्रपुरमा निर्माणाधीन अवस्थामा रहेको योजनाका कामहरू गुणस्तरहीन भइरहेको पाइएको छ।

भद्रपुर नगर क्षेत्रमा अहिले दर्जनौँ योजनाका कामहरू निर्माणाधीन अवस्थामा रहेको छ। त्यसमध्ये अधिकांश निर्माण स्थलमा इन्जिनियरसहित टोली नखटिँदा ठेकेदारले कमसल सामग्री प्रयोग गरी गुणस्तरहीन काम गरिरहेको फेला परेको छ। भद्रपुर नगरपालिका कार्यालयले ठेक्का लगाएको सडक नाला निर्माण कार्य गुणस्तरहीन भइरहेको स्थानीयले नगरपालिकालाई जानकारी गराएलगतै नगर प्रमुख जीवनकुमार श्रेष्ठले सडक नाला भत्काउन लगाएका छन्।

भद्रपुर वडा नम्बर ५, ६ र ८ जोडिएको सङ्गम चोकदेखि जनता चोक सम्मको इँटा जडित सडक नालाको काम धमाधम भइरहेको छ। तर, सो सडक नाला तोकिएको मापदण्ड विपरीत ठेकेदारले गुणस्तरहीन बनाउन लागेपछि नगर प्रमुख श्रेष्ठ निर्माण स्थल पुगेरै आइतबार दिउँसो नाला भत्काउन लगाएका हुन्। निर्माण गरिएको सो नाला दुई घण्टा नबित्दै भत्काइयो। निर्माण कार्यमा ठेकेदारले कमसल सामग्री प्रयोग गरेर गुणस्तरहीन काम गरिरहेको स्थानीयको दाबी छ।

माटो मिसाएको बालुवा, त्यसमाथि बालुवा र सिमेन्टको मात्रा मापदण्ड अनुसार मिसावट नगरी नाला बनाउन थालेको प्रत्यक्षदर्शी वडा सदस्य प्रकाश शर्माले बताए। नाला बनाउने समयमा आएर हेर्दा बालुवा र सिमेन्टको मात्रा नमिलेपछि तत्काल कामदारलाई खबरदारी गरेर हिँडेको घटना सुनाउँदै उनले भने, ‘यस विषयमा अरूले पनि गुनासो गरेपछि नगर प्रमुख श्रेष्ठ आफै इन्जिनियर बोलाएर बनाइएको नाला पनि भत्काउन आदेश दिएको हो।’ 

सडक नाला पनि बाङ्गो बनाउँदै, त्यसमाथि गुणस्तरहीन काम भइरहेको स्थानीय बाबुलाल अग्रवालले बताए। ‘मापदण्ड बमोजिम ठेकेदारले काम नगरेको विषयमा जनगुनासो आइरहेको थियो’, स्थानीय दीपक अग्रवालले भने, ‘यस विषयमा जनप्रतिनिधि र स्थानीय दुवै पक्षले खबरदारी गर्न जरुरी छ।’

सो नालामा दुई नम्बरी इँटाको समेत प्रयोग भइरहेको स्थानीय बताउँछन्। मान्छे देख्छ भनेर ठेकेदारले एक नम्बरी र दुई नम्बरी दुवै इँटा मिसावट गरेर निर्माण कार्यमा प्रयोग गरिरहेको देखिन्छ। इँटाको विषयमा निर्माण कम्पनीका इन्जिनियर र नगरपालिका इन्जिनियरले समेत खासै चासो देखाएको छैन।

प्रदेश १ सरकारले गत आर्थिक वर्ष २०७५/७६ मा समपूरक कोषमार्फत सङ्गम चोकदेखि भद्रपुर बजार हुँदै मेची किनारसम्म सडक पुनः निर्माणका लागि सशर्त अनुदानबाट एक करोड बजेट विनियोजन गरेका थिए।

सोही बजेटमार्फत नगरपालिकाले न्यूनत अङ्क करिब एक करोड १८ लाख तोकेर सूचना प्रकाशन गरेका थिए। २०७६ असार १८ गते एबी निर्माण सेवा भद्रपुरका सञ्चालक सुरेश श्रेष्ठले सो ठेक्का भ्याटसहित ७७ लाख ६७ हजारमा लिएको नगरपालिका इन्जिनियर योगेन्द्र रंजितकारले जानकारी दिए।

करिब ५४० मिटर सडकको दुवैतर्फ इँटासहितको सडक नाला यही यही पुस १९ गतेसम्म ठेकेदारले बनाइ सक्नु पर्ने सम्झौता भएको इन्जिनियर रंजितकारको भनाइ छ। सडक नालामा माटो मिसाएको बालुवा प्रयोग गरेको पाइएकोले मेयर साबले नाला भत्काउन लगाएको उनले बताए। ‘ठेकेदारले कामदारको भरमा निर्माण कार्यलाई जथाभाबी छाडेकाले नाला गुणस्तरहीन बनेको हो’, उनले भने।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.