अर्बौं चोर्ने पिटरको योजना प्रहरीको सक्रियताले टर्‍यो

|

काठमाडौं : प्रविधिको दुरुपयोग गरेर नेपाली बैंकमा आक्रमण गर्ने गर्ने घटना नौलो रहेन। केही दिनअघि मात्रै चिनियाँ नागरिकले नेपालका विभिन्‍न बैंकको प्रणालीमै आक्रमण गरेर करोडौं रूपैँया निकालेको घटना सेलाउन नपाउँदै भारतीय गिरोहले कृषि विकास बैंकमा आक्रमण गरेको छ। 

कर्मचारीलाई समेत हातमा लिएर ह्याकरले आक्रमण गरेर चार करोड भन्दा धेरै रुपैयाँ निकाल्न सफल भएका छन्। कृषि विकास बैंकका विभिन्‍न शाखाबाट अनाधिकृत रकम निकालिएपछि प्रहरीले अनुसन्धान थालेको थियो।

अनाधिकृत रकम निकालेको सूचना पाएपछि समयमै अनुसन्धान गरेकाले बैंकलाई ठूलो नोक्सानी हुन पाएन। प्रहरीको प्रराम्भिक अनुसन्धानबाट बेलैमा अप्रेशन नचलाइएको भए नेपाली बैंकबाट कम्तीमा ५ अर्ब रुपैयाँ विदेश पुग्ने सम्भावना रहेको महानगरीय अपराध महाशाखा प्रमुख सहकुल थापाले बताए।

प्रहरी अनुसन्धान

यही असोज ५ गते आइतबारको दिन नयाँ बानेश्वरस्थित पानस रेमिटबाट एउटै आइडी प्रयोग गरेर छ जनाले पटक ६०/६० हजार रुपैयाँका दरले  झिकेपछि त्यहाँका कर्मचारीले प्रहरीलाई खबर गरे। रकम झिकेका तीन व्यक्तिलाई नियन्त्रणमा लिएर प्रहरीले तत्कालै सोधपुछ थाल्यो।

सोधपुछका क्रममा उनीहरुले नुवाकोट बस्‍ने लवाङ तामाङलाई दिनका लागि उक्त रकम निकालेको बयान दिए। प्रहरीले उक्त सूचना पाएलगत्तै त्यही दिन राति १० बजे लवाङलाई पक्राउ गर्‍यो।

प्रहरीले सोधपुछ गर्दा लवाङको साथबाट ३१ लाख रूपैयाँ भेटियो। जुन रकम कृषि विकास बैंकबाट निकालिएको थियो। प्रहरीले कडाइका साथ सोधपुछ गर्दा उक्त रकम कृषि विकास बैंकबाट निकालेको उनले स्वीकारे।

प्रहरीले बैंकबाट निकालिएको पैसाबारे सोध्दा यो कामका मुख्य योजनाकार भारतको मुम्बईमा रहेको बयान दिए। उनले त्यो पैसा मुम्बईमै बस्ने व्यक्तिले हालिदिएको भनेर ढाँटे। जसमा १० प्रतिशत आफूले राखेर बाँकी पठाइदिनु भनेको बयान उनले दिए। त्यसपछि प्रहरीले बैंकमै ह्‍याक गरेर रकम निकालिएको थाहा पायो।

बैंकलाई प्रहरीले दियो खबर

ह्‍याक र सहयोगीलाई प्रहरीले पक्राउ गरेपछि तत्काल प्रहरीले कृषि विकास बैंकसँगलाई खबर गर्‍यो। बैंकले आफ्नो सिस्टम ह्याक भएर पैसा झिकिएको जानकारी प्ररहीलाई दिइसक्दा लगभग पाँच करोड रुपैयाँ व्यक्तिको नाममा ट्रान्सफर भइसकेको थियो। 

बैंकले एक ठाउँको युजर आइडी प्रयोग गरी एक शाखाको पैसा अर्को शाखामा ट्रान्सफर भएको जानकारी दियो। उनीहरूको खाता रोक्का गर्न बैंकलाई आग्रह नगरी उनीहरूको उपस्थिति भएको बेला खबर गर्ने शर्तमा प्रहरी तैनाथ गरियो। 

लहान शाखाबाट प्रहरीले उनीहरूलाई पक्राउ गर्‍यो। रकम अन्य बैंकमा पनि गएको देखिन्छ। कैलास विकास बैंकमा पनि रकम ट्रान्सफर भएको छ। महाशाखा प्रमुख थापाले कैलास विकास बैंकका कर्मचारीमाथि पनि अनुसन्धान हुने बताए।

मुम्बईमा बसेर नेपालमा ह्याक

ह्याकिङ गरेको रकम मुम्बईमा बस्ने विदेशी नागरिक काले भन्‍ने पिटरलाई पठाउन खोजिएको प्रहरीले अनुसन्धानबाट पत्ता लगाएको एसएसपी थापाले बताए।

पिटरले लामो समयदेखि मुम्बई बसी नेपाली युवा युवतीहरुसँग सम्पर्क गरी उहीँ बोलाई बैठक गर्ने गरेका थिए। यो कामको कमिशनको डिल पनि उहीँ हुने गरेको थियो। विभिन्‍न बैंक तथा वित्तीय संस्थाको ठूलो धनराशी निकाल्ने योजना पनि उतै बन्थ्यो। 

ह्‍याकिङमा सहयोग गर्ने विभिन्‍न नेपाली व्यक्तिहरूलाई उनले १५ देखि ३५ प्रतिशत कमिशन दिन्थे।  बाँकी रकम हुण्डीमार्फत भारत पठाउन आदेश दिन्थे।

अनुसन्धानका क्रममा पिटरले नेपालका एजेण्टहरूलाई नबिल बैंक, कृषि विकास बैंक लगायतमा चल्ती खाता खोल्न लगाई ह्याक गर्दै आएको देखिएको छ। पिटरले ५ अर्ब भन्दा बढी रकम ह्याक गर्ने योजनासहित नेपालका एजेण्टहरूसँग संयुक्त योजना बनाएको पनि प्रहरीले जनाएको छ।

रकमलाई हुण्डीमार्फत पठाइएकोले हुण्डीकर्तालाई पनि प्रहरीले पक्राउ गरेको छ।  यति मात्रै होइन, ह्याकिङमा सहयोग गर्ने  १२ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ।

पक्राउ पर्नेमा लवाङ तामाङ, लक्ष्मी लामा तामाङ, सञ्जय घले, निर्मला तामाङ, निमा तामाङ, पुष्पराज खड्का, विद्यासागर लामिछाने, श्रवण कुमार श्रेष्ठ, सुनिता श्रेष्ठ, शुबन्कर पन्जा, विजय साह र चन्द्र बहादुर बुढा रहेका छन्। 

जसमध्ये चारजनालाई प्रहरीले सार्वपजनिक गरेको छ। उनीहरूबाट बैंकमा रहेको रकम मध्ये ६० लाख प्रहरीले बरामद गरेको छ।  उनीहरूले उक्त रकम मुम्बईमा बस्ने पिटरलाई पठाउन खोजेको प्रहरीले अनुसन्धान पत्ता लगाएको थापाले बताए।

'क' वर्गका बैंक निशानामा

यसअघि पनि चिनियाँ र फ्रेन्च ह्याकरको समूहले झण्डै २ करोड रुपैयाँ विभिन्‍न बैंकबाट निकाल्दै गर्दा महानगरीय प्रहरी परिसरले पक्राउ गरेको थियो। जसमध्ये ५ चिनियाँ र एक फ्रेन्च नागरिकसहित ३ नेपाली पक्राउ परेका थिए। २ चिनियाँ अझै फरार छन्।

ह्याकहरूले नबिल बैंक, हिकालयन बैंक, प्रभु बैंक लगायतका बैंकहरूलाई निशाना बनाएका थिए। नेपाली बैंकहरू सुरक्षित छैनन् भन्‍ने कुरा पटक पटकका घटनाबाट प्रमाणित भइसकेको छ। 

ह्‍याकरहरूको निशानामा विशेष गरेर 'क' वर्गका बैंकहरू रहेका छन्। यी बैंकहरूमा अन्य वर्गका बैंकहरूमा भन्दा धेरै पैसा हुने भएकोले ह्याकरको निशानामा पर्ने देखिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.